Logo
Logo

खुम्बुको विकासमा सधैँ लागिपर्छु : मन्त्री चौधरी


567
Shares

सोलुखुम्बु । मन्त्री आउने खबरले सगरमाथाको काखमा अवस्थित पाङ्बोचे बजार तातेको थियो । सोमबार बिहानैदेखि चहलपहल थप बढेको थियो ।

प्रदेश सांसद, जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी उपस्थित भइसकेका थिए । स्थानीयमा खुसियाली छाएको थियो । यहाँ धेरै पछि मन्त्रीको अगमन हुँदै थियो । स्थानीयवासी सहरी विकासमन्त्री मेटमणि चौधरीको स्वागतमा ठुलो संख्यामा उपस्थित भएका थिए । मौसम पनि उसैगरि खुलेको थियो ।

बिहान १० बजे मन्त्री आइपुगे । सबैले स्वागत गरे । । मन्त्री चौधरीले खुम्बुपासाङल्हामु–४,पाङ्बोचेमा निर्मित खुम्जुङ स्वास्थ्य चोकीको उद्घाटन गरे । सगरमाथाको काखमा आएर कार्यक्रममा सहभागि हुन पाउँदा खुसी लागेको उनको भनाइ थियो । ‘खुम्बुबासीको माया म भुल्ने छैन ।

यहाँका जनताले बोलाए पटकपटक आउन तयार छु । यति सुन्दर ठाउँमा पर्यटक भित्र्याउन म पनि लागिपर्ने छु,’ मन्त्री चौधरीले भने । विकासको काममा दलभन्दा माथि उठ्नुपर्ने धारणा उनको थियो । ‘भोलि पदमा रहुँला वा नरहुँला तर खुम्बुको विकासमा सधैँ पहल गर्ने छु,’ उनले भने, ‘यहाँका समस्या समाधान गर्न पहल गर्ने छु ।’

३ करोड ६९ लाख लागतमा स्वास्थ्य चौकी निर्माण भएको हो । सिएम कन्स्ट्रक्सनले १८ महिनामा सम्पन गर्ने गरी सम्झौता गरेपनि ११ महिनामै गरेको भन्दै मन्त्री चौधरीले ठेकेदार कम्पनीको प्रशंसा समेत गरे । १२ हजार ८ सय ७५ फिटको उचाइमा निर्मित सो भवन सम्भवतः नेपालकै सबैभन्दा उचाइमा निर्मित सरकारी भवन हो ।

मन्त्री चौधरीले ७ सय वर्ष इतिहास भएको पाङ्बोचे गुम्बाको पुननिर्माणका लागि ७ करोड विनियोजन गर्ने घोषणा गरे । त्यसैगरि ङिमदोर्जे पर्यटन सडकको स्तरोन्नतीका लागि २० करोड, गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि १२ करोड विनियोजना गर्ने बताए ।

यस्तै हिमाली सहर लुक्लालगायत अन्य ३ सहरको विकास विस्तार गर्न र एकीकृत बस्ती विकासका लागि ८ करोड विनियोजन गर्ने प्रतिवद्धता जनाए । प्रदेश सांसद बुद्धीकुमार राजभण्डारीले खुम्बुको विकासमा विशेष ध्यान दिन मन्त्री चौधरीको ध्यानाकर्षण गराए ।

गाउँपालिका अध्यक्ष मिङ्माछिरि शेर्पाले पालिकाको विकासमा सहरी विकास मन्त्रालयले विगतदेखि नै सहयोग गर्दै आएको बताए । ङिमदोर्जे पर्यटन सडकको स्तरोन्नती गर्न, सांस्कृतिक सम्पदाको पुननिर्माण गर्न र प्रशासनिक भवन निर्माणका लागि चाँडै बजेट विनियाेजन हुने आशा राखे ।

प्रतिक्रिया दिनुहोस्