Logo
Logo

चुरा र मेहन्दी : संस्कृति कि फेसन ?



भनिन्छ, साउनको गरिमा, हरियो महिना । यसैसँग जोडिएको अर्को उखान छ– साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ । यसरी साउनलाई हरियो रंगसँग जोडेर उखानहरु बनाइएको पाइन्छ ।

साउन प्रकृतिक रूपले पनि हरियै हुन्छ । वनजंगल, भिरपाखा, लेकवेसी, खेतबारी चारैतिर हरियाली । त्यसैले साउन महिनालाई ‘हरियो महिना’ भनिएको हो ।

यस्तै, साउन फेसनको महिना समेत बन्दै गएको छ । यो महिनामा महिलाहरु हरियो फेसनमा रमाउँछन् । हरियो, पहेँलो, रातो चुरा, पोते र हातमा मेहन्दी र हरियो सारी ।

सोमबार झनै रंगीबिरंगी हुन्छ । व्रत बसेका महिलाको पहिरनले आँखै तिरमिराउने ! पहिले धर्म–संस्कृति मान्ने पाका महिलाले लगाउँथे । हिजोआज प्रायः सबैले लगाउँछन् ।

विवाहित महिलाले हरियो चुराको साथमा छेउछेउमा रातो चुरा लगाउछन् रे ! हरियो चुरासँग पहेँलो चुरा लगाउने प्रेममा छ भनेर बुझ्नुपर्छ रे ! हरियोमात्रै लगाउने असल श्रीमान्को खोजीमा हुन्छन् रे !

विश्वास- जति गाढा मेहन्दीको रंग, उति नै बढी श्रीमान्को माया । यथार्थ- जति धेरै केमिकल, उति गाढा मेहन्दीको रङ । जति गाढा रङ, उति हानिकारक । श्रीमान्को मायाभन्दा पनि बढी !

चुराका रंगको संकेत पनि ट्राफिक लाइटको जस्तै ! रातो देखे रोकिनुपर्ने ! पहिले भए तयारी भनेर बुझ्नुपर्ने ! हरियो भए अगाडि बढ्न सकिने !

हिन्दू धर्मालम्बीमा यो महिनालाई श्रीमान्को आयु बढाउने र माया जोख्ने महिनाको रूपमा लिने गरिन्छ । हातमा मेहन्दीको रंङ जति गाढा बस्यो, बुढाले उति धेरै माया गर्छ रे !

यसले गाउँ–शहर केही छुट्याउँदैन । सबैले हरियो साडी, हरियो कुर्ता–सुरुवाल, हरियो चुरा र मेहन्दी लगाउँछन् । अझ कतिपयले त नङपोलिस समेत हरियै प्रयोग गर्छन् ।

अहिले सेलिब्रेटीले समेत साउनलाई फेसनको रुपमा लिने गरेको पाइन्छ । उनीहरूले धार्मिक र सांकृतिकभन्दा फेसनका रुपमा बढी प्रचार गरिरहेका छन् ।

यसले संस्कृति विकृतिको रुपमा परिणत भएको केही हदसम्म पुष्टि गर्छ । मौलिकता हराएको आभास हुन्छ । समाजलाई देखासिकी र आयातित संस्कृतिले डो¥याएको झझल्को दिन्छ ।

विशेषगरी छिमेकी मुलुक भारतको प्रभावले साउनमा हरियो पहिरनको प्रयोग बढ्दो छ । यसको प्रभाव शहर हुँदै गाउँसम्म पुगेको छ ।

मेहन्दीको इतिहासलाई हेर्दा यसको सुरुवात इजिप्टबाट भएको पाइन्छ । चुराको भने सिन्धु नदीको किनारमा रहेका मोहेंजो दारो बस्तीबाट सुरु भएको पाइन्छ । जुन पाकिस्तानमा पर्छ ।

नेपालमा चुराको प्रचलनको इतिहास हेर्दा पृथ्वीनारायण शाहसँग जोडिन्छ । पृथ्वीनारायण ससुराली बनारस गएको बेला समुदायका एक व्यापारीलाई ल्याएका थिए । उनलाई गोरखा बजार नजिकै रहेको ताप्ले भन्ने गाउँमा राखेर चुरा र धागोको व्यापार गर्न लगाएको इतिहास छ ।

यसबाट के बुझिन्छ भने नेपालमा पृथ्वीनारायणभन्दा अघिसम्म चुराको प्रचलन थिएन । त्यसैले चुरासँग धार्मीक तथा सांस्कृतिक महत्व जोडिएको छैन । तर, हरियो चुरा र पहिरनको प्रकृतिको तालमेल भने गज्जब देखिन्छ ।

नेपालमा चुरा र मेहन्दीको प्रचुर प्रयोग हुन थालेको धेरै भएको छैन । केही दशक अघिदेखि मात्रै यसको प्रयोग हुन थालेको जानकारहरू बताउँछन् ।

साउनमा हरियो चुरा, हरियो पहिरन र मेहन्दीको प्रयोग भारतीय संस्कृतिबाट आएको पाइन्छ । हाम्रो संस्कृति र कुनै पनि धार्मिक ग्रन्थमा साउनमा हरियो चुरा र मेहन्दीको प्रयोग गर्नुपर्ने लेखिएको भेटिँदैन । संस्कृतिविद्हरू भन्न्छन्– ‘धार्मिक रूपमा साउनलाई हरियो रंगको रुपमा वर्णन गरिपनि चुरा र मेहन्दीबारे कहीँकतै भेटिँदैन ।’

पहिले मेहन्दी लगाउने चलन पनि थिएन । मेहन्दी नै पाइँदैन थियो । महिलाहरूले तिउरी फूल हत्केलामा दल्थे । तिउरी फूल हातमा दल्नुको विषेश कारण छ । फोहोर पानीका कारण घाउ खटिरा नआओस् भनेर तिउरी फूल दल्ने गरेको जानकारहरू बताउँछन् ।

अहिले पनि कोरियामा यसलाई लौकिक औषधिको रूपमा ग्यास्ट्रिटिक र कब्जियतको उपचारका लागि प्रयोग गरिन्छ । चीनमा भने सर्पले टोकेको उपचारका लागि प्रयोग गरिन्छ ।

समय, परिस्थिति र बढ्दो आधुनिकतासँगै हाम्रो संस्कृतिमा पनि परिवर्तन भयो । हिजोआज तिउरीको ठाउँ मेहन्दीले लिएको छ । मेहन्दीको सुलभताले तिउरी विस्थापित भइसक्यो ।

कला र संकृतिको नाममा नेपालमा अनेक विकृति भित्रिरहेका छन् । हरियो चुरा र मेहन्दी पनि संकृतिको विृकत रुपमा हो । मेहन्दी नेपालमा बन्दैन । सबै भारतबाट ल्याइन्छ । हुन त मेहन्दी लगाउने परम्परा पनि भारतबाटै आएको हो ।

मेहन्दीको प्रयोग र लोकप्रियता बढेसँगै बजारमा केमिकल मिसाइएका मेहन्दीको बिगबिगी छ । यस्ता मेहन्दीले छाला सम्बन्धी रोग निम्त्याउने खतरा हुन्छ ।

विश्वास– जति गाढा मेहन्दीको रंग, उति नै बढी श्रीमान्को माया ।

यथार्थ– जति धेरै केमिकल, उति गाढा मेहन्दीको रङ । जति गाढा रङ, उति हानिकारक । श्रीमान्को मायाभन्दा पनि बढी !

मेहन्दीले एलर्जी भएर अस्पताल आउनेको संख्या बढ्दै गएको छाला रोग विशेषज्ञ डा. सविना कर्ण बताउँछन् । उनी भन्छन्– ‘पहिले घाउ खटिरा नआओस् भनेर मेहन्दी लगाइन्थ्यो, अहिले मेहन्दी लगाएर उत्पन्न घाउ खटिरा लिएर अस्पताल आउँछन् ।’

साउनमा हरियो चुरा र मेहन्दी लगाउँदा घरमा राम्रो हुने । सर्पदंशबाट जोगिने । अनिष्ट हुनबाट बच्ने विश्वास छ । तर, यो कपोलकल्पित मात्रै हो । कुनै दर्शन अथवा धार्मिक ग्रन्थमा कतै पनि हरियो चुरा र मेहन्दी लगाउनुपर्छ भनेर भन्ने उल्लेख छैन । तिउरीले भने केही हदसम्म बचाउन सक्ला !

धेरैलाई मेहन्दी किन लगाइन्छ ? भन्नेको खास अर्थ नै थाहा छैन । तर, मेहन्दी महिलाको शृंगारलाई पूर्णता दिने माध्यम भएको छ । त्यसैले मेहन्दी प्रयोग बढ्दो छ । माग धेरै भएपछि गुणस्तर खस्किने नै भयो ।

आधुनिक दिदीबहिनीहरु समाजका शिक्षित वर्गमा पर्छन् । उनीहरूले पनि यसलाई संस्कृतिको रूपमा वकालत गर्नु लाजमर्दो कुरा हो । संस्कृतिक परम्परा अवलम्बन गर्ने निहुँमा यस्ता क्रियाकलाप गर्ने बाध्यात्मक बनाउनु न्यायसंगत हुँदैन ।

हामीले हाम्रो संस्कृति र परम्पराको जगेर्ना गर्नुपर्छ । तर, विकृति भित्र्याए होइन । हामीसँग जे छ त्यसैमा सन्तुष्ट हुनुपर्छ । अरुको देखासिकी गरेर अनावश्यक नक्कल गर्दा आफ्नो संस्कृति बच्दैन । फुजुल खर्च मात्रै बढाउँछ ।

किरात समुदायले साउन एक गते सिसेक्पा तङ्नाम मनाउँछन् । हिन्दूले भने साउने संक्रान्ति अर्थात लुतो फाल्ने दिनका रुपमा मनाउँछन् । सिसेक्पा तङ्नाममा मीठो–मसिनो खाइसकेपछि बन्दुक पड्काएर, थाल, झ्याम्टा, नाङ्लो र ढोल बजाउँदै खराब तत्वलाई घरबाट खेदाउने चलन छ ।

सिसेक्पा तङ्नाममा जसरी किरात समुदायले खराब तत्वलाई घरभित्रबाट निकाल्ने चलन छ । त्यसरी नै ‘हरियो विकृती’लाई पनि घर, समाज र देशबाटै निकाल्नुपर्छ ।

नेपाल संस्कृतिक सम्पदाको मात्र होइन, संस्कृतिको पनि सम्पन्न देश हो । त्यस्ता सांस्कृतिक सम्पदार संस्कृतिलाई सकारात्मक पक्ष सधैं उच्च सम्मानसाथ संरक्षण गर्नुपर्छ । संस्कृतिलाई जोगाउने कर्तव्य हो भने विकृति फैलन नदिनु हाम्रो दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्