Logo
Logo

नक्कली मोहीलाई मुआब्जा दिने सीडीओसहित १३ विरुद्ध मुद्दा



काठमाडौं। नक्कली माेहीलाई मुआब्जा दिएकाेआरोपमा धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

धनुषाको भरतपुर गाउँस्थित गुठीकाे जग्गामा नक्कली मोही खडा गरी मुआब्जाबापतको रकम हिनामिना गरेको भन्दै गौतमसहित बिचौलिया, नक्कली मोही र गुठीका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मुद्दा दायर गरेको हो ।

गौतमविरुद्ध १ करोड १४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ बिगो तथा बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको छ । यस्तै, गुठी संस्था शाखा कार्यालय धनुषाका तत्कालीन प्रमुख राजबाबु पाण्डे, तत्कालीन सहायक प्रशासक मनोजकुमार शर्मा र वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालविरुद्ध हिनामिना भएको १ करोड १४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ बिगो र त्यति नै जरिवाना मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

फर्जी कागजात देखाएर मोहियानी हकदाबी गरेर ८९ लाख ८३ हजार ३ सय ३४ रुपैयाँ भुक्तानी लिने गायत्रीदेवी जयसवाल र उनका छोरा शत्रुधन जयसवालविरुद्ध भुक्तानी लिएको रकम नै बिगो कायम गरी कैद र जरिवाना मागदाबी छ ।

बिचौलियाको भूमिकामा रहेका सुमनकान्त ठाकुरविरुद्ध पनि ८९ लाख ८३ हजार ३ सय ३४ हानिनोक्सानी पुर्याएको भन्दै बिगो, जरिवाना र कैद मागदाबीसहित प्रतिवादी बनाइएको छ । अर्का दुई आरोपित उपेन्द्रलाल कर्ण कायस्थ र मनोजलाल कर्णविरुद्ध २४ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ बिगो कायम गरिएको छ ।

सूर्यनारायणलाल कर्ण आरोपित भए पनि उनको मृत्यु भएका कारण एकाघरका हकवाला भाइ उपेन्द्रलाल कर्ण कायस्थ, उनकी पत्नी बिन्दादेवी कर्ण र छोरा मनोजलाल कर्णलाई बिगो असुलका लागि प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्