Logo
Logo

भोजपुरमा धमाधम बन्दै रंगशाला


315
Shares

भोजपुर । तत्कालीन जिविसले रंगशाला निर्माणका लागि १५ वर्ष अगाडि किनेको जग्गा केही वर्ष अघिसम्म गौचरणजस्तै थियो ।

जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, सो काम नै नभएपछि खेलाडी र खेलप्रेमीसमेत निराश थिए । अहिले भने रंगशाला निर्माण तीव्र गतिमा भइरहको छ । भोजपुर खेलकुद गतिविधि भई रहने र खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा चिनिन्छ ।

भौतिक पूर्वाधार अभावबीच यहाँका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलमा भाग लिएका छन् । खेलाडी सदरमुकाममा रहेको टुँडिखेलको सानो मैदानमा प्रतियोगिता खेल्न बाध्य बनेका छन् । अल्ट्रा धाविका मीरा राई, ब्याडमिन्टनका खेलाडी विकास श्रेष्ठ, नक्सलदेवी तामाङ, सरादेवी तामाङलगायतका खेलाडी पनि जिल्लाकै हुन् ।

खेलकुद विकासका लागि सदरमुकाममा रंगशालाका साथै ग्रामीण क्षेत्रमा समेत खेल मैदान बन्नेक्रममा छन् । खेलकुदमा अहिले हुँदै आएको परिवर्तन भने सह्रानीय भएको भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवाल बताए । रंगशाला र खेल मैदान निर्माणले उत्साह थपेको उनले सुनाए ।

‘अहिलेसम्म त भोजपुर सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा प्रतियोगिता सञ्चालन गर्नुपर्ने अवस्था छ, कोदारमा निर्माण भइरहेको रंगशाला निर्माणको अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘यो पूरा भएमा प्रतियोगिता सञ्चालनमा सहजता हुन्छ, ठूला प्रतियोगितासमेत जिल्लामा नै सञ्चालन गर्न सकिन्छ ।’

प्रदेशको १४ करोड ५ लाखको लागतमा सो रंगशाला निर्माणाधीन छ । २०८० सालसम्ममा निर्माण अवधि रहे पनि केही समयभित्रमा काम सम्पन्न हुने निर्माण व्यवसायी श्याम श्रेष्ठले जानकारी दिए । यसको क्षमता ५ हजार दर्शक अट्न सक्ने छ । रंगशाला निर्माणले खेल मैदानको समस्या दीर्घकालीनरुपमा समाधान हुने खेल अभियन्ता विनम श्रेष्ठको भनाइ छ ।

‘मैदान सानो हुँदा ११ खेलाडीले खेल्न पाउने फुटबल पनि ९ जनालाई मात्र खेलाउनुपर्ने अवस्था छ, फुटबल मात्र होइन जिल्ला तहमा हुने अन्य खेलसमेत प्रभावित बनेका छन्,’ उनले भने । स्थानीयतमा पनि साना ठूला खेलमैदान बन्दै छन् ।

दुर्गम गाउँमा जन्मिएर विश्वमा समेत नाम कमाउन सफल अल्ट्रा धाविका मीरा राईको सम्मानमा पौवादुङमा गाउँपालिकाको च्यांग्रेमा ‘मीरा राई रंगशाला’को बन्ने भएको छ । यसको निर्माणसमेत थालिएको छ ।

गाउँपालिकाले ५६ करोड लागत रहेको रंगशालाको डीपीआर तयार भइसकेको छ । अल्ट्रा धाविका राईको सम्मानमा रंगशाला निर्माण थालिएको पालिकाका अध्यक्ष किरण राईले बताए ।

प्रतिक्रिया दिनुहोस्