Logo
Logo

एसपी दिल्लीराज बिष्टसहित दुई सय ५६ प्रहरीले गुमाए जागिर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ साउन ।
भ्रष्टाचारसहितका गम्भीर गल्ती गर्ने दुई सय ५६ प्रहरीले जागिर गुमाएका छन् । उनीहरूमध्ये दुई सय ४९ लाई सेवाबाट हटाइएको र सातजनालाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सेवाबाट हटाइएकामा एक एसपी, दुई इन्स्पेक्टर, पाँच सइ, ११ असइ, २४ हवल्दार, एक सय ९५ जवान र ११ जना कार्यालय सहयोगी छन् । त्यस्तै, १÷१ जना असइ र सइ, दुई हवल्दार, दुई जवान र एक कार्यालय सहयोगीलाई बर्खास्त गरिएको छ ।

सेवाबाट हटाइएकाले प्रहरीबाट पाउने पेन्सनलगायतका सुविधा पाउँछन् भने बर्खास्त हुनेहरूले पाउँदैनन्  । आर्थिक वर्ष ०७४÷७५ मा दुई सय ८० प्रहरी यस्तो कारबाहीमा परेका थिए ।
सेवाबाट हटाइएका सबैभन्दा माथिल्ला अधिकारी कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट हुन् । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको आरोपमा सरकारले उनी र इन्स्पेक्टर जगदीश भट्टलाई सेवाबाट हटाएको हो ।

प्रहरी नियमावलीको दफा ११३(क)मा नैतिक पतन हुने काम गरे (मानव बेचबिखनलगायतका अपराध), भ्रष्टाचारमा दोषी ठहर भए, अन्य देशको स्थायी बसोवासको अनुमतिपत्र लिएको वा आवेदन दिएको पाइए र प्रहरीको विशेष अदालतबाट दोषी ठहर भएका प्रहरी बर्खास्त हुने व्यवस्था छ । उनीहरूले बर्खास्तपछि सञ्चय कोष र बिमाबाहेक कुनै सुविधा पाउँदैनन् ।

त्यस्तै, पदीय जिम्मेवारीमा लापरबाही गरेमा, बारम्बार आचरण उल्लंघन गरेमा, ड्युटीमा मादक पदार्थ सेवन गरेमा, पटकपटक अनुशासनहीन काम गरेमा, राजनीतिमा भाग लिएमा, बिदा स्वीकृतविना ४५ दिनभन्दा लामो समय हाजिर नभएमा, फौजदारी कसुरमा दोषी ठहर भए सेवाबाट हटाउन सकिने नियमावलीमा उल्लेख छ । सेवाबाट हटाइएकाले उपदान, पेन्सनलगायतका सुविधा पाउँछन् ।

१८ सय प्रहरी कारबाहीमा
गत आर्थिक वर्षमा एक हजार आठ सय प्रहरीमाथि विभागीय कारबाही भएको छ । बर्खास्त र नोकरीबाट हटाइएकाबाहेक एक हजार पाँच सय ४४ माथि अन्य कारबाही भएको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बताए ।

प्रहरीका विभागीय कारबाहीमा घटुवा, ग्रेड घटुवा, ग्रेड रोक्का, पदोन्नति रोक्का, नसियत, निलम्बनलगायत पर्दछन् । विभागीय कारबाहीमा पर्नेमा दुई एसएसपी र तीन एसपी छन् । त्यस्तै, दुई डिएसपी, १९ इन्स्पेक्टर, ७१ सइ, एक सय ३८ असइ, तीन सय ५९ हवल्दार, एक हजार एक सय ८३ जवान र २३ कार्यालय सहयोगी छन् । धेरैमाथि नसियतको कारबाही भएको छ ।

आर्थिक वर्ष ०७४र७५ मा दुई हजार दुई सय ६५ प्रहरी कारबाहीमा परेका थिए । त्यस्तै, आर्थिक वर्ष ०७३र७४ मा दुई हजार तीन सय ८१ प्रहरी विभागीय कारबाहीमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्