Logo
Logo

पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा मनाइँदै


378
Shares

पाल्पा । बुटवलस्थित जितगढीमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा मनाइँदै आएको ऐतिहासिक भगवती जात्रा शनिबार पाल्पाको तानसेनमा मनाइँदैछ ।

कोरोना महामारीका कारण दुई वर्षदेखि जात्रा रोकिएको थियो । हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्ठमीको भोलिपल्ट मनाइँदै आएको यो २०४औं भगवती जात्रा हो ।

फाइल फोटो

विसं १८७७ देखि निरन्तररुपमा विजयोत्सवका रुपमा भगवती जात्रा मनाइँदै आइएको हो । पाल्पाका तत्कालीन कर्णेल उजिरसिंह थापाले वि.सं १८७१ पुसदेखि १८७२ बैसाखसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हासिल गरेका थिए ।

उक्त जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भोलिपल्ट तानसेन भगवतीटोलमा रहेको रणउजीरेश्वरी भगवतीको मन्दिरबाट सिन्दूरजात्रा निकाल्ने परम्परा छ ।

राति १२ बजे बली दिएर भगवतीको रथ उचालेर पुजापाठ गरिन्छ । भगवती रथलाई सिन्दूर, अबिर र केशरीसहित अन्य वैदिक पुजापाठ गर्दै सहर परिक्रमा गराइन्छ ।

नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिरसिहं थापाले अंग्रेज फौजसँग बुटवलको जितगढीमा भएको लडाइमा युद्धमा जानुअघि थापाले युद्धमा जित भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेका थिए । र, विजयपश्चात जात्रा मनाउन सुरु भएको इतिहासमा उल्लेख छ ।

पाँच वटा नाकाबाट नेपालमाथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि बुटवलको जितगढीको लडाइँमा अंग्रेज फौजलाई नेपाली फौजले हराएको थियो ।

भगवती जात्रा धार्मिक आस्थासँगै वीरताको सन्देश दिने राष्ट्रिय पर्वको रुपमा स्थापित भएको तानसेन नगरपाकिलाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।

जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्थाले पहिचान झल्किने झाँकी ¥याली प्रदर्शन गर्ने तयारी भएको नगर प्रमुख श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्