काठमाडौं । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ को काठमाडौंमा प्रिमियर शो भएको छ ।
खुकुरी रम प्रिमियर शोको प्रायोजक रहेको थियो । खुकुरी रमकै प्रायोजकत्वमा यो फिल्मको थप प्रिमियर शो पोखरामा सोमबार र बुधबार धरानमा गर्ने कार्यक्रम छ । ‘गोर्खा : बिनिथ द ब्रेभरी’ च्यारिटी मुभी हो ।

शोबाट प्राप्त आम्दानी गोर्खा वेलफेयर ट्रस्टलाई प्रदान गरिने छ । खुकुरी रम प्रमोसनल पार्टनरका रुपमा रहेको यो फिल्म भदौ २४ गतेदेखि प्रदर्शनमा आउनेछ । चलचित्रमा थापाले जर्मनसँगको युद्धमा बहादुरीका साथ घाइते सैनिक उद्धार गरेको कथा प्रस्तुत गरिएको छ ।
१९१५ सेप्टेम्बर २५ मा ब्रिटिश सेनाले लुस फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा घाइते बनेका थिए । घाइते भएको भोलिपल्टैदेखि थापा पीडितको उद्दारमा खटिए ।
यही घटनापछि उनलाई गोर्खाका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । यही कथा चलचित्रमा देख्न पाइन्छ ।काठमाडौंको विशेष शोमा निर्देशक प्रदीप शाहीले आफ्नो कथा आफैँले भन्ने कोशिस गरेको बताए । जोखिम मोलेर विश्व शान्तिका लागि लड्ने पुर्खालाई श्रद्दाञ्जली दिन फिल्म निर्माण गरेको उनको भनाइ थियो ।
शोमा थापाका छोरा, बुहारी तथा नातिहरु उपस्थित थिए । बेलायतदेखि कलाकार समिर गुरुङ, गौमाया गुरुङ र स्टुअर्ट वाल्कर नेपाल आएका थिए । चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ ।
फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।
साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताका रुपमा छन् । निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् ।












