
काठमाडौं । सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज बस्दै छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ ।
राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।
राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष पठाउने सत्तारुढ दलको तयारी छ । आज उक्त विधेयक प्रतिनिधि सभाले पारित गर्ने तयारी गरेको छ ।
कार्यदलको बुधबारको बैठकले शीर्ष नेताहरूबीचको छलफलबाट सिटबारे टुंगो लगाउने निर्णय गरेको थियो ।
कार्यदलले स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट संख्याको मोडेल लगायत मोडल प्रस्ताव गरेको छ ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिर ४ गते निर्वाचन मिति तय गरेकाे छ ।














