Logo
Logo

११ वर्षमा पनि बनेन कान्द्रा पुल



कैलाली । भजनीका स्थानीयले कान्द्रा नदीको सास्तीबाट छुटकारा पाउन सकेका छैनन् । यसले सयौँको ज्यान लिएको छ ।

हजारौँलाई विस्थापित बनायो । हजारौं बिघा खेतीयोग्य जमिन नष्ट गर्याे। नदीमा २०६८ सालमा पक्की पुल बनेपछि दुःखका दिन बिस्तारै जाने आशामा बसेका नागरिक निरास छन् । दशक बित्दा पनि पुल बन्न सकेको छैन ।

हुलाकी राजमार्गअन्तर्गतको पुल निर्माण सम्पन्न भए भजनी मात्रै होइन राजमार्गबाट यात्रा गर्नेलाई समेत सहज हुने थियो । ‘पुलको शिलान्यास हुँदा भजनीवासीको खुसीको सीमा थिएन । सबैका आँखामा खुसीको आँसु थियो । आज त्यहीँ आँसु दुःख परिणत भएर बसेको छ,’ भजनी–३ का सुदर्शन चौधरीले भने ।

हिउँदमा कम्पनीले निर्माण सामग्री पुलको निर्माणस्थलमा पुर्याउने गरेको जनाउँदै उनले जेठ लागेसँगै सबै सामान बेचेर ठेकेदार सम्पर्कबिहीन बन्ने गरेको बताए । पुल निर्माणको थालनी भएपछि मात्रै देशमा ३ निर्वाचन भइसकेका छन् । निर्वाचनमा कान्द्राको पुल सम्पन्न गर्ने ‘एजेन्डा’ सबै राजनीतिक दलबाट चुनाव लड्ने उम्मेदवारले प्राथमिकतामा राख्ने गरेका छन् ।

यसलाई प्राथमिकतामा राखेका उम्मेदवार चुनाव जीतेसँगै बिर्सने गरेको स्थानीय कैलाश चौधरीले सुनाए । भजनी नगरपालिकाले निर्माण कम्पनीले यस वर्ष पनि पुल निर्माण नभए आफ्नै स्रोतबाट बाँकी काम सम्पन्न गरी आवागमनलाई सहज बनाउने तयारीसमेत थालेको छ ।

नगरपालिकाले पुलको बाँकी कामका लागि हुन आउने खर्चको लागत अनुमानसमेत तयार पारेको मेयर केवल चौधरीले जानकारी दिए । संघीय मन्त्रालयल पुसभित्र सम्पन्न गर्ने आश्वासन पाएको उनी बताउँछन् । ।

प्रतिक्रिया दिनुहोस्