Logo
Logo

एकपटक घुम्नैपर्ने ‘ज्याग्दी सामुदायिक वन’



रामपुर (पाल्पा) । उत्तरतर्फ सलल बगेको कालीगङ्गा, पूर्वतर्फ गौशाला, तालपोखरा । यसैसँग जोडिएको आहा ! क्या सुन्दर त्यो ज्याग्दी सामुदायिक वन । मनमा भएका पीडा, वेदना सबै बिर्साइदिन्छ, यहाँको प्राकृतिक वातावरणले ।

मुक्तिनाथदेखि बग्दै आएको कालीगण्डकीको सुसाउँदो आवाज कानमा गुञ्जयमान हुँदा मनमा भएका सारा पीडा, दुखाइ हराएर जान्छ । पाल्पा रामपुर नगरपालिका–६ स्थित ज्याग्दी सामुदायिक वनमा बृहत् पार्क निर्माण कार्य हुन थालेपछि यहाँको वातावरणसँग रमाएर मन प्रफुल्लित पार्न जाने आन्तरिक पर्यटक बढेका छन् ।

कालीगण्डकीको तीरमा रहेको ज्याग्दी वन र यहाँ बन्दै गरेको पार्कको संरचनाको दृश्यावलोकन गर्दा मानिसमा भएका पीडा, तनाव सबै यहाँ आएपछि हराउने र मनलाई आनन्दित पार्ने प्राकृतिक वातावरण रहेको बताउछन्, समाजसेवी विष्णुप्रसाद लम्साल ।

उनले भने, ‘भूगोलका हिसाबले अति उपयुक्त स्थानमा रहेको छ, कालीगण्डकी सुसाएको आवाज सुन्दै हरियाली वनजङ्गल, त्यसमा चराचुरुङ्गीको गुञ्जयमान त्यो आवाज सुन्दा मनको पीडा नै हराउने शान्त र सुन्दर वातावरण छ ।’ यहाँको प्राकृतिक वातावरण पारिवारिक तथा प्रेमजोडी, साथीभाइबीच घुम्ने र रमाउने खालको छ । यहाँको सुन्दर र मनोरम दृश्यले सबै उमेर समूहका मानिसलाई लोभ्याइरहेको हुन्छ । पक्की सडक सुविधाको पहुँच पुगेकाले पनि शनिबार र बिदाका दिन आन्तरिक पर्यटक ठूलो सङ्ख्यामा पुग्ने गर्दछन् ।

ज्याग्दी वनमा बन्दै गरेको पार्क रामपुरको महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल गौशाला, रामघाट, तालपोखरालाई जोड्ने महत्वपूर्ण मार्गका रुपमा रहेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताउछन् । बाल्यकालमा यहाँ गाईगोरु, बाख्रा चरनका लागि घुमेको वन अहिले पर्यटन विस्तारका रुपमा अगाड बढेको देख्दा अत्यन्तै खुसी लागेको उनले बताए । करिब २६ हेक्टर क्षेत्रफलमा फैलिएको वनमध्ये आठ हेक्टर वन क्षेत्रलाई पार्कका रुपमा विकास गर्ने गरी छुटयाइएको छ ।

वन्यजन्तु बिरामी परेमा उपचारका लागि दुई वटा ट्रस्ट बनाइएको छ । सो ट्रस्टमा अहिले भने ठूलो सङ्ख्यामा जनावर नभएकाले र संरचना निर्माणको प्रक्रियामा रहेकाले वनभोजस्थलका रुपमा प्रयोग गरिएको छ ।

कार्यालय भवन निर्माण, पर्यटक लक्षित वनभित्र पैदलमार्ग, काठको पुल निर्माण, विभिन्न जातका बिरुवा रोपन, रुख रङ्गरोगन, व्यवस्थित बारबन्देज, झाँडी सरससफाइलगायत काम भएका छन् भने खानेपानी, विद्युत्को सुविधा रहेको ज्याग्दी सामुदायिक वन समूहका अध्यक्ष ओमप्रकाश बस्यालले बताए । उनका अनुसार वनभोजस्थल छुट्टै स्थानमा राख्ने योजना छ ।

‘अहिलेलाई स्थानीय सरकारको सहयोगमा पर्यटन विकासका काम थालनी भएको छ, यसको गुरुयोजनाअनुसार पूर्वाधार विकासमा ठूलो रकम लाग्ने भएकाले प्रदेश र सङ्घ सरकारमार्फत बजेट माग गरेर काम गर्ने प्रक्रियामा छौँ, बृहत् विकासका लागि जिल्ला वन कार्यालय पाल्पासँग समन्वयका प्रक्रिया चलिरहेको छ’, अध्यक्ष बस्यालले भने ।

कालीगण्डकीको किनारमा पैदलमार्ग निर्माण गरी ज्याग्दी वन, गौशाला र रामघाट जोड्ने योजना रहेको छ । पहिलो चरणमा गौशालादेखि ज्याग्दी वनमा पैदलमार्गको ट्र्याक खोल्ने नगर सरकारको योजना छ ।

वन समूहमा दुई सय २० उपभोक्ता आबद्ध छन् । यस वन क्षेत्रमा रहेका घाँस, दाउरा उपभोक्ताले उपभोग गर्दै आइरहेका छन् । काठपात भने सहुलियत मूल्यमा उपभोक्ताले घरायसी प्रयोजनका लागि उपभोग गरिरहेका छन् । दैविक प्रकोप, मृत्यु संस्कारका लागि वनले काठपात उपलब्ध गराउँदै आएको छ । यहाँ खरायो, स्याल, वनकुखुरा, कालिजलगायतका विभिन्न जनावर तथा चराचुरुङ्गीको बासस्थान छ । उपभोक्ताले यसभन्दाअघि सामान्य घाँस, दाउरा, स्याउलाका लागि मात्रै प्रयोग गरेको वनलाई अहिले पर्यटन विकास गर्दै जाँदा उत्साहित छन् ।

वन समूहले २० वर्षे गुरुयोजना बनाएर पर्यटन पूर्वाधार विकासका काममा जोड दिएको छ । गुरुयोजनाअनुसार यहाँ तयार पारिने संरचना निर्माणमा करिब रु साढे चार करोड रकम लाग्ने अनुमान छ । यहाँ पर्यटन विकासका काम हुँदै गएपछि वनभोज जाने, जन्मदिन, विभिन्न आमा समूह, महिला समूहलगायतका विविध कार्यक्रम हुने गरेको उपभोक्ता समिति सदस्य यशोदा पङ्गेनीले बताए । आन्तरिक पर्यटकले वनमा चहलपहल बढ्दो छ ।

ज्याग्दी सामुदायिक वन क्षेत्रभित्र निर्माण हुँदै गरेको पार्कले रामपुरको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने र यसको पूर्वाधार विकासमा नगरपालिका तथा वडा कार्यालयबाट आवश्यकताअनुसार क्रमिकरुपमा बजेट उपलब्ध भइरहने रामपुर–६ का वडाध्यक्ष दीवकार देवकाटोले बताए ।

तीन वर्षदेखि यहाँ पर्यटन विस्तारका काम अगाडि बढेका हुन् । यस आर्थिक वर्षमा रामपुर नगरपालिकाबाट स्तरोन्नतिका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । सो बजेटबाट देखिने खालका संरचना तयार पार्ने समितिले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा रामपुर नगरपालिकाले रु तीन लाख, आव ०७८/०७९ मा रु १५ लाख रकम विनियोजन गरेको थियो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत बेलाबेलामा वडा कार्यालयको सहयोगमा सरसफाइका कार्यक्रम चलिरहेको वडा सचिव वासुदेव ढकाल बताउछन् ।

प्रतिक्रिया दिनुहोस्