म्याग्दी । जिल्लाको बेनी अस्पताल करार जनशक्ति र अस्थायी पूर्वाधारको भरमा सञ्चालन हुँदै आइरहेको छ । पचास शय्या क्षमताको अस्पतालमा कार्यरत अधिकांश कर्मचारी करारका हुनाका साथै पूर्वाधार तथा भौतिक संरचना पनि अस्थायी प्रकृतिका छन् ।

अस्पतालका प्रमुख चिकित्सक डा जितेन्द्र कँडेलले दरबन्दीअनुसार स्थायी जनशक्तिको पदपूर्ति नहुँदा र नयाँ भवन निर्माणमा भएको ढिलाइले सेवा प्रवाहमा समस्या भएको बताए ।
‘आठ कन्सल्टेन्ट चिकित्सक र चार मेडिकल अधिकृतसहित ५९ जनाको दरबन्दी भए पनि अध्ययन बिदामा गएका बाहेक १३ जनामात्रै स्थायी छौँ’, उनले भने, ‘करारका चिकित्सक र स्वास्थ्यकर्मीको भरमा चलेको अस्पतालको विसं २०७४ मा निर्माण थालिएको नयाँ भवन पनि पूरा नहुँदा अस्थायी संरचनाबाटै सेवाप्रवाह गर्नुपरेको छ ।’
प्रदेश सरकारले करारमा भर्ना गरेका जनशक्तिको म्याद थप नहुँदा र निक साइमन्स इन्स्टिच्युटबाट आएका स्वास्थ्यकर्मीसहित ३८ जना एकैपटक बाहिरिँदा गत साउन महिनाभर साना शल्यक्रिया, शल्यक्रिया गरी सुत्केरी गराउने (सुरक्षित सुत्केरी सेवा) र सर्जिकल गर्भपतन(बिरामी बेहोस बनाइ गरिने सेवा)मा असर परेको थियो ।
स्थायी जनशक्ति नहुँदा हरेक आर्थिक वर्षको पहिलो महिना नयाँ प्रक्रियाबाट जनशक्ति पदपूर्ति गर्नुपर्दा सेवा प्रवाहमा व्यवधान उत्पन्न हुने गरेको छ । दुर्गम भएका कारण म्याग्दीमा चिकित्सक र स्वास्थ्यकर्मी आउन नमान्ने, आएका पनि छिटो सरुवा भएर जाने वा अध्ययन बिदामा बस्ने गरेका छन् । पूर्वाधार नहुँदा चिकित्सक आइहालेमा उनीहरुले काम गर्ने ठाउँ पनि छैन ।
समयमा सेवा नपाउने, पालो पर्खनुपर्ने, जिल्ला बाहिर उपचार गर्न जानुपर्ने समस्या रहेको रघुगङ्गा–३ पिप्लेका सुमन पौडेलले बताए । जनशक्ति अभावका कारण अस्पतालमा दुई वर्षअघि जडान भएको पाँच शय्या क्षमताको आइसीयू (सघन उपचारकक्ष) सञ्चालन हुनसकेको छैन । करार र विभिन्न कार्यक्रमबाट थप स्वास्थ्यकर्मी व्यवस्थापन गरेर सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए ।
‘करार अवधि सकिए पनि केही स्वास्थ्यकर्मीले स्वयंसेवा गरेर सघाउनुभयो’, उनले भने, ‘अस्पताल व्यवस्थापन समिति, प्रदेश सरकार र विभिन्न कार्यक्रमबाट आगामी असारसम्मका लागि ५१ जनशक्ति व्यवस्थापन भएपछि सेवा प्रवाह सहज भएको छ ।’
अस्पताल व्यवस्थापन समितिले दुई मेडिकल अधिकृत, छ स्टाफ नर्स, दुई ल्याब टेक्निसिएन, एक एनेस्थेसिया सहायक, दुई अहेव, दुई अनमी, एक ल्याब असिस्टेन्ट र चार कार्यालय सहयोगी करारमा नियुक्त गरेको छ । प्रदेश सरकारले आठ स्टाफ नर्स, एक–एक जना एचए, फार्मेसी, रेडियोग्राफरसहित १३ स्वास्थ्यकर्मी करारमा पठाएको छ । हाल चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरेर ६४ जनशक्ति कार्यरत छन् ।
वार्षिक रु छ करोडभन्दा बढी बजेट भएको अस्पतालमा ओएनएम सर्भेमा छुटेका लेखापालको दरबन्दी नहुँदा तलबभत्ता खुवाउन, खरिद र निर्माणकार्यको भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रकबाट काजमा लेखापाल ल्याउने गरिएको छ ।
गत आर्थिक वर्षमा ३८ हजार चार सय ३१ जनाले बहिरङ्ग, आठ हजार आठ सय १० जनाले आकस्मिक, दुई हजार छ सय १९ जनाले अन्तरङ्ग, एक सय ७२ वटा शल्यक्रियामार्फत गरिनेसहित सात सय ९९ जनाले प्रसूति र ७६ जनाले जटिल शल्यक्रिया सेवा लिएका थिए । यसैगरी ९७ जनाले इन्डेस्कोपी, आठ हजार चार सय ६७ जनाले युएसजी, दुई हजार आठ सय १३ जनाले इसिजी, दुई लाख ३३ हजार दुई सय ३३ वटा ल्याब्रेटरी, आठ हजार आठ सय १७ जनाले एक्सरे सेवा लिएको अस्पतालमा अन्यत्रबाट एक सय ५७ जना सिफारिस भएर आएका र एक हजार ६८ जना थिए ।
म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले सेवा लिने यस अस्पतालमा बाल रोग, स्त्रीरोग, हाडजोर्नी, फिजियोथेरापी, रेडियोलोली, शल्यक्रिया, एनेस्थेसियासमेत सातवटा वार्ड (विभाग) छ । गत वर्ष इन्डेस्कोपी, हिंसा पीडितहरूका लागि एकद्धार सङ्कट व्यवस्थापन केन्द्र, सामाजिक सेवा एकाइ, पाँच शय्या क्षमताको बाल उपचार कक्ष, मेडिकल वार्ड, प्रतिदिन १०० सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालन हुँदै आएको छ । टेलिमेडिसिन सेवा सुरु गर्ने तयारी गरेको अस्पतालले विद्युतीय मेडिकल रेकर्ड सिस्टम सुरु गरेको छ ।
भवन अलपत्र
तत्कालीन सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालयले विसं २०७३ मङ्सिर २१ गते ५० शय्या क्षमताको उक्त अस्पतालको भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग रु १८ करोड ८४ लाख आठ हजारमा ठेक्का सम्झौता गरेको थियो । उक्त संस्थाका सञ्चालक निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह छन् ।
चार हजार नौ सय ६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चारतले तीनवटा भवन विसं २०७६ मङ्सिर २० गते निर्माण गरिसक्नुपर्ने सम्झौता भएकामा हालसम्म ७५ प्रतिशत मात्र भएको अस्पताल व्यवस्थापन समितिका सदस्य बेलबहादुर कटुवालले बताए ।











