काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले वर्तमान सरकार गुठीको समस्या समाधान गर्नका लागि उदासीन भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गुठी समस्या समाधान गर्न सरकार असफल भएको आरोप लगाएका हुन् । उनले गुठी समस्या समाधानका लागि के कस्तो पहल गर्दैछ भनेर सरकारसँग जवाफ माग गरे ।

ओली सरकारको पालामा गुठी सम्बन्धी विधेयक छलफलमा ल्याएको बताउँदै उनले भने, ‘गुठीको समस्या समाधान गर्न सरकार उदासीन छ । हिजो गुठीको समस्या समाधान गर्न ल्याएको विधेयक भड्काउन माइतीघर मण्डलाको जुलुसमा सामेल हुनेहरू आज सरकारमा हुनुहुन्छ । उहाँहरू के गर्दै हुनुहुन्छ, जवाफ चाहियो ।’
उनले प्रमुख प्रतिपक्षी दलका सांसदहरूले सिफारिस गरेको विकास योजनालाई सरकारले रोक्ने र बजेट नदिने काम गरेको समेत आरोप लगाउँदै वर्तमान सरकार विकास विरोधी भएको बताए ।
उनले भने, ‘अघिल्लो सरकारले रणनीतिक महत्वका सडकहरू १६५ निर्वाचन क्षेत्रमा सुरु गरेको थियो । ती अहिले सुषुप्त अवस्था वा रोकिएका छन् । प्रतिपक्षी दलले सिफारिस गरेका स्थानमा बजेट नदिने र काम हुन नदिने सरकारी षडयन्त्र भइरहेको छ ।’












