
भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो समयदेखि थन्केर बसेका विद्युतीय बस आजबाट सुचारु भएको छ ।
बिहीबार लुम्बिनीमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवेधकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले विद्युतीय बसको शुभारम्भ गरेका हुन् ।
लुम्बिनी क्षेत्रमा भएको प्रदूषण केही हदसम्म रोक्न भनी एडीबीले लुम्विनीमा सञ्चालन गर्न तीन वर्ष अगाडि पाँचवटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्सी कार लुम्विनी बिकास कोषलाई अनुदानमा दिएको थियो । दशै तिहारलाई लक्षित गर्दै बुद्ध सर्किटको पाँच रुट बस परीक्षणकालका लागि सुचारु गरिएको हो ।
पर्यटन नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयले विद्युतीय सवारीसाधन सञ्चालन गर्न १९ जेठमा कार्यविधि बनाउने निर्णय गरेसँगै कोषाध्यक्ष ढुण्डीराज भटराई (सिद्धिचरण)को संयोजकत्वमा बोर्ड सदस्यहरू विश्वराज पौडेल र राजेश शाक्य सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन भएको थियो ।
कार्यदलले गाडीको अवस्था, रुट, चार्जिङ स्टेसनलगायतका विषयमा प्रतिवेदन र कार्यविधिको खाका बुझाएपछि बस भने परीक्षण कालका लागि सुचारु भएको छ । केही ट्याक्सी भने विकास कोषले स्वयं प्रयोग गरिरहेको छ ।
बस सञ्चालनका लागि चौतर्फी दबाब हुन थालेपछि गृहमन्त्री बालकृष्ण खाणले विश्व पर्यटन दिवसका दिन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र लुम्बिनी विकास कोषलाई दसैंअघि निर्देशन दिएका थिए । कार्यदलले पनि दसैंअघि सञ्चालन गर्ने तयारी गरेको थियो ।
बुधबार रुपन्देहीका प्रजिअ पाण्डेको अध्यक्षता लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका संघसंस्था प्रतिनिधिहरूको बैठकले कार्यविधि नहुँदासम्मका लागि र दसैतिहारलाई लक्षित गर्दै चालक र सहचालकको व्यवस्थापन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपालले एकरएक गाडीको जिम्मेवारी लिएर सञ्चालनमा ल्याइएको हो ।
पाँचवटा बसमध्ये एउटा बस बुटवल-भैरहवा-बेलहिया-एयरपोर्ट हुँदै लुम्बिनी, दोस्रो बस बेलहिया-भैरहवा-एयरपोर्ट हँदै लुम्बिनी, तेस्रो बस नवलपरासी-रामग्राम-भैरहवा-बेलहिया एयरपोर्ट हुँदै लुम्बिनी, चौंथो बस कपिलवस्तु-तिलौराकोटबाट लुम्बिनी र पाँचौँ बस लुम्बिनी वरिपरि सञ्चालन हुने रुट तय गरिएको विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
परीक्षणकालसम्म निःशुल्क रूपमा बस सञ्चालनमा हुनेछविद्युतीय गाडीको नम्बर प्लेटको विषयमा टुंगो लागेको छैन । सेतो नम्बर प्लेटका सवारीसाधनलाई हरियो नम्बर प्लेट वा कालो नम्बर प्लेट के राख्ने भन्ने विषयमा गृहकार्य भइरहेको छ ।