Logo
Logo

वृहत वामपन्थी एकता आजको आवश्यकता



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले वृहत वामपन्थी एकताको पहल थालेको छ । गत भदौ १ गतेको सचिवालय बैठकले पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेर एकता प्रक्रिया अगाडि बढाएको छ ।

नेकपा (माओवादी केन्द्र)सहित सिंगो कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने महान उद्देश्य राखिएको छ । एकीकृत समाजवादीको उक्त निर्णयलाई माओवादी केन्द्रले स्वागत गरिसकेको छ ।

निर्वाचनपछि कम्तीमा एकीकृत समाजवादी, माओवादी केन्द्र, नेपाल समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पहिलो चरणमा एकता हुन्छ ।

नेपालमा दुई अलग–अलग कम्युनिस्ट धारको एकीकरण हुने छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा राष्ट्रिय एकता अभियान पार्टीले आगामी निर्वाचन माओवादी केन्द्रको चिह्न ‘हँसिया हथौडा’ बाट लड्ने निर्णय गरेका छन् ।

विगतमा कम्युनिष्ट राजनीति छाडेका बाबुराम भट्टराई पनि हाल नेकपाप्रति सकारात्मक बनेका छन् । एमालेको प्रगतिशील धारलाई पनि एकता प्रक्रियामा समेट्ने तयारी छ ।

विगतमा तत्कालीन नेकपाका महासचिव केशरजंग रायमाझीले कम्युनिष्ट पार्टीलाई वि.सं. २०१७ सालमा बहुमतको बलमा दरबारमा बुझाउँदा पुष्पलालले कम्युनिष्ट आन्दोलनको पुनर्गठन गरेका थिए ।

पुष्पलालले महेन्द्रको कदमपछि ‘संयुक्त संघर्ष’को लाइन अगाडि ल्याएका थिए । सोही कारण रायमाझी समूहले बहुमतको आडमा पुष्पलाल, तुल्सीलाल अमात्य र हिक्मतसिंह भण्डारीलाई पार्टीबाट निस्कासन गरेको थियो ।

अल्पमतमा रहेको पुष्पलाल समूहले पार्टीलाई स्पष्ट दिशा दिन २०१७ फागुनमा केन्द्रीय समितिको विस्तारित बैठक राखेर २०१९ सालमा अधिवेशन बोलाएको थियो ।

उक्त अधिवेशनले बहुमत पक्षका महासचिव केशरजंग रायमाझीलाई तीन वर्ष, डीपी अधिकारीलाई दुई वर्ष र शम्भुराम श्रेष्ठ तथा पीबी मल्ल लगायतलाई एक वर्षका लागि पार्टीबाट निस्कासित गरेर तुल्सीलाल अमात्यलाई महासचिव चयन गरेको थियो ।

पुष्पलालकै जगमा कम्युनिष्ट शक्ति हाल स्थापित भएको छ भने रायमाझी धार इतिहासको पानाबाट बिलाएको छ । पुष्पलालको जगमा पुनर्गठन गरिएको एकीकृत समाजवादीका शीर्ष नेताहरूसँग वामपन्थी एकताको इतिहास र अनुभव छ ।

को–अर्डिनेसन केन्द्र बनाउने ८ नेतामध्ये तीन जना माधवकुमार नेपाल, झलनाथ खनाल र मुकुन्द न्यौपाने अहिले एकीकृत समाजवादीमा छन् । माले हुँदै एमाले निर्माण र विकासमा पनि यी नेताको अतुलनीय भूमिका छ ।

त्यही जगमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएर शक्तिशाली नेकपा कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । दुई तिहाई हाराहारीको नेकपासँग केन्द्रमा मात्र होइन, ६ वटा प्रदेश र झण्डै दुई तिहाई स्थानीय सरकार थिए ।

नेकपा सरकारसँग विकास निर्माणले गति लिने र जनजीविकाको सवाल सम्बोधन हुने अपेक्षा जनताले लिएका थिए । स्थिरताको जग पनि बसेको थियो ।

तर, तत्कालीन प्रधानमन्त्री ओलीले विदेशी शक्तिको इसारामा २०७७ पुस ५ गते असंवैधानिक रुपमा संसद विघटन गरिदिएपछि जनताका ती सबै सपना चकनाचुर भएका छन् ।

अब फेरि समयमा एकीकृत सशक्त वामपन्थी पार्टी निर्माणको गहन अभिभारा अगाडि ल्याइदिएको छ । एकीकृत समाजवादीको पहलले बहस खुला गरिदिएको छ ।

गलत सोच र चिन्तनलाई पाखा लगाएर विचार, सिद्धान्त र उदेश्यमाथि व्यापक छलफल गर्दै वस्तुनिष्ठ ढंगले वृहत वामपन्थी एकता गर्नुपर्छ । एकताका निम्ति व्यापक बहस र छलफल आवश्यक छ । देश र जनताको आवश्यकतालाई पूरा गर्ने गरी वृहत वामपन्थी शक्ति निर्माण समयको माग हो ।

यो ऐतिहासिक कार्यभार पूरा गर्ने दिशामा सचेत वामपन्थी शक्तिले आ–आफ्नो स्थानबाट योगदान पु¥याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्