काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि नेकपा एमालेको दोहोरो चरित्र भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको नागरिकता अध्यादेश शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि अघि बढाइएको बताए ।
नेता पुनले केपी ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको विधेयकलाई वर्तमान सरकारले अपनत्व ग्रहण नगरेर फिर्ता लिनु संसदीय प्रक्रियाभित्रकै कुरा भएको बताए ।
उनले वैवाहिक अंगीकृत नागरिकताबारे पछि छलफल गरेर नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसदबाट पारित गराउन सहयोग गर्न एमालेलाई आग्रह गरे ।
उनले भने, ‘गृहमन्त्रीजीले यो विधेयक मुलुकको आवश्यक्ताको लागि ल्याइएको भन्नु भएको छ । खासगरी यसमा लाखौं नेपाली नागरिक जसको बुबा नेपाली नागरिक हो। जसले जन्मको आधारमा नागरिकता पाएको छ । उहाँहरुका छोराछोरीहरु अथवा त्यस्ता नागरिकका छोराहरुले नागरिकता नपाएको अवस्थामा विदेश भ्रमणको अवस्था होला वा कुनै बैंक एकाउन्टको कुरा होलाु, सामान्य दैनिक जीवनका कुरा, अप्ठ्यारा भोगिराखेको फुकाउन ल्याइएको हो । अरु केही जरुरी कुरा मात्रै यसमा राखिएको छ ।’














