Logo
साहित्य

रापिलो ज्वाला दन्किरहेको ‘अग्नि’


डी.आर


कुनै पनि व्यक्ति, संघसंस्था वा कृतिले पुरस्कार, मानसम्मान पाउनु भनेको उसको जिम्मेवारी थपिनु हो । पुरस्कृत सिर्जनाभित्र के छ र आम पाठकको माध्यमबाट समाजलाई के दिन खोजेको छ ? चासो लाग्छ र पढ्ने गरिन्छ ।

०७८ सालको मदन पुरस्कार विजेता अग्निमा के त्यस्तो चिज ? सरसर्ती पढाइ र बुझाइबाट जे बुझेँ, त्यो पस्किने कोसिश गरेको छु । अग्नि महाकाव्यलाई पार लगाउन लेखकले म कवि हुँ, बाहुन हुँ, पुरेत हुँ, पुरुष हुँ, पहाडिया हुँ, हिन्दु हुँ, आस्तिक हुँ, म मान्छे हुँ भन्दै एउटा कामीको आरनबाट उठान गरेको छ कथालाई ।

मदन पुरस्कारबाट सम्मानित महाकाव्य ‘अग्नि’ पढ्दै जाँदा वास्तवमै रापिलो ज्वाला भएर दन्किरहेको आभास हुन्छ । जसले खिया लागेको राज्यसत्तालाई पगाल्दै सफा गर्ने कोसिस गरेको छ ।

एकसय साठी धार्नीको फलामलाई नौ महिनासम्म छ जनाले निरन्तर पिट्दा त्यो फलामै रह्यो कि इस्पात ? लेखकले त्यसबाट कुनै ठुला–ठुला सामाग्री वा हातहतियार नबनाएर छरितो जेठी तरबार बनाएर कथाको कम्मरमा भिराइदिएको रहेछ ।

कथा जताजता पुग्छ, त्यहाँ धारिलो तरबारले विभेदकारी जंगललाई फाँड्दै समानताको छाप्रो हाल्ने कोसिस गरेको देखिन्छ । कहिले आरन त कहिले ठुले कामी र छेवाङी त कहिले गाउँ र दरबार पु¥याउने अग्निले पाठकलाई पनि सँगै डो¥याउन छाड्दैन ।

आरनलाई आविष्कार केन्द्रको मुल थलो मानेर ठुले कामीले छ महिना लाएर एकजोर छरितो तरबार बनाएका थिए । त्यत्रो एकसय साठी धार्नीको फलामबाट सानो लुरे तरबार बनाएकामा राजालाई चित्त नबुझ्नु स्वाविकै थियो । त्यसैले त्यो एउटा लुरे तरबार फालिदिए ।

राजाको डरले कामी कता हराए कता । पछिबाट हात्तीसारमा ठुलो आगलागी भयो । विपतको बेला त्यो सानो तरबारले बढेमानको फलामे साङ्लोलाई मुला काटेझैँ चिरिप–चिरिप पार्दै आगलागीबाट तेह्र वटा हात्ती बचाए । त्यसपछि मात्र त्यो लुरे तरबारको शक्ति थाहा पायो राजाले ।

पहिला नबुझी एउटा तरबार फालेकोमा राजालाई पछुतो लाग्यो, तर त्यो बनाउने ठुले कामी बेपत्ता । अनेकौं प्रसंगहरू पार गरेपछि मात्र ठुलेको खोजी गर्न थालियो । राजाले सेना लाएर खोज्न पठाए तर कहीँकतै भेट्न सकेन ठुलेलाई । मलाई पनि बडो जिज्ञासा जाग्यो, अनि दरबारको सिपाहीसँगै पढ्दै र खोज्दै जाँदा पेज नम्बर दुई सयमा ठुले कामीको घर मात्र भेटाइयो । तर, त्यहाँ ठुले थिएन, केवल फुस्रो आरन मात्र ।

त्यही आरनको भुप्रोमा फलाम पगाल्दै कामीले ठट्टाई ठट्टाई बनाएको हतियार भिरेर सेनाले गाउँलेलाई केरकार र खोजतलास ग¥यो, तर कसैले ठुलेको बारेमा मुख खोलेन, बरु सिँगो गाउँ मर्न तयार, तर शासकलाई भेटी चढाउन तयार भएनन् ।

आखिर ठुले कामी पहिले नै आरनमा रगत छादेर तन्किसकेको थियो । गाउँमा मृत्युको शोक भन्दा पनि त्रास छायो । छोरा र कमिनीले दिल खोलेर रुन पनि सकेनन् शासकको डरले । त्यो बेला बाले भनेका कुराहरू छोराले सम्झे, ‘बरु आरनमै सेकिएर भोकै मर्नु तर कुनै हालतमा दरबारको आश नगर्नू ।’ कथाभित्रको विद्रोही चेतले आम पाठकलाई जिज्ञासा मात्र जगाउँदैन आफ्नो कब्जामा पारिरहने जालो छ अग्निभित्र ।

गाउँबाट सिपाहीहरू रित्तै फर्किए, ठुलेको सन्तान दरबार जान मानेन । नदीझैँ जीवन बगिरहे पनि राजाको मन आन्दोलित भइरहे । राजपाठ गरे, फूलपाती चढाए, होम लगाए तर जेठी तरबारमा उहीँ ठुलेको मुहार देख्न थाले ।

राजाले तरबारमा ठुलेको हंश होला भन्ठानेर गोरखाको राजाज्वाइँलाई त्यो शक्तिशाली तरबार उपहार दिने विचार गरे । त्यसपछि कथाले झन् रोचक मोड लिन्छ । एकातिर प्रेमपत्र, अर्कोतिर जेठी तरबार । आगो र पानी । युद्घ र प्रेम । मृत्यु र जीवन । करुणा र आक्रोश । महाराज र महारानी अनि ठुलेको कर्म र मर्मलाई बोकेर हिँडेको छ ।

जेठी तरबारलाई चोख्याएर गोरखकालीको खोपीमा राखियो । सेना दिवसमा हतियारहरू धुमधामसँग प्रर्दशन गरियो । कुन सक्कली, कुन नक्कली । विशाल सैनिक मञ्चले जेठी तरबार बनाउने ठुले कामीको सम्झनासम्म गरेन । पछिबाट लडाइँहरू भए ।

मकवानपुर र गोरखामा भएको जेठी तरबार कुन अवस्थामा कहाँ, कता छन् । हरायो कि कतै साटियो ? त्यो विरताको गौरव गुमनाम छ किन ? ठुले कामीको सालिक किन राखिन्न ? लेखकले बल्ल अब ठुले कामीको इतिहास खोज्न थालेको छ । कविजी रन्थनिएर कहिले कता पुग्छ त कहिले आरनमा ।

दन्किरहेको अग्नीको भुङ्रोले त्यै ठुले र जेठी तरबारको याद दिलाउँछ । छ्वाङीले सयौं प्रश्नको झटारो हान्छ । जेठी तरबार खै ? इतिहास लेख्ने ज्ञाता र अध्येताहरू खै ? अस्पृश्यको बिस्कुन सुकाएर साहित्य लेख्नेहरू खै ? युद्घ जित्ने अगुवा खै ? हतियारको आविष्कारक खै ? आशा, भरोसा, समवेदना खै ? यस्ता चोटिला र गम्भिर कुराहरूको समायोजनबाट निर्माण भएको महाकाव्यले कुप्रथालाई अग्निमा हालेर जलाउने काम गरेको छ ।

आरनमा पसिनाले भिजाउँदै साँध लगाएका ठुलेहरू भन्छन् । जेठी तरबार भनेको ज्योेति हो, सूर्य हो, नयाँ युग हो, विज्ञान हो, गणित हो, इतिहास हो, यो देशको माटो हो, देश बचाउने अग्र लडाकु हो, सिमानाको पहरेदार हो । दलित र गैरदलित भनाउँदाले फेर्ने स्वास अनि टेक्ने माटो कहिल्यै फरक हुन सक्दैन । तर पनि काम व्यवहारले अलग पारिएको पीडालाई मलमपट्टी लगाउने कोसिस गर्नु भएको छ ।

जातिय विभेदको परम्परालाई अग्निमा हालेर भस्म पार्दै कविले एक ठाउँमा भन्नुभएको छ ‘माटो नछोएको हातले सुनको कलम पाएपनि माटोको कथा लेख्न सक्दैन ।’ जेठी तरबार भनेको आरनभित्रको बिउ कोइला हो, जो देशलाई आवश्यकता पर्दा त्यहीँबाट अग्निको ज्वाला भएर निस्किने छ ।

कथाको अन्तिममा चन्द्र सूर्यको रङ, ठुले कामीको मान, जेठी तरबारको शान, छेवाङीको मन, यी सबैलाई राष्ट्रिय झण्डामा घोलेरे सबैको साझा बनाएको छ भने कविले ठुले कामीको पूर्णकदको सालिक बनाएर सम्मान गरेको छ ।

जातलाई होइन, सत्कर्म गर्ने हातलाई महत्व दिँदै अधिकार दिलाएको छ । फैलिरहेको दुर्गन्धित राज्यसत्ताको कथाभन्दा एउटा मान्छेको कथा लेखेर मदन पुरस्कारबाट पुरस्कृत भएका लेखक डा. नवराज लम्साललाई धेरै धेरै बधाई छ ।

(लेखक गीतकार तथा साहित्यकार हुन्)

प्रतिक्रिया दिनुहोस्