Logo
Logo

सुत्केरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर



दाङ । रोल्पा नगरपालिका–५ का २३ वर्षीया सीता नेपाली प्रसूति सेवा लिनका लागि चार दिनअघि स्थानीय अस्पतालमा भर्ना भए । चिकित्सकले उनको अवस्था केही जटिल रहेको र शल्यक्रिया गर्नुेपर्ने अवस्था आउनसक्ने भन्दै घोराहीस्थितल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जान सल्लाह दिए ।

मङ्गलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति वार्डमा भेटेका नेपालीले भने, ‘सुरुमा घर नजिकैको अस्पतालले दाङको घोराही आउन किन भनेको होला भन्ने चिन्ता लाग्यो । पछि थाहा भयो प्रतिष्ठानले अस्पतालमा प्रसूति सेवा लिन आउनेका लागि सबै सेवा निःशुल्क गरेको रहेछ ।’

आमा र नवजात शिशुको स्वास्थ्यमा केही समस्या आए अति सघन उपचार कक्ष र सघन उपचार कक्षमा राखेर उपचार गर्ने व्यवस्था गरेकाले धेरै सजिलो भएको नेपालीले सुनाए । उनको शल्यक्रिया गरी सुत्केरी गराएको अस्पताल प्रशासनले जनाएको छ । छोरी जन्माएर प्रसूति वार्डमा रहेका नेपालीले खुसी हुँदै भने, ‘आर्थिक अवस्था कमजोर रहेकालाई अस्पतालबाट ठूलो सहयोग प्राप्त भएको छ ।’

यही सेवा लिन बुटवल र काठमाडौँका अस्पताल जानुपरेमा ठूलो रकम खर्च हुने थियो । ‘श्रीमान्ले मजदुरी गरेर कमाएको पैसाले पुग्ने नै थिएन’, नेपालीले भने ।

तुलसीपुर उपमहानगरपालिका–१८ दूधरासकी २८ वर्षीया सुगिनी चौधरी पनि गत मङ्गबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति सेवा लिनका लागि भर्ना भए । दोस्रो पटक गर्भवती भएका उनले पहिलो बच्चा बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा जन्माएको बताए । रोल्पा नगरपालिका–७ का २७ वर्षीया करिस्मा झाँक्री पनि प्रसूति सेवा लिनका लागि सोही अस्पतालमा आए । रोल्पा अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पुगेका झाँक्रीलाई चिकित्सकले जटिल अवस्था रहेकाले प्रतिष्ठानमा जान सल्लाह दिएका थिए ।

सीता र सगुनी मात्र होइन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रसूति सेवा लिन आउनेको सङ्ख्या दिनहुँ बढिरहेको छ । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार गत वैशाखदेखि भदौ ३० गतेसम्म एक हजार तीन सय बढीले प्रसूति सेवा लिएका छन् । सो अवधिमा आठ सय ८० जनाले सामान्य, तीन सय ७९ जनाले शल्यक्रिया र एक सय २० जनाले जटिल प्रकृतिको प्रसूति सेवा लिएको उनले बताए ।

शिक्षाध्यक्ष तथा प्रसूति रोग विशेषज्ञ डा वसन्त लामिछानेले अहिले प्रतिष्ठानमा प्रसूति सेवा लिनेको सङ्ख्या बढिरहेको जानकारी दिए । दैनिक १५ देखि १८ जनासम्म प्रसूति सेवा लिनका लागि आउने गरेमा चारदेखि पाँच जनाको शल्यक्रिया गरिन्छ । प्रसूति रोग विशेषज्ञ डा. लामिछानेले सो सेवा लिन आउने बढेपछि ठाउँ र जनशक्तिको व्यवस्थापन गरी सेवा प्रवाह गरिरहेको बताए । प्रसूति सेवा लिन आउनेमध्ये केही १६ देखि १७ वर्ष उमेर समूहका पनि छन् ।

प्रतिक्रिया दिनुहोस्