
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।
आजको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । यसअघि बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुङ्ग्याउने निर्णय गरेको थियो ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार हिजोको बैठकले पदाधिकारी बाहेक सबै पद टुंगो लगाएको थियो । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ४१ सदस्यीय स्थायी समिति गठन गर्ने, १२५ सदस्यीय पोलिटब्युरो समिति गठन गर्ने, २६ जना वैकल्पिक पोलिटब्युरो बनाउने र ३४१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको थियो ।
माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।
साथै बैठकमा आसन्न निर्वाचनको रणनीति, आजै प्रतिनिधिसभामा अघि बढ्न लागेको नागरिकता विधेयक र सत्ता गठबन्धनमा सिट बाँडफाँटलाई लिएर देखिएको समस्याका बारेमा पनि छलफल हुनेछ ।














