Logo
Logo

कर्णालीमा खेलकुद : खेलाडी छन्, बजेट र पूर्वाधार छैन


378
Shares

कर्णाली । जुम्लाका २३ वर्षीया सुनमाया बुढा फ्रान्समा हालै सम्पन्न विश्वकै प्रतिष्ठित अल्ट्रारेस एक सय किमी दौडमा दोस्रो भएपछि स्वदेशी तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको शिखरमा छन् । गत वर्ष थाइल्याण्डमा भएको अर्को प्रतियोगितामा महिलातर्फ जाजरकोटका कामना विष्टसँगै उनी विजेता बनेका थिए ।

पैँतीस वर्षअघि एभरेष्ट म्याराथनमा प्रथम भएर विश्व कीर्तिमान कायम गर्न सफल जुम्लाका हरिबहादुर रोकाया अहिले पनि प्रशिक्षकका रुपमा दौडिरहेका छन् । उनले २०४५ र २०४६ सालमा एथ्लेटिक्समा सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी बनेर स्वर्ण पदक पाएका थिए । ३५ वर्षअघिका कीर्तिमानी धावक हरिबहादुर र अहिलेका कामना, सुनमायासँगै थुप्रै खेल प्रतिभाहरू जन्मिएका छन् ।

सुर्खेतकै मैदानमा खेलेर फुटबलतर्फ रोशन रानामगर, सन्दीप गुरुङ, करातेतर्फ प्रकाश खड्का, प्रियङ्का शाही, एलिसा रास्कोटी र दैलेखका हिक्मत रोकाले राष्ट्रिय खेलाडीको पहिचान बनाएका छन् । भारत्तोलनतर्फ सुर्खेतकै श्रुती कार्की र उसुतर्फ दीपक हमालले स्वदेश र विदेशमा भइरहेका विभिन्न प्रतियोगितामा पदमा जितेका छन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अनुसार यसै वर्ष काठमाडौँमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्समा मात्रै कर्णालीले १८ पदक जितेको थियो । परिषद्का उपाध्यक्ष प्रमोद हमाल एथलेटिक्समा कालीकोट, जुम्ला र सल्यान तथा उसु, तेक्वान्दो, कराते, भारत्तोलन, ब्याडमिन्टनमा सुर्खेत, दैलेखका खेलाडी आशालाग्दा रहेका बताउछन् । कर्णालीमा प्रशिक्षक र खेलकुद क्षेत्रमा बजेट निकै कम छ । ‘बजेट अभावकै कारण खेलकुद गतिविधि सञ्चालन गर्न कठिनाइ छ, जुन विधाका प्रशिक्षक छन्, ती खेलमा मात्र राम्रा खेलाडी उत्पादन भएका छन्’, परिषद् उपाध्यक्ष हमाल भन्छन, ‘सरकारले माग गरेजति बजेट नदिँदा नियमित खेल प्रतियोगिता यस वर्ष ठप्प हुने अवस्था छ ।’

बजेट अभावका कारण गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटमा समस्या भइरहेको परिषद् पदाधिकारीको गुनासो छ । खेलाडी छनोटका लागि परिषद्लाई प्रदेश सरकारले रु ५० लाख र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रु ४९ लाख उपलब्ध गराएका छन् । परिषद् उपाध्यक्ष हमाल यो बजेट निकै कम भएको बताउछन् । उनका अनुसार परिषद्ले कम्तीमा रु डेढ करोड बजेट आवश्यक पर्ने प्रस्ताव सामाजिक विकास मन्त्रालयसमक्ष पेश गरेको थियो । जिल्लास्तरमा खेलाडी छनोट सकिएको छ ।

आजदेखि भदौ २४ गतेसम्म प्रदेशस्तरीय खेलकुद छनोट कार्यक्रम सुरु भएको छ । आज र भोलि सुर्खेत जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा उसुका खेलाडी छानिदैछन् । पुरुष–महिला भलिबलबाहेक २८ खेलका खेलाडी छनोट सुर्खेतमा हुँदैछन् । भलिबल खेलाडीको छनोट कालीकोटको मान्ममा हुँदैछ । परिषद्ले कर्णालीबाट एथलेटिक्स, उसु, कराते, तेक्वान्दो, भारत्तोलन र ब्याडमिन्टन राम्रो नतिजा ल्याउने अपेक्षा राखेको छ ।

‘कर्णालीमा हिमाली–पहाडी जिल्लाबाट खेलाडी ल्याउँदा पठाउँदा यातायात र बाटो खर्चमै ठूलो रकम खर्च हुन्छ, तर हामीकहाँ बजेट निकै कम छ, कसरी खेलाडी छनोट गर्ने भन्ने समस्या भइरहेको छ’, प्रशिक्षक प्रदीपकुमार राई भन्छन्, ‘खेलाडीलाई आवास, खाजा खर्च, प्रशिक्षक भत्ता, पोशाकलगायत शीर्षक जोड्दा विनियोजित बजेट निकै कम हो ।’ बर्सेनि सञ्चालन हुँदै आएको मुख्यमन्त्री कप यसपटक बजेट कार्यक्रममा समावेश छैन ।

जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रबहादुर शाही सुर्खेतमा उसु, कराते, तेक्वान्दो र एथलेटिक्सका मात्र प्रशिक्षक रहेको बताउछन् । भलिबल र फुटबलका स्वयंसेवक प्रशिक्षक छन् । राखेपले आफू मातहतका प्रशिक्षकलाई प्रदेश परिषद्मा समायोजन गर्ने तयारी गरेको छ । ‘प्रशिक्षक र खेलाडीको जीवनयापनमा समस्या छ, खेलाडीका लागि छात्रावास, आवासगृह, तालिमस्थल छैन, जीवननिर्वाह भत्ताको व्यवस्था हुन जरुरी छ’, शाही भन्छन्, ‘सरकारले कम्तीमा जीवननिर्वाह भत्ता दिन सके खेलाडी पलायनको समस्या रोकिन्छ, युवाहरूको आर्कषण बढ्छ ।’

सधैँ खड्किने पूर्वाधार अभाव

प्रदेशका मुगु, हुम्ला, डोल्पा र जाजरकोट कभर्डहल नभएका जिल्लामा पर्दछन् । बाँकी जिल्लामा पनि नाम मात्रका कर्भडहल छन् । कम्तीमा सबै जिल्लामा सुविधासम्पन्न कर्भडहल भएको खण्डमा ‘इन्डोर गेम’ खेलाउन सकिने प्रशिक्षकहरु बताउँछन् । यस प्रदेशका १० जिल्लामा राखेपको नाममा करिब ५० रोपनी जग्गा छ । रङ्गशाला एउटा पनि छैन । प्रदेश राजधानी सुर्खेतमा एउटा कर्भडहल र सेमिकर्भडहल छ ।

प्रतिक्रिया दिनुहोस्