Logo
Logo

राजनीतिक दलको अस्तित्व धरापमा !



दूध उमाल्न पहिले चुलोमा बसालिएको कराई तात्नु पर्छ । बिँडमात्रै तातेर अर्थ हुँदैन । मुखले भ्याएसम्मका उपलब्धिहरु आफैँले सोत्तर बनाउने र व्यवहारमा उदांगो बन्ने नेपाली राजनीतिको नांगो परिपाटी अन्त्य हुन जरुरी छ ।

नाभीमा गढेर बसेको आफ्नो एकात्मक ढाँचाको लाछी प्रवृत्तिलाई नत्यागेसम्म प्रतिफल उही बिँडमात्रै तातेसरह हुनेछ । हाम्रा नेताहरुले जतिसुकै सुशासन र समृद्धिको अचार साँधे पनि जनताको भागमा भने उही रित्तो थाल हो ।

केही महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनको रन्को नसकिँदै फेरि प्रदेश र संघीय निर्वाचनको मिति घोषणा भएको छ । गत स्थानीय तहकै निर्वाचनको हिसाबकिताब पूरा गर्न नपाउँदै आफूमाथि आइलागेको यो निर्वाचनले कसैलाई उत्साह त कसैलाई फसाद पारेको छ ।

स्थानीय तहलाई आफ्नो जुवाको खाल वा भोट बैंक बनाउन चाहनेहरु आफ्नै भविष्यबारे सशंकित छन् । उनका पेरिफेरिमा ‘कुटुनी बूढी’झैँ नाच्नेहरु त्यसै पनि हर्षित छन् । जोसँग टन्न द्रव्य छ, सानसौकत छ । जोसँग दास मनोवृत्ति र मोलमोलाइको जुगाड मस्तै छ, हो यिनीहरुलाई निर्वाचनको मिति घोषणाले ठूलै धनराशिको चिठ्ठा परेको छ ।

त्यति मात्रै होइन, यो बेला अर्को एउटा पक्षबीचमा छ । जसले स्थानीय तहमा पराजयको भारी बोक्नुपर्यो उसले बदलाभावको तरबार उज्जाएर बसेको छ । आफूमाथि आफ्नै भनिनेहरुबाट प्रतिघातको लठ्ठी बजारिएको ठहरमा पुगेको यो पंक्ति जसरी हुन्छ, बदलाभाव प्रकट गर्ने धाउन्नमा छ । यसले आफ्नालाई जिताउनमा भन्दा हराउनमै बल प्रहार गर्ने निश्चित छ । उता नेतृत्व भनिएको शक्ति गठबन्धन जोगाउने चन्दन घोटेर बसेको छ ।

सबै दलका नेताको मुखबाट प्रायः एउटै वाक्यांश फ्याट्ट फुत्किन्छ– ‘हाम्रो पार्टीले नजिते देशले हार्ने छ ।’ यतिका वर्षसम्म तिम्रा पार्टीले जित्दा देशले कतिपल्ट हा¥यो ? यो कुराको कहिल्यै हेक्का राखेका छाँै ? साइकल चढ्ने हैसियत नभएकाहरु करोडौंका चिल्ला गाडीमा चिप्लिने भइसक्दा यो देशको भुइँमान्छेले कतिपटक सुखानुभूतिको स्वास फे¥यो ? कल्पना गरेका छौँ ?

हिजो स्थानीय तहमा मनलाग्दी आदेश थोपरेर कतै बन्धन त कतै गठबन्धनको ढ्याङ्ग्रो ठटाएका केन्द्रीय नेताहरु अहिले गठबन्धनको विकल्प देख्नै नसक्ने अवस्था सिर्जना भएको छ । किनकि उनीहरु समाज केन्द्रित होइन– सहर केन्द्रित राजनीति गर्छन् । शहरकै गाँस र सहरकै बास रोज्छन् ।

यद्यपि, निर्वाचनको लडाइँमा त्यसले कुनै अर्थ राख्दैन । किनकि, सहरमा प्रायः अन्तैबाट आएकाहरुको जमघट हुन्छ । त्यो जमघट भनेको चियाको सारथि मात्रै हो । भोट बैंकमा गुणात्मक छलाङ हान्ने क्षमता त्यसले राख्दैन । निर्वाचन आइहाल्यो, यसअघि अनेक बाचा र घोषणा गरेर जनतासित फुत्काएको भोटलाई जनताको लागि सदुपयोग गर्न नसकेकामा जनताले के दण्ड दिने ? कुर्सीकै लागि मात्रै मरिहत्ते गर्दा कुनै कुरा पनि फत्ते भएन भन्ने कुराको ज्ञान नेता भनौंदाहरूलाई कहिले प्राप्त होला ?

नेताहरुले समाजवादको बखान गर्दागर्दै कान फाटिन थाले । अचेल कांग्रेस–कम्युनिष्ट सबैका मुखबाट समाजवादको ओइरो नै लाग्छ । अति विशिष्ट भएको कारण ढाइ लाख तलब खाने पनि हाम्रै देशमा छन् ।

अति गरिबीको कारण ढाइ रुपैयाँको जीवनजल नपाएर ज्यान गुमाउने पनि हाम्रै समाजमा छन् । भनेपछि के यहि हो त समाजवाद र यसको मर्म अनि पद्धति ? विचार मानिसको मूल महिमा हो, विचार प्रकाशस्तम्भ हो, मान्छेको मस्तिष्कबाट विचार झिक्ने हो भने ऊ तेल नभएको थोत्रो लालटिनजस्तै बन्छ ।

जो सत्ताको बागडोरमा बसेर आफ्ना विदेशी प्रभुहरुको सुसारमा लिप्त बनेका छन्, यिनीहरु पूर्णतः विचार र सिद्धान्तविहीन छन् । आफ्नै विगतप्रति निर्मम प्रहार गर्दै एकपछि अर्को जनघाती निर्णय गरिरहेका छन् ।

त्यसैले अब जनताले पनि सोच्न थालेका छन् । बुझ्न थालके छन्, कुर्सी हातमा पर्नासाथ सबै नैतिकता बिर्सेर आफन्तद्वारा सरकारी स्रोत लुटाउने क्रियाकलापका हुन्छ भन्ने । र, त्यसविरुद्ध जनताले पनि मन्थन गर्न थालेका छन् ।

स्कुलको भित्तामा लेखिएको– ‘घर पोत्नेको र खेत जोत्नेको’ भन्ने नाराबाट राजनीतिको अक्षर समातेकाहरु अहिले चारतले घरको कौसीमा चिचिण्डो फलाएर कृषि क्रान्ति गर्दैछन् । गमलामा गरिएको धानविरुद्धको हमलाबारे त के भनौं र खोइ ? होइन, समाज यति बिचित्र हुँदा पनि यिनीहरुलाई लाज र हिनतावोध हुँदैन होला ? आफ्नै विगतले यो दुर्दशायुक्त हविगतलाई अलिकति पनि छुँदैन होला कि ?

छलकपट, हेराफेरी र दादागिरी महामारीभन्दा बढी खतरनाक एवं संक्रमण रोग हो । यसलाई पीडितहरूले जीवनभर सामना गर्नुपर्ने हुन्छ । जो अहिले हामी नेपालीहरुले गरिरहेका छौँ । शान्ति र समानताको नारा उरालेर हाम्रो आस्था बेच्नेहरु मलामाल भए । खैर, देशको गरिबी बेचेर जतिसुकै अकूत धनार्जन गरे पनि यिनीहरुका खुट्टी कति दरिलो छन् भन्ने जान्न निर्वाचनको मिति घोषणा भएकै दिनबाट थाहा लाग्छ ।

सार्वजनिक ठाउँमा उभिएर आफूलाई बाघको उपमा दिन रुचाउने नेताहरु निर्वाचन हारिने भयले स्याल बनिरहेका दृश्यहरु अचेल दैनिक देख्न पाइन्छ ।

दशकौँसम्म राजनीति गरेर आफूले टेक्ने गतिलो धरातल छैन । आखिर नेताहरुले आजसम्म कुनखाले राजनीति गरे त ? आउँदो निर्वाचनमा ढुक्क भएर उम्मेदवारी दिन नसकेर दल र मुख्य नेताहरुभित्र मस्तै थरथराहट पैदा भएको छ, जुन हेर्न लायक पनि छ ।

अझ सबै दलका नेताको मुखबाट प्रायः एउटै वाक्यांश फ्याट्ट फुत्किन्छ– ‘हाम्रो पार्टीले नजिते देशले हार्ने छ ।’ यतिका वर्षसम्म तिम्रा पार्टीहरुले जित्दा देशले कतिपल्ट हार्यो ? यो कुराको कहिल्यै हेक्का राखेका छाँै ? साइकल चढ्ने हैसियत नभएकाहरु करोडौंका चिल्ला गाडीमा चिप्लिने भइसक्दा यो देशको भुइँमान्छेले कतिपटक सुखानुभूतिको स्वास फेर्यो ? कल्पना गरेका छौँ ? हुन त आफ्नै अस्तित्व धरापमा परेपछि मान्छे स्वतः विक्षिप्त बन्छ । विक्षिप्तता यस्तो खतरनाक मनोरोग हो जसको शिकार भएपछि व्यक्तिले आफू सद्दे र संसार विक्षिप्त देख्छ ।

हाम्रा प्रमुख भनिने राजनीतिक दल र तिनका मुखियाहरु अचेल त्यही मनोरोगको शिकारले ग्रस्त भएको उनका अभिव्यक्तिबाटै प्रष्ट हुन्छ । ‘म कहाँ उभिएर के बोलिरहेको छु ?’ भन्नेसम्म होस् नभएका नेतागणहरु जुनसुकै दलका भएपनि उनीहरु देशको हुन सक्दैनन् । आफ्नो पदभन्दा अर्को कुनै पनि कुरालाई महत्वपूर्ण नठान्ने, जसरी हुन्छ पदमा पुग्ने तरिकाबाहेक अरु केही नजान्ने र त्यहाँ पुगेपछि कुनै पनि जिम्मेवारीलाई नमान्ने गर्नाले नै अहिलेको दुर्दशा निम्तिएको हो ।

समय सधैँ एकनास हुँदैन भन्ने शिक्षा लिएर जनतासँग भिक्षामा मागिएको भोटको इज्जत राख्नुपर्छ भन्ने बुद्धि पलाएमा यसरी गफ ठूला र खुट्टा लुला गराएर गिडगिडाउनु पर्दैनथ्यो कि ?

– लमही दाङ

प्रतिक्रिया दिनुहोस्