काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषदलगायतलाई १० दिनभित्र कर बुझाउन आग्रह गरेको छ ।

यसअघि पटक-पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले आग्रह गरेका छन् ।
काठमाडौं महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ ।
अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पत्रमा उल्लेख गरिएको छ ।
हेर्नुहोस् पत्र











