
१. महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग पहिलो चरणको बयान लिने काम सम्पन्न गर्यो, बयान लिने क्रममा पाँचाैँ दिन चोलेन्द्रले समितिले सोधेको ४३ प्रश्नको जवाफ दिए, प्रश्नहरू सोध्ने र जवाफ दिने पहिलो चरणको क्रम सकिए पनि पूरक प्रश्न सोध्ने र बयानका क्रममा आएका व्यक्तिहरूको विषयमा थप छलफल गरेर मात्र प्रतिवेदन बनाइने ।
२. विपद्मा परेको पाकिस्तानलाई नेपाल सरकारद्वारा मानवीय सहायता प्रदान, राहत सामग्री लिएर पाकिस्तान गएको टोलीले कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा पाकिस्तानको सिन्ध प्रान्तका समाज कल्याणमन्त्री सजिद जोखियोलाई सहायता सामग्री हस्तान्तरण गर्यो, अत्यावश्यक औषधि, खाद्यान्न, लत्ताकपडालगायत २२ टनभन्दा बढी सामग्री हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयको भनाइ ।
३. निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइ प्रक्रिया सुरु गर्यो, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न थालियो, निर्वाचनको मिति नजिएकाले निर्वाचन तयारीसम्बन्धी सम्पूर्ण काम अघि बढाइएको आयोगको भनाइ ।
४. प्रधानमन्त्री शेरबहादुर देउवा र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता, नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेर एक चीन नीतिप्रति प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको प्रतिक्रिया, दुई देशबीच ६ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रुपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको अध्यक्ष ली चान्शुको भनाइ ।
५. नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता, नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न चिनियाँ पक्षसँग प्रचण्डको आग्रह, रणनीतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकता क्षेत्रका ठूला परियोजनामा चिनले आवश्यक लगानी गर्नुपर्नेमा जोड ।
६. मुलुकको समृद्धिका लागि आफ्नो पार्टीले निर्वाचन जित्नुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जिकिर, देश र जनताका साथै विकासका र समृद्धिका लागि एमालेले निर्वाचन जित्नुको विकल्प नरहेको भनाइ, लोकतन्त्रलाई सही गन्तव्यमा डोर्याउन र संविधान कार्यान्वयनका लागि एमालेको दरिलो उपस्थिति हुनुपर्नेमा जोड ।
७. सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीश नीता गौतम दीक्षित, विनोद शर्मा र डा. दिननाथ पराजुलीको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइँदै, सर्वसाधारणलाई जानकारी दिई १० दिने सूचना प्रकाशित गरी गुनासो र उजुरी माग गर्ने संसदीय सुनुवाइ समितिको निर्णय, संसदीय सुनुवाइ भएपछि मात्र तीन न्यायाधीशको नियुक्ति निश्चित हुने ।
८. लगातारको ओरालो यात्रामा ब्रेक लगाउँदै नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ३० अङ्कले उकालो लागेर १ हजार ९ सय ३४ दशमलव ०४ अङ्क कायम, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ८३ अङ्ककले उकालो लाग्यो ।
९. नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा त्रिभुवन आर्मी क्लब विजयी, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गर्दै जित निकाल्न सफल, आर्मीले चार खेलबाट ६ अंक जोड्दा लुम्बिनीले भने पाँच खेलबाट ३ अंक मात्र जोड्यो ।
१०. पाकिस्तानमा पछिल्लो ६ महिनामा बाल हिंसासम्बन्धी २२ सय भन्दा धेरै घटना दर्ता, बाल हिंसा केटा तथा केटी दुवै लिङ्गमाथि भएको प्रतिवेदन सार्वजनिक, बालकहरूका विरुद्धमा भएका घटनाहरूको तुलनामा बालिकाहरूमाथि भएका घटना धेरै ।