काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाउन सरकारलाई सुझाव दिएका छन् । अमेरिकाले एसपीपी नेपालले नलिन पनि सक्छ भनिसकेको भन्दै उनले परराष्ट्रमन्त्रीले पत्र पठाएर ‘नलिने’ भन्नुपर्ने बताएका हुन् ।

शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एसपीपी अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटिजी आईपीएसकै अंक भएको भन्दै उनले त्यसमा सहभागी हुन नहुने धारणा राखे । नेता रावलले भने, ‘एसपीपी आईपीएसको अंग भएको अमेरिकन वेबसाइटमा छ । तर परराष्ट्रमन्त्रीले होइन भन्नुभयो ।’ बैठकमै रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफूले त्यस्तो नभनेको भन्दै प्रतिवाद गरेका थिए ।














