Logo
Logo

उज्यालो खोज्दाखोज्दै अँध्यारोले बेरियो



हिंड्दा हिड्दैको बाटो हराएपछि रातमात्र होइन दिन पनि अँध्यारो हुँदो रहेछ । जीवनमा संघर्ष पनि कति थरिका ! उमेर अझै काँचो भए पनि संघर्ष र जिम्मेवारीले भने छिटै पाक्न थालेँ । आकारै नभएको बाटो पक्डेर संकल्प गरेकी थिएँ– जस्तै दुःख आइपरे पनि देश र जनताका निम्ति उज्यालो दिन ल्याउन लागिपर्छु भनेर । ज्यानभन्दा सपनालाई ठूलो ठानेकी थिएँ ।

आकारै नभएको त्यो अतिगोप्य संगठनसँग पनि जब सम्पर्क नै छुट्यो, हिंड्ने बाटो नै हराएझैं भयो । आफुसँग न कुनै स्पष्ट नक्शा थियो, न अनुभव, न त यथेष्ठ सैद्धान्तिक ज्ञान नै । केही नभएपछि महासागरमा कम्पासबिना यात्रा गरेझैँ भयो । चारैतिर अन्धकार छायो । आफूजस्तै साथीहरु पनि टुहुरा भए झैं लाग्नथाल्यो ।

तथापि, साथीहरूलाई साँचो कुरा भन्न सकेकै थिइन । आफैँले बाटो नदेखेपछि साथीहरूलाई डो¥याउनै पनि कसरी सक्नु र ? देशको निम्ति जे पनि गर्ने भन्ने असल साथीहरू पनि निष्क्रिय झैँ भए । अन्धकारले गाँजेपछि चिन्ता र भयले झनै ढाक्न थाल्यो । रात अनिदो हुन थाल्यो ।

अहिले यी हरफहरू लेखिरहेका बेला फर्केर हेर्दा लाग्दैछ– त्यतिबेला देखिनै राती सुत्न नसक्ने भैसकेकी रहेछु । त्यो बेलाको अँध्यारोको डर मेरो नशा नशामा पसे झैँ अहिलेसम्म पनि झस्किन्छु कहिलेकाहीँ ! भर्खरै मात्र एकजना मेधावी युवा डाक्टरसँग आफ्नो अनिद्राको समस्याबारे कुरा गर्दा मेरो भूमिगत राजनैतिक इतिहासबारे केही थाहा पाएका उनले सोधेका थिए– ‘तपाईलाई भूमिगत कालमा कुनैबाट ‘टर्चर’त भा’छैन ?…’ मैले भनेकी थिएँ – ‘छैन’। म जेल परेकी थिइनँ । प्रत्यक्ष यातना भोगेकी थिइन । त्यसैले ‘छैन’ भनेकी थिएँ ।

तर अहिले फर्केर हेर्दा एउटी महिला क्रान्तिकारीले मोल्नुपर्ने अनगिन्ती जोखिमहरू त अरु कसैले नदेख्ने मात्र हैन, आफैले समेत वास्ता गरिँदो रहेनछ । जब ती डाक्टरले सोधे, बल्ल बुझेँ आफ्नो अनिद्राको कारण ।

हुन त बच्चैदेखि दुःखैमा हुर्केकी हुँ, आमाको दुःख पनि बुझ्थेँ । मेरै निर्णयका कारण थप दुःख र मानसिक तनाव पनि थपियो आमामाथि । त्यो पनि कहाँ बिर्सिन सकिने कुरा हो र ? मेरी दिदी पद्मालाई पनि तनाव हुन्थ्यो – मेरै कारणले । टोल छिमेकका मान्छेले पनि मलाई शंकाको आँखाले हेर्ने भैसकेका थिए– बेला न कुबेला घर फर्कने हुँदा ।

झोछेंजस्तो रातभरी हिप्पीहरू हिंड्ने टोलमा छोरीहरूलाई दिउँसै हिंडेको पनि राम्रो मान्दैनथे । साँझ पर्दा नपर्दा देखि नै म घर नफर्केसम्म आमा झ्यालमा पर्खिनु हुन्थ्यो ! आमाको मन त अहिले पो बुझिरहेकी छु…!

संगठनमा हामी भन्दा माथि को ? के कस्ता खालका मान्छे थिए भन्ने बारे औपचारिक स्पष्टता र पारदर्शिता बिल्कुलै थिएन । तर, त्यही धमिलोमा पनि केहीलाई त चिन्दथेँ । कुनै पनि नेता कार्यकर्तालाई बिल्कुलै नचिनेको भन्न त मिल्दैन । कोहीकोहीसँग यदाकदा भेटघाट पनि हुन्थ्यो ।

तीमध्ये एक नेता त घर नजिकैका काका पर्ने शान्तदास मानन्धर नै हुनुहुन्थ्यो । उहाँकै घरमा श्यामप्रसाद शर्मा भूमिगत बस्नु हुन्थ्यो । त्यही समूहका बुद्धिजीविहरूबारे प्रत्यक्ष अप्रत्यक्ष भेट पनि थियो । हामीलाई पुलिसले पिछा गरेको थाहा भएपछि सबैजसो हामीसँग टाढिन थाले, झ्याल ढोका बन्द गरी दुलोमा लुक्न थाले । हामी ‘अछूत’ जस्ता भयौँ । अरु साथीहरूसंगको अलिअलि सम्पर्कहरू पनि काटिदिए छन् । अतिगोप्यताका नाममा त्यो कस्तो काँतरता होला जस्तो लाग्छ अचेल । त्यो ‘संगठन’को वास्तवमा अस्तित्व पनि थियो कि थिएन त्यतिबेला ? अहिले त छैन नै ।

मिति त बिर्सिसकेँ, एक दिन बिहान मर्निङ वाकबाट फर्किरहँदा न्यूरोडमा गोपाल शाक्यसंग जम्का भेट भयो । उनको साथमा एउटा गह्रौँ झोला भएको याद छ मलाई । त्योबेला उनले हात हल्लाउँदै भनेका थिए – ‘ल है म त जाँदैछु टाढा…’ कहाँ ? किन ? केही थाहा पनि थिएन । सम्भवतः त्यही राती नै हुनुपर्छ अष्टलक्ष्मी शाक्य र मेरो घरलाई पुलिसले घेरेको पनि । गोपाल शाक्य एक क्रान्तिकारी युवा र अष्टलक्ष्मीको भाइ भन्ने थाहा थियो मलाई । उनीसँग अष्टलक्ष्मीको कोठामा राजनैतिक कुराकानी पनि हुनेगथ्र्यो । हामी वैचारिक रूपमा आपसमा नजिक छौं भन्ने कुरा पनि थाहा थियो । उनको कार्यशैली भने अलि खुल्ला लाग्थ्यो । ‘अति गोप्य’बाट प्रभावित हामीलाई त्यो पच्दैनथ्यो ।

एकपल्ट हाम्रै गुरुहरूले नेपाल–चीन मैत्री समाजले चलाउँदै आएको पुस्तकालयका केही पदाधिकारीहरू विरुद्ध चिनियाँ भाषा पढ्ने विद्यार्थीलाई उचालेर झगडा लगाइदिए । हामी चिनियाँ भाषा पढ्ने विद्यार्थीहरूको बीचमा एउटा ‘अध्ययन समूह’ भनेर अर्धगोप्य संगठन पनि बनिसकेको थियो ।

बेला बेलामा गाउँमा डुल्ने, पिकनिक जाने, अन्तर्राष्ट्रिय नारी दिवस र मे दिवस आदि मनाउने सिलसिला शुरु भएको थियो । त्यतिमात्र नभएर ‘मितेरी’ नामको हस्तलिखित पत्रिकासमेत पनि निकालिसकेका थियौं । विद्यार्थीको समूह दह्रो नै थियो । त्यही झगडाका बेला थाहा पायौँ– हामीजस्ता अन्य युवाहरू पनि रहेछन् ।

त्यहाँ थप देखा परेका अन्य युवाहरूमध्ये गोपाल शाक्यसंगै माधव पौडेल र अरु पनि थिए । ती धेरै नै जोशिला थिए । तीनै युवाहरू रहेछन् पर्चाकाण्डमा पर्ने ।

केही समयपछि नै पर्चा छर्ने युवा क्रान्तिकारीहरू पक्राउ परेको समाचारले मन अझै भयाक्रान्त भयो । दश–दश वर्षको जेल सजाय ! अनि दशहजार जरिमाना पनि ! मनमा लाग्थ्यो– ‘ओहो हामी पनि झण्डै परेको ! परेको भए– हामीले पनि दश बर्ष जेल बस्नु पथ्र्यो । युवाकाल नै त्यही जेलमा बिताउनु पथ्र्यो… !’ धन्न जोगिएछ । पढ्ने र विवाह गर्ने उमेर थियो हाम्रो । आफै त जोगिन गाह्रो हुनेहरूले अन्य साथीहरूलाई समेत लिएर अन्धकारको बाटो छाम्दै हिंड्नु कम जोखिमको कुरा थिएन ।

अँध्यारोमै हो नर्कका खाल्डाहरूमा खस्न पुग्ने पनि । कहिले कहिले त नर्ककै बाटो पनि नजिक भएको जस्तो महसुस हुन्थ्यो मलाई । कति असल साथीलाई थेग्न पनि सकिएन, साथ दिन पनि सकिएन । कतिको त्यहीबेला बिहे पनि भयो । कतिले पुनः पढ्न पनि थाले ।

हामी मध्येकै सुमन विवाह गरेर घर व्यवहारमा लागे । सुशीलाले एकजना फ्रान्सेलीसँग विवाह गरिन् । अष्टलक्ष्मी र मेरोबीचमा भने भेटघाट, छलफल र सरसल्लाह जारी नै रह्यो । त्यस्तो सरसल्लाह र विचार विमर्शमा पूर्णशोभा चित्रकार, सुशीला, प्रणय मानन्धर, कमला श्रेष्ठ, शारदा कोइराला, मेरी आफ्नै दिदीलगायत अन्य साथीहरू पनि थिए । तर अष्टलक्ष्मी र मबाहेक अरु कसैलाई पनि संगठनसँगको सम्पर्क टुटेको थाहा थिएन ।

प्रतिक्रिया दिनुहोस्