कास्की । पाँच दलीय सत्ता गठबन्धनका नेताहरूबीच कास्कीका ७२ वटै वडामा भावानात्मक एकता हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस कास्कीले बिहीबार पोखरामा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा सहभागी गठबन्धनका नेताहरूले यस्तो जोड दिएका हुन् ।
गठबन्धनमा आवद्ध नेताहरूले एक–अर्कालाई चिनजान र घुममिल बढाउन अब वडा तहसम्मै संयुक्त चियापान तथा भेटघाट कार्यक्रममार्फत भावनात्मक एकता गर्ने निर्णयसमेत गरेका छन् ।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले गठबन्धनको भावना वडा तहका कार्यकर्तासम्म पु¥याउन आवश्यक रहेको बताउँदै भने, ‘चुनावमा गठबन्धन गर्ने निर्णय भइसकेको छ, यहाँ नेता कार्यकर्तामा चिनजानसमेत छैन । त्यसैले अब भेटघाट र चियापानमार्फत् वडा तहसम्म भावानात्मक एकता हुनुपर्ने छ ।’
चियापान तथा भेटघाटमा सहभागी ५ दलका नेता कार्यकर्ताले एक आपसमा परिचय आदान–प्रदान गरेका थिए ।
कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाट, गण्डकी प्रदेशका मन्त्रीहरू कुमार खड्का, रामजी बराल, विन्दुकुमार थापा, माओवादी केन्द्रीय सदस्य राजकाजी गुरूङ ‘करण’, दीपक कोइराला, नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष एवं पोखराका मेयर धनराज आचार्य लगायतका नेता एवं कार्यकर्ता सहभागी थिए ।











