Logo
Logo

बालअधिकार सुनिश्चित गरेरै छाड्छाैं : मुख्यमन्त्री शाही



सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानमा उल्लेखित बालअधिकार कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

समाजिक विकास मन्त्रालयले राष्ट्रिय बालअधिकार दिवसको पूर्वसन्ध्यामा वीरेन्द्रनगरमा आयोजित बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा मुख्यमन्त्री शाहीले सबै पक्षले हातेमालो गरे मात्र कानुन कार्यान्वयनमा सहजता हुने बताए । मुख्यमन्त्री शाहीले बलात्कार जस्तो जघन्य अपराध नेपालमा ठूलो समस्या बनेकोतर्फ प्रदेश सरकार गम्भीर रहेको उनकाे भनाइ थियाे ।

यस्ता अपराध हुन नदिन सबै मिलेर हातेमालो गर्नुपर्नेमा शाहीले जोड दिए । ‘म अस्ती जुम्लामा जाँदा चार वर्षीया बालिका बलात्कृत भएको घटना थाहा पाए । यस्ता घटना न्यूनीकरणका लागि हामी सबै एक भएर अगाडि बढौँ,’ उनले भने, ‘छुवाछूत विरुद्धको कानुन त २०२० सालमै बनिसकेको थियो नी, तर छुवाछूत त अहिलेसम्म नै कायम छ, यसो हुनु भनेको चेतनाको कमीले हो । त्यसैले हामी सबैले हातेमालो गरेर बालअधिकार सुनिश्चित गर्न सक्छौँ ।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार बालबालिकाको शिक्षा, स्वास्थ्य र अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याए । कार्यक्रममा बालबालिकाले मुख्यमन्त्री शाहीलाई बालअधिकारका कुरा कागजमा मात्रै नभएर कार्यान्वयन पनि जोड दिन माग गर्दै प्रश्न सोधका थिए ।

उनीहरुले बालबालिका अहिले पनि श्रममा परिरहेको, बालिका बलात्कार बढ्दै गएकोतर्फ सरकारले किन ध्यान दिन सकेन ? भन्दै मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए । जनमावि सुर्खेतमा १२ पढ्दै गरेकी आसिका खत्रीले बालिका बलात्कृत भएपछि पैसामा न्याय साटिने प्रवृतिको अन्त्य गर्न सरकारको ध्यान नपुगेको बताइन् ।

‘बलात्कृत बालिकालाई न्याय त दिइएला, उसको जीवन नष्ट भइसकेको हुन्छ, तर न्याय जग्गा र पैसामा साटेर न्याय दिलाइन्छ । यसले बालअधिकार हनन गर्दैन र ?’ उनको प्रश्न थियो । सुर्खेतकै कृति काफ्लेले कर्णालीमा बालविवाहको अवस्था गम्भीर रहेको बताइन् ।

‘हाम्रो ठाउँमा धेरै बालविवाह भइरहेका छन् । त्यो मुख्यमन्त्रीलाई पनि थाहा छ, बालविवाह विरुद्धका कानुनहरु पनि बनेका छन् । मुख्यमन्त्रीले ति कानुन सक्रियतापूर्वक किन कार्यान्वयन गर्न सक्नुभएको छैन ?’ उनले सोधिन् ।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद कार्पी, सुर्खेतका प्रजिअ खगेन्द्रप्रसाद रिजाल र वीरेन्द्रनगरका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी वक्ताका रुपमा थिए ।

प्रतिक्रिया दिनुहोस्