
काठमाडौं । प्रदेश १ सरकारले जिल्ला अस्पतालमा काम गर्ने विशेषज्ञ चिकित्सकहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।
पहाडी जिल्लामा चिकित्सक जान नमान्ने र त्यहाँका नागरिकले सेवा नपाउने अवस्थाको अन्त्य गर्न सरकारले यस्तो योजना ल्याएको हो । ११ वटा जिल्ला अस्पतालमा काम गर्ने ८ देखि ११औं तहका विशेषज्ञ चिकित्सकलाई १ लाख ५० हजारसम्म प्रोत्साहन भत्ता दिने भएकोदहो ।
यसका लागि प्रदेश सरकारले ‘विज्ञेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ बनाएको छ । स्वास्थ्य सेवालाई गुणस्तरीय, प्रभावकारी एवं उपलब्धिमूलक बनाउन विशेषज्ञ चिकित्सकको मनोबल बढाइ सेवा प्रवाहमा थप जिम्मेवारीका साथ विशिष्ट चिकित्सकीय सेवा प्रदान गर्न प्रोत्साहन भत्ता उपलब्ध गराउन लागिएको कार्यविधिमा उल्लेख छ ।
संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्ला अस्पतालमा काम गर्ने चिकित्सकले समान प्रोत्साहन भत्ता पाउने छन् । कार्यविधि अनुसार ११औं तहका चिकित्सकलाई मासिक अधिकतम १ लाख ५० हजार, ९ र १० तहको चिकित्सकलाई अधिकतम १ लाख ३५ हजार र ८औं तहका चिकित्सकलाई अधिकतम १ लाख २० हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराइने छ ।
धनकुटा, उदयपुर र इलाम जिल्ला अस्पतालमा खटिने ११औं तहका चिकित्सकलाई ७५ हजार, १० र ९औं तहका चिकित्सकलाई ६८ हजार र ८औं तहको चिकित्सकलाई ६० हजार रुपैयाँ मासिक प्रोत्साहन भत्ता उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ । छात्रवृत्ति करार तथा प्रदेश करारका चिकित्सकले पनि प्रोत्साहन भत्ता पाउने छन् ।
संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्ला अस्पतालहरुमा खटिने प्रदेश र छात्रवृत्ति करारका ११औं तहका चिकित्सकले मासिक ७५ हजार, ९ र १०औं तहका चिकित्सकले ६८ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने छन् ।
धनकुटा, उदयपुर र इलाममा खटिने करारका ११औं तहका चिकित्सकले ३८ हजार, ९ र १०औं तहका चिकित्सकले ३४ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने कार्यविधिमा उल्लेख छ ।
सुनसरी, मोरङ र झापा जिल्लामा रहेको प्रदेश सरकार मातहतका अस्पतालमा भने प्रोत्साहन भत्ता उपलब्ध नगराइने कार्यविधिमा उल्लेख छ ।











