काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रले सात भौगोलिक दुइ गैर भौगोलिकसहित नौ प्रदेशमा चुनाव लक्षित प्रशिक्षण गर्ने भएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ सात गतेसम्म गठबन्धनको चुनावी तालमेलका विषयमा गम्भीर छलफल हुने भएकाले भदौ आठ गतेदेखि १७ गतेसम्म पार्टी प्रशिक्षण गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
प्रवक्ता महराका अनुसार पार्टीलाई चुनाव केन्द्रीत बनाउन राजनीतिक तथा वैचारिक प्रशिक्षण भदौ आठ गतेदेखि मधेस प्रदेश, भदौ ९ गते गण्डकी प्रदेश, १० गते प्रदेश नम्बर एक, ११ गते लुम्बिनी प्रदेश, १२ गते बाग्मती प्रदेश, १३ गते उपत्यका विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति प्रदेश, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण गर्ने भएको छ ।
पार्टी प्रशिक्षणमा अध्यक्ष प्रचण्ड सहित नवनिर्वाचित पदाधिकारी प्रायः सबै सहभागी हुने भएका छन् ।














