Logo
Logo

क्यान्सरपीडित डगौरा भन्छन्, ‘यस्तो दुःख कसैले भोग्नु नपरोस्’


2k
Shares

कञ्चनपुर । बेदकोट नगरपालिका–६ ओझाखालीका २९ वर्षीय अजय डगौराको जिब्रोमा क्यान्सर भएपछि उपचारका लागि आर्थिक अभावले छटपटाएक छन् । ससुरालीमा बस्दै आउनुभएका उहाँले उपचार खर्च जुटाउन नसक्दा कष्ट सहेर बस्नुपरेको छ ।

सांकेतिक तस्विर

“जग्गा घर केही छैन मजदुरी गरेर जीविका चलाउँदै आएको छु”, डगौराले भने, “जीब्रो दुख्न थालेपछि एक वर्षअघि चिकित्सकलाई देखाउँदा क्यान्सर भएकाले उपचारका लागि चितवनस्थित अस्पतालमा देखाउन जान भने पनि आर्थिक अभावले पीडा सहेर बस्दै आएको छु ।”

उपचार खर्चका लागि जोहो गरिदिने कोही नहँुदा उहाँ मर्नु र बाँच्नुको दोसाँधमा पुगेका छन् । “पहिला जिब्रो दुख्ने मात्रै गर्दथ्यो”, डगौराले भने, “अहिले खाना मुखभित्र राख्न नै गाह्रो हुन थालेको छ । पुरै मुख दुख्छ खाना खानसक्ने अवस्था पनि छैन । विस्तारै बोले पनि मुख दुख्ने भएकाले धेरै बोल्नसमेत सक्दिन । आफ्नो कोही छैन । उपचार नपाएरै मर्नुपर्ने अवस्था आएको छ । उपचारका लागि सहयोग गरिदिनका लागि उनले सबैसँग आग्रह गरे । भारतमा छँदा गुटखाको अम्मली भएको र त्यसकै कारण जिब्रोमा क्यान्सर भएको डगौराले बताए ।

“भारतमा रोजगारीका लागि आमाबुवासँगै जाँदा उनीहरुले अलपत्र छाडेर कहाँ गए पत्तो नै लागेन । केही वर्ष भारतको मुम्बाइमा छ वर्षको उमेरदेखि नै होटेलमा भाँडा माँझ्ने कार्य गरेँ, ’’उनले भने, “त्यही होटेलमा काम गर्ने नेपालीसँग चिनजान गरी उनीहरुसँगै नेपाल फर्किए । त्यतिबेला मेरो उमेर १९ वर्ष जतिको थियो । सानैमा भारत गएकाले यहाँ फर्केपछि परिवार भेटाउन सकिन । थातथलो कहाँ थियो । ठम्याउन पनि सकिन ।”

“यहाँ फर्केपछि मजदुरी गरेर जीविका चलाउँदै आएकाले परिवार पाल्नसक्ने आँट भएको ठिटो भनेर धेरैले तारिफ गर्थे । विवाह गरेँ । केही वर्षमै दुई छोरी एक छोराको बुवा पनि बने । जिब्रोमा क्यान्सर भएको कुरा श्रीमतीलाई सुनाए”, डगौराले भने, “घरको एक्लो कमाउने व्यक्तिलाई नै क्यान्सर भएपछि हाम्रो पालनपोषण कसले गर्ला भन्ने सोचेर होला श्रीमतीले एक वर्षको छोरासहित आत्महत्या गरिन् । माइली छोरीलाई पनि झुण्याएकी थिइन् । तर खुट्टाले भुइँमा छुनपुग्दा उनी जोगिइन यो गत चैत १७ गतेको घटना हो ।”

आमाबुवाले पहिला नै छाडिसकेका थिए । एक्लो सहाराका रुपमा रहेकी श्रीमतीले पनि यो संसार छाडेर गएपछि तनावपूर्ण जीन्दगी जिउनु परेको उहाँले बताउनुभयो । डगौराका दुई छोरी माइतीमा छन् । ससुरालीकोसमेत आर्थिक अवस्था निकै दयनीय भएकाले उपचार खर्च माग्नसक्ने अवस्था नरहेको उहाँको दुखेसो थियो ।

प्रतिक्रिया दिनुहोस्