
काठमाडौं । नेकपा एकीकृत समाजवादीको काठमाडौं जिल्ला अध्यक्षमा एलपी श्रेष्ठ चयन भएका छन् ।
शनिबार बसेको बैठकले श्रेष्ठको अध्यक्षतामा २ सय ८१ सदस्यीय कमिटी चयन गरेको हो । निवर्तमान अध्यक्ष कुसुमकुमार कार्की केन्द्रीय सदस्य भएपछि श्रेष्ठ अध्यक्ष बनेका हुन् ।
सो बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पाँचदलीय गठबन्धनले देशैभर साझा उम्मेदवार उठाउने बताए । गठबन्धनको सहयोगबाट स्थानीय तहको निर्वाचनमा सबै पार्टी लाभान्वित हुने उनको भनाइ छ ।
‘मुलुकको समृद्धिका साथै राजनीतिक स्थिरताका लागि गठबन्धन चाहिन्छ,’ उनले भने । श्रेष्ठले कमिटीलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनलक्षित कार्ययोजना तयार गरी अगाडि बढ्ने बताए ।