काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले डा. बाबुराम भट्टराईमाथि ‘अनुशासनहीन र अराजक तत्व’को संज्ञा दिएका छन् ।
काठमाडौंमा जारी पार्टीको राजनीतिक समितिको बैठकमा अध्यक्ष यादवले प्रस्तुत गरेको प्रस्तावमा आफ्ना पूर्वसहकर्मी भट्टराईमाथि यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष यादवले भनेका छन्, ‘स्थानीय निर्वाचनभन्दा केही समय अगाडिदेखि पार्टीभित्र डा.बाबुराम र उहाँ निकट गुटद्वारा सञ्चालित अस्वस्थ गतिविधिले पार्टीलाई चलायमान बनाउन गम्भीर समस्या उत्पन्न ग¥यो । कतिपय प्रदेश तथा जिल्लाहरूमा पार्टी जीवन नै ठप्प हुन पुग्यो ।’
उनले वीरगञ्ज बैठकपछि पार्टीभित्रका ‘अनुशासनहीन र अराजक तत्व’लाई कारबाही गरेपछि पार्टीलाई गतिशील र सक्रियताका साथ अगाडि बढाउने काम सुरु भएको दावी गरेका छन् ।
‘पार्टी एकीकरण र ध्रुवीकरणको क्रमसँगै पार्टीको घोषणापत्र र विधानमा सहमति जनाएर एकतावद्ध भएका केही नेता कार्यकर्ताहरूले विभिन्न बहानामा यसलाई कार्यान्वयन गर्न अस्वीकार गरे’ यादवद्वारा प्रस्तुत प्रस्तावमा उल्लेख छ ।
उनले पार्टीमा एक व्यक्ति, एक पदको अवधारणालाई दृढतापूर्वक लागु गरेर जानुपर्नेमा जोड दिएका छन् । यादवले भनेका छन्, ‘पुराना एकात्मक ढाँचाको पार्टीको सिको गरेर होस् वा संक्रमणकालको बहानामा होस्, विधान मिच्छौँ भने त्यो विधिको शासनको विपरीत मात्र होइन, स्वेच्छाचारिता पनि हो ।’
आगामी चुनाव लक्षित ११ बुँदे कार्ययोजना, उम्मेदवार छनोटसम्बन्धी कार्यविधि र मापदण्डहरू अध्यक्ष यादवको प्रस्ताव अगाडि सारेका छन् । बुधबारदेखि ललितपुरको बालकुमारीमा जारी बैठक आज सकिँदैछ ।














