Logo
Logo

कचनकवलमा क्यान्सर रोगीको संख्या बढ्दो



झापा । कचनकवल गाउँपालिकामा क्यान्सर रोगीको संख्या दोब्बरले बढेको छ ।

पछिल्लो १ वर्षमा २८ जना क्यान्सर रोगीले उपचार सहुलियतका लागि सिफारिस लिएको स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिए । अघिल्लो वर्ष १२ क्यान्सर रोगीले उपचार सहुलियतका लागि सिफारिस लिएका थिए ।

अस्वस्थ्य खानपान र जीवनशैली नै क्यान्सरको मुख्य कुरा रहेको स्वास्थ्य शाखा प्रमुख यादव बताउँछन् । कचनकवल भारतसँग सीमा जोडिएको गाउँपालिका हो । यहाँका मानिस स–साना खाद्य सामग्रीसमेत लिन सीमावर्ती भारतीय बजार जाने गर्दछन् । सीमामा क्वारेन्टाइन नहुँदा बिना परीक्षण खाद्य सामग्री भित्रिने गरेको छ ।

बिर्तामोडस्थित कृषथोक बजारमा भारतबाट आयात हुने सागसब्जीमा विषादीको मात्रा धेरै पाइएपछि आयातमा कडाइ गरिएको थियो । तर यहाँ सागसब्जीदेखि अन्य घरायसी उपभोग्य वस्तु बिनापरीक्षण सोझै भित्रिने गरेको छ । त्यस्तै गाउँपालिकाबाट ११ मिर्गौला रोगी र सात मुटुसम्बन्धी रोगीले उपचार सहुलित र डायलायसिसका लागि सिफारिस लिएका छन् ।

क्यान्सर रोगीलाई उपचार सहुलितका लागि भरतपुर क्यान्सर अस्पताल, भक्तपुर, धरान, पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडलगायतका अस्पतालमा सिफारिस दिने गरेको छ । उक्त सिफारिसका आधारमा बिरामीले १ लाख रुपैयाँ बराबरको उपचारमा सहुलियत पाउने गरेका छन् ।

गाउँपालिकाले समेत क्यान्सर रोगीलाई उपचारका लागि १० हजारदेखि २५ हजारसम्म आर्थिक सहयोग गर्ने गरेको पालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । ‘उपचारमा सहयोग मिलोस् भनेर यातायात खर्चका रूपमा केही रकम सहयोग गर्ने गरेका छौं,’ उनले भने ।

त्यस्तै गाउँपालिकाले सुत्केरी महिलालाई पोषण खर्चवापत घरमै पुगेर ३ हजार र मृत्यु संस्कारमा ५ हजार गाउँपालिकावासीलाई दिने गरेको छ । संघीय सरकारको लगानीमा गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणाधीन छ ।

एकवटा प्राथमिक स्वास्थ्य केन्द्र, नौवटा स्वास्थ्यचौकी र दुई आधारभूत स्वास्थ्य केन्द्रबाट गाउँपालिकावासीले स्वास्थ्य सेवा लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्