Logo
Logo

नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द


5.8k
Shares

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको सेवा अनिश्चित कालका लागि बन्द गरिएको छ ।

वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार वडा सदस्यले शुक्रबारदेखि वडाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन् ।

फरक दलले जितकै कारण वडालाई योजना नदिने, सम्पन्न भइसकेका योजनाको भुक्तानी रोक्का गर्ने, वडा कार्यालयले गरेका सम्पूर्ण कार्यहरुमा अवरोध गर्ने र दुःख दिने, कर्मचारी हेरफेर गरेकाले वडाको औचित्यमाथि प्रश्न उठेकाले सेवा बन्द गर्नुपरेको वडाध्यक्ष चौहानले बताए ।

गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा गठबन्धनका वावजुद दोर्पाचिउरीडाँडामा चौहानसहित पाँच जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका हुन् । नगरपालिकामा गठबन्धनबाट कांग्रेसका तीर्थराज भट्टराई मेयर र माओवादी केन्द्रका बिसन राई उपमेयरमा बिजयी भए । मेयर भट्टराई र उपमेयर राईले अभिभावकको भूमीका निर्वाह गर्नुपर्नेमा दलगत र समुहगत रुपमा वडालाई पक्षपातपूर्ण व्यवहार गर्नु दुःखद र संघीयता बिरोधी कार्य भएको चौहानले बताए ।

मेयर र उपमेयरले लिखितरुपमा वडामा हस्तक्षेप नगर्ने प्रतिवद्धता नजनाएसम्मका लागि वडा कार्यालयबाट प्रवाह हुने सेवा अनिश्चितकालका लागि बन्द गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्