Logo
Logo

बालेनको डोजरबाट आतंकित एमालेजन



देश कसैको पेवा होइन । राजनीतिमा आउने नयाँ पुस्तालाई आजसम्म दुनियाँका कुनै पनि पुरातन वर्गले सहजरुपमा स्वीकार गरेको छैन । अझ हाम्रो नेपालको ‘तथास्तु’ भावको आशीर्वादले ढपक्क छोपेको समाजशास्त्रमा यो सर्लक्क हजम हुने कुरै भएन ।

अर्काको मुखमा हिलो छ्यापेर आफू आकर्षक देखिन खोज्ने चित्त उध्रिएको एउटा कुरुप समूह नेपालमा निकै सक्रिय छ । जसले देशको हितका लागि आफैँले त केही गर्न सकेन नै, अरुले गर्न खोजे भने पनि हरबखत अँध्यारो थुतुनो लगाएर धम्कीको भाषा वान्ता गर्छ ।

केन्द्रस्तरदेखि गाउँ तहसम्म सेटिङ मिलाएर कमिशन असुल गर्न पल्किएको यो समूहमा जनार्दन शर्माले लोडसेडिङ हटाउने घोषणा गर्दा गतिलोसँग भुइँचालो गएको थियो । त्यसैबेलाबाट उज्यालोदेखि तर्सिने बानी परेको यो जमात देशहितको लागि चालिने प्रत्येक कदमबाट आतंकित हुने गरेको छ ।

यसको मुलभूत कारण भनेकै आफ्नो सेटिङ भत्किने र कुरुप अनुहार पर्दाफास हुने त्रास नै हो । बाहिर आफूमा जस्तो गहिरो राष्ट्रवाद अन्त कहीँ नभेटिने बखान गर्न सिपालु यो समूहले भित्रभित्रै देशलाई खोक्रो बनाउने सयौँ योजनामा आफूलाई अग्रपंक्तिमा राखेको छ ।

अहिले काठमाडौँ महानगरपालिकाले थालेको अवैध संरचना हटाउने अभियानले पनि सबैभन्दा पहिले यही समूहको स्वर्गमा जोरको झट्का लागेको छ ।

नमच्चिने पिङको सय झट्का भनेझैँ वर्षौँदेखि राजनीतिको केन्द्रमा रहेर ढलेको सिन्को नउठाउने महेश बस्नेतले बालेन साहलाई आफूसँग विकासको मोडेल सिक्न निम्तो गरे । त्यहाँ फगत एउटा महेश बस्नेतमात्रै नभई सिंगो एमाले बोलेको छ ।

आफूलाई केपी ओलीको विश्वासपात्रको रुपमा चिनाउने बस्नेतको स्तरहीन धारणाले आउँदो निर्वाचन परिणाममा पनि एमालेलाई उँदो झार्नमा गतिलै मद्दत पुर्याउने देखिन्छ ।

‘आफ्ना छोराछोरी खाडीमा पठाएर कमाएको पैसाबाट निर्मित भवनमा डोजर चलाउने बालेन साह को हुन ?’ बस्नेतले धम्कीपूर्ण भाषामा यो प्रश्न पनि गरे । अरब र खाडीमा कमाएको पैसाले काठमाडौँका मुख्य राजमार्गमा गगनचुम्बी महल बनाउन सक्ने त्यो धनबहादुर को रहेछ ? आम मानिसको मनमा उब्जिएको एउटा भयंकर प्रश्न यो पनि छ ।

एउटा प्रमुख राजनीतिक दलको केन्द्रीय नेताले सार्वजनिक कार्यक्रममा गरेको भाषण नामुद टोले गुण्डाको भन्दा पनि असभ्य सुनिन्थ्यो । युवाको नाममा राजनीतिलाई हेर्नै नसक्ने गरी फोहोर बनाउने महेश बस्नेतहरुले देशको नाममा टायर पोल्ने र रेलिङ भाँच्नेभन्दा अर्को के उपती लगाए ? सांसद अपहरण गर्ने र दलालहरूसँग हप्ता असुल्नेबाहेक अर्को कुन इतिहास रचे ?

आफ्ना हुतिहारा नेतृत्वको अघिपछि थाल ठटाएर भजन–कीर्तन गाउनबाहेक देशको कुन पीडामा मल्हमपट्टी गरे ? ठेक्कापट्टामा कमिशन, सुनमा कमिशन, वाइडबडीमा कमिशन, कर हिनामिनामा कमिशन, सेक्युरिटी प्रिन्टमा कमिशन, जताततै कमिशनै कमिशन ।

हो, यी सबै कमिशनको रासबाट ठड्याएका टावरहरू अन्ततः भत्किने छाँटकाँट देखेपछि आएको एमाले नेता महेश बस्नेतको रोदन हेर्नलायक छ । जे होस्– लोभले लाभ, लाभले बिलाप भनेको यही हो बस्नेत ब्रो !

यसअघि काठमाडौंको जनसंख्या कति छ, काठमाडौं महानगरमा कति घरधुरी छन् ? भन्नेसमेत थाहा नभएका मेयर विद्यासुन्दर शाक्यलाई झेलेका काठमाडौंवासीले बालेनको सूचनालाई बेवास्ता गर्दा यो परिणाम बेहोर्नु पर्दैछ ।

खाली गर्नका लागि महानगरले ‘पैतीस दिने’ सूचना जारी गरेको रहेछ । आज ती संरचनामा आश्रित साना–ठूला व्यापारीहरुको बिचल्ली बनाउने घरबेटीले नै उनीहरुको उचित प्रबन्ध र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।

कानुन थाहा छैन, त्यही भएर मिचे भन्न पाइँदैन । सार्वजनिक सूचना मैले देखिनँ र पढिनँ भन्न पाइँदैन । यो संसारभरि नै रहेको कानुनी मान्यता हो । केही ढोंगीहरू नियम, कानुन लत्याउनेलाई समर्थन गर्दैछन् । यस्तै सोचले गर्दा समाजमा अराजक संस्कार स्थापित हुँदै गएको छ ।

हामी समुन्नत समाजको कल्पना गर्छौँ । तर, त्यसका लागि चाहिने सामान्य मापदण्डसमेत पूरा गर्न खुट्टा कमाउँछौँ । यसैको फाइदा स्वरुप दशकौंदेखि निश्चित राजनीतिक दलधारी दलालहरूले हाम्रो कमजोरीको भरपुर फाइदा उठाएर रंगमस्ती गरिरहेका छन् ।

हरबखत मुलुक विकसित भएन भनेर गुनासो गर्ने हामी नागरिक लाचार हुँदासम्म एमालेजस्तो लुटाह समूह र महेश बस्नेतजस्ता टोले गुण्डाहरूले हामीमाथि हैकम चलाइरहने छन् । माफियाहरूको दबदबामा बालेन र हर्कहरू स्वतः ओझेल पर्न बाध्य हुनेछन् ।

त्यसैले हामी आ–आफ्नो ठाउँबाट एउटा असल नागरिकको भूमिकामा उभिन सकेमात्र पनि यो देशको मुहारमा कान्ति छाउने छ । त्यसैका लागि बालेनले केही राम्रा प्रयासको थालनी गरेका छन् ।

काठमाडौंका जनताले जसरी बालेनलाई जिताए, त्यसैगरी उनको राम्रो काममा साथ दिने हो भने कुरुप काठमाडौंको रुप फेरिने छ । राम्रा कामको पनि विरोध गर्ने महेश बस्नेतहरूको सातोपुत्लो उड्ने छ । युवा राजनीतिमा आउनु भनेको सकारात्मक काम गर्न हो, सत्ताको आडमा लुट्न होइन भन्ने कुरा महेश बस्नेतहरूले बालेनबाट सिक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्