काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले बयानको क्रममा नाम पोलेका चार पूर्वप्रधानन्यायाधीश महाभियोग सिफारिस समितिले बोलाएको बैठकमा नजाने भएका छन् ।
आपसी छलफल गरेर पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणाअनुसार समितिको बैठकमा सहभागी हुन नसक्ने उनीहरुले निर्णय गरेका हुन् ।

समितिले आज बस्ने बैठकमा पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुलाई बयानका लागि बोलाएको छ । तर, उनीहरुले आजै बयानमा नजाने निर्णय गरेका हुन् । एक पूर्वन्यायाधीशले आफूहरुले बैठकमा नआउने समितिलाई जानकारी गराइसकेको बताए । उनले भने, ‘समितिले बोलाएपछि हामी जानसक्ने अवस्था रहेन । त्यसैले नजाने भनेर खबर पठाएका छौं ।’
निलम्बित प्रधानन्यायाधीश जबराले महाभियोगमााथिको बयानका क्रममा चार पूर्वप्रधानन्यायाधीशहरुमाथि अवकाशपछि पनि अदालतमा आफ्नो भाग खोजेको लगायतका आरोप लगाएका थिए ।
मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधिसभा विघटनदेखि जबराविरुद्ध सर्वोच्च अदालतमा आन्दोलन हुँदा विज्ञप्ति निकालेर आफ्ना धारणा राखेका थिए । त्यसकै प्रतिशोध साँध्दै जबराले उनीहरुमाथि यस्तो आरोप लगाएका थिए ।












