काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डेले अग्निपथबारे नेपालले सयमै निर्णय नगरे तत्काल फिर्ता लिने बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सेनाध्यक्ष पाण्डेले बुधबार एक कार्यक्रममा बोल्दै यस्तो चेतावनी दिएका हुन् ।

भारतीय पत्रिका ‘टाइम्स अफ इण्डिया’ले उल्लेख गरेअनुसार नेपालले समयमा अग्निपथबारे जवाफ नदिए गोर्खा सैनिकको लागि छुट्याइएको कोटा अन्त्य गर्ने पाण्डेले बताए ।
भारतले अग्निपथ योजनामा नेपाली भर्नामा रोक लगाउने निर्णयले दुई मुलुकको सम्बन्धमा थप तनाव उत्पन्न हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतले चार वर्षको लागि विना कुनै पेन्सन र अवकाशपछिको सेवासुविधा विना नै घर फर्काउने गरी अग्निपथको योजना अघि सारेको हो । यसबारे नेपालले अहिलेसम्म कुनै निर्णय गरिसेको छैन ।
सेनाले दुई ब्याचमा गरेर समग्रमा ४० हजार अग्निवीर सैनिक भर्ना गर्ने योजना ल्याएको छ । जसको लागि गत डिसेम्बरमा २५ हजार र फेबु्रअरीमा १५ हजारको तालिम सुरु भएको थियो ।
अग्निपथभन्दा पहिला पनि नेपालीलाई भारतीय सेनामा दिइँदै आएको कोटा पनि चार हजारबाट १५ सयमा झारिएको थियो । अग्निपथमा नेपालीको कोटा घटाइएको छ ।
सेनाध्यक्ष पाण्डेले आगामी निर्वाचनअघि नेपालले यसबारे कुनै निर्णय लिने सम्भावना कम रहेको भन्दै उक्त समयसम्म निर्णय नगरे नेपालीले योजनामा भाग लिन नपाउने बताएका छन् ।