Logo
Logo

अघि बढ्नुको विकल्प रहेन



छत्तिस साल आइनै सकेको थियो । धैर्यपूर्वक समय र परिस्थितिलाई नियाल्दै थिएँ । ‘मजदुरको पक्षमा लाग्नु’ भन्नु र आफै मजदुर हुनु एउटै कुरा होइन भन्ने बुझ्न थालेकी थिएँ ।

नीलो लुगा लगाएर कारखानामै कामगर्नु र कोठे बैठकमा पलैंटी कसेर ‘हामीले आफूलाई सर्वहाराकरण गर्नुपर्छ’ भनेर भाषण गर्नु एउटै होइन रहेछ भन्ने प्रत्यक्ष बुझ्दै थिएँ । जीवनको अनुभव कर्म अनुसार थपिँदै थियो । विचार र व्यवहारको सिँढीमा साँच्चै पाइला उठाउँदै जाँदाका अनुभूति बटुल्दैथिएँ ।

एकदिन अचानक आठजना महिला मजदुरलाई बिना सूचना निष्काशन ग¥यो, नेबिको प्रशासनले । अनि त झनै बुझ्न थालें– मजदुरको व्यथा र साँचो अवस्था ।

बिहानै आठजना महिला मजदुरलाई बर्खास्त गरिएको सूचना कारखानाको गेटमा टाँसिएको थियो । बर्खास्त गरिएका ती मजदुर मसँगै कारखानामा भर्ना भएका थिए । केही कारण स्पष्ट थिएन । न त कुनै पूर्व सूचना नै थियो ।

त्यो अप्रत्याशित सूचना देखेपछि सबै अल्मलिए सुरूमा । निरीक्षकहरूले उनिहरूलाई भित्र पस्नै दिएनन् । उनीहरूलाई बाहिरैबाट फर्काएपछि अन्य मजदुर बाहिरैबाट– ‘यो अन्याय भयो !’ भन्दै कराउन थाले । भित्र पसिसकेका मजदुर पनि विस्तारै बाहिर निस्कन थाले ।

उनीहरूको पूनःवहाली हुनुपर्छ भन्ने आवाज थपियो । सुरूमा यो न्यायोचित आवाजै मात्र थियो । मालिकहरूले यो आवाजलाई सुन्नै चाहेनन्, बुझ्नै सकेनन् । मजदुरहरमा आएको जागरणको उनीहरूलाई हेक्का पनि भएन होला ।

मजदुरहरूको अवस्था, फरक–फरक स्वभाव, सद्गुण र दुर्गुण, सबलता तथा कमजोरी… आदि प्रत्यक्ष रूपमा देख्ने एउटा ठूलो मौका पनि थियो । म त चालै नपाई अग्निकुण्डजस्तो आन्दोलनमा होमिइसकेकी रहेछु । अगाडि बढ्नु बाहेक अरू कुनै विकल्प थिएन– पछि फर्किन मिल्ने ठाऊँ त काटिसकेकी रहेछु !

मजदुरहरू एकताबद्ध भएर बाहिरै बसे र मालिकहरूलाई पनि कारखानाभित्र पस्न दिएनन् । आफ्नै कारखानामा पस्न नपाएपछि मालिकहरू रिसाउँदै ताला लगाएर फर्के । मजदुरहरू भने घर फर्किनुको सट्टामा गेटकै वरिपरी धर्ना कसेर बसे ।

दिनभरी मात्र हैन, रात पर्न थालेपछि नजिकको बस्तिबाट गुन्द्री, राडी जे–जे छ त्यो ल्याएर राती पनि धर्ना जारी राखे । भदौ असोजको याम थियो– दशैँ पनि नजिक आउँदै थियो । पानी पर्न अझै छोडेको थिएन । पानीबाट बच्न पालहरू पनि टांगिनथाले ।

मजदुर न हो, अरूको निम्ति सुख सुविधाको निम्ति संसार बनाउनेहरू यतिबेला आफ्नै हक र न्यायको निम्ति गेटको दुबैतिर पाल टाँगेर, एकातिर महिला र अर्कोतिर पुरूषहरू बस्न थाले । साँझ प¥यो । रात गहिरिँदै गयो ।

माग पूरा नहुन्जेल रात होस् या दिन, पानी परोस् वा भदौरे घाम, त्यहीँ धर्ना दिएर बस्ने भन्ने निर्णय भयो । र यो निर्णय त्यसबेला देशकै निम्ति एउटा ऐतिहासिक निर्णय भैदियो ।

सहकर्मी मजदुरहरू मैदानमा उत्रिसकेपछि, त्यस्तै आन्दोलनका निम्ति मजदुर हुन पुगेकी म लुसुक्क घर फर्किने कुरा आएन । अहिले जस्तो मोबाइलको जमाना थिएन । नजिक घर भएकाहरू पालैपालो घर जाँदै खाना खाईवरी धर्नामा फर्केर आए । घर टाढा हुनेहरूले पनि केही न केही बन्दोबस्त गरे ।

दूधे बालक भएका आमाहरू र शारिरीक अवस्था कमजोर भएका मजदुरहरूलाई घर फर्कन आग्रह गरियो । बाँकी सबै त्यहीँ धर्नामै बसे । मेरो अवस्था अलि फरक नै थियो । न घर फर्किन मिल्थ्यो, न खबर गर्न नै ।

आमालाई खबरै नगरी रात काट्नु सजिलो थिएन । पहिले अरू गाउँहरूमा जाँदा कतै ‘शैक्षिक भ्रमण’ कतै के भनेर आमासँग भनेरै मात्र रात काट्ने गर्थें । त्यो रात मेरी आमालाई कति कठिन भयो होला– अविवाहित छोरी बिना सूचना गर नफर्कँदा !

मेरी आमालाई आफू मजदुर बनेको कुरा थाहासम्म पनि दिएकी थिइन । यो कुरा आमाले पचाउन सक्ने अवस्था पनि थिएन, त्यतिबेलासम्म । राती सडकको चिसोमा गुन्द्रीमाथि सुत्ने बन्दोबस्त गर्दा कति मजदुरहरू मज्जाले निदाउन सके ? म भने एक्लै बर्बराईरहेकीथिएँ– ‘आमा मलाई माफ गरिदिनोस्, बरू मलाई त्याग नै गरिदिनोस्… !’ भनेर ।

आमाको कुनै इच्छा मबाट पूरा भएन । अझ मेरो समाजले नपचाउने काम मबाट हुँदै थियो । तर म स्पष्ट थिएँ– न्याय र परिवर्तनको पक्षमा छु र नराम्रो काम मबाट कदापि हुने छैन भन्ने कुरामा । दृढ सङ्कल्पबाट आन्तरिक बल पनि मिल्दै थियो ।

आफ्नै घरको न्यानो तकियामा त निदाउन नसक्ने म, मनभरी अनेक छट्पटी बोकेर त्यो ढुँगाको तकियामा कसरी निदाउन सक्थें र ! सबैको अवस्था हेर्दै जागाराम बसें । भोलिपल्ट साथीहरू भेट्न आए– अष्टलक्ष्मी, पूर्णशोभा र अरू पनि ।

अष्ट र पूर्णलाई नै मेरी आमालाई सम्झाउने जिम्मा पनि दिएँ । त्यस्तो पर्दा घरमा कसरी कुरा गर्नुपर्छ उनीहरूलाई थाहा थियो । म कतै अपर्झट स्कूलबाट ‘शैक्षिक भ्रमण’ जानुपरेकोले केहि दिन घर फर्किन नसक्ने भन्ने कुरा आमाको कानमा पुर्याएर फर्केछन् । मेरो जीवनमा त्यसरी संघर्षको मैदानमा नै रात काट्नु एउटा अग्नि परिक्षा नै थियो ।

मजदुरहरूको अवस्था, फरक–फरक स्वभाव, सद्गुण र दुर्गुण, सबलता तथा कमजोरी… आदि प्रत्यक्ष रूपमा देख्ने एउटा ठूलो मौका पनि थियो । म त चालै नपाई अग्निकुण्डजस्तो आन्दोलनमा होमिइसकेकी रहेछु । अगाडि बढ्नु बाहेक अरू कुनै विकल्प थिएन– पछि फर्किन मिल्ने ठाऊँ त काटिसकेकी रहेछु !

त्यो एउटा रातले नै औद्योगिक क्षेत्रको अवस्थामा ठूलै हलचल ल्याइसकेको थियो । भोलीपल्ट बिहानैदैखि अरू कारखानाका मजदुरहरू आएर भेट्ने, साथ दिने, आँट दिने, खानेकुरा ल्याएर दिने सिलसिला चल्न थाल्यो ।

समाचारपत्रहरूमा ठूलै समाचार बनिसकेको थियो आन्दोलन– हाम्रो फोटोसमेत छापिइसकेको थियो । म अझै आमाबारे भावुक भै सोचिरहेको बेला नेबिकोकै मजदुर नेता लक्ष्मीबहादुर कारंजितकी आमा आफै त्यो ठाउँमा पुगेर मजदुरलाई भेटेर सबैलाई आँट थप्न आउनु भयो र भन्नु भयो– ‘स्याबास छोराछोरीहरू ! म गर्व गर्छु । तिमीहरू न्यायको पक्षमा जाग्यौ । तिमीहरूले जित्नैपर्छ ! आशिर्वाद दिन्छु…’ मैले आफ्नै आमा आएर त्यो आशिर्वाद दिएको कल्पना गरे । मेरो आँखा भिज्यो ।

जीवनको प्रयोगशालामा म स्वयम् के हुँ, कस्तो हुनु पर्ने हो, कति खारिनु पर्ने हो, कुन बाटो कसरी हिंड्नु पर्ने हो…? आदि प्रश्नहरू मनमा अझै बाँकी नै थिए । अब त जसरी पनि आन्दोलनलाई अगाडि बढाउँदै आफ्नो लक्ष्यतिर बढिरहनुपर्ने बिन्दुमा पुगिसकेकी थिएँ ।

जीवन कसैको निम्ति पनि सजिलो छैन । झन् ‘दैवले नदिएको दुःख खोज्दै हिंड्ने’ मान्छेलाई त कसरी सजिलो होस् र ! अचानक म आफ्ना पुराना सहकर्मी र सहयात्रीहरू भन्दा पर पुगिसकेकी थिएँ । तर पथप्रदर्शक नै बन्नसक्ने उचित नेता भने अझै पनि कोही भेटिएका थिएनन् ।

आफ्नै स्वविवेकले मजदुरहरूसँग एकाकार हुने एकताबद्ध बनाउने काममा एकैपल्ट होम्मिएकी थिएँ । ‘गर्छु या मर्छु’ भन्ने कुरा अब केवल ‘कुरा’ मात्र रहेन ।

प्रतिक्रिया दिनुहोस्