Logo
Logo
दृष्टिकोण

एमालेलाई मत दिएर आफ्नै खुट्टामा बन्चरो नहानौं



सामान्यतया एउटा जिम्मेवार नेतृत्वले अफ्ना कार्यकर्तालाई जनतासँग एकाकार हुन निर्दिष्ट गर्छ । आफ्ना विगतका गल्ती र भुलहरू प्रती क्षमायाचना गरि जनभावनासँग नजिक बन्न उत्प्रेरित गर्छ । देश प्रतिको चिन्तन र विवेकले जनताको आक्रोश अनि आलोचनालाई सामान्य रूपमा लिन्छ

। बरू देखावटी रूपमै किन नहोस्– जानअन्जान अफूबाट भइआएका तमाम कमजोरीहरू सुधार गर्न प्रतिबद्ध बन्छ । तर हाम्रो मुलुकमा त्यो थिती चल्दैन । एकैछिनमा बहकिने र उतिबेलै चहकिने श्रृगारिक मनोदशाले छौँ । अर्थात, हाम्रो समाजमा तथ्य बिक्दैन । त्यसैकारण राजनीतिको नाममा व्यापार गरिरहेका केहिथान मान्छे मालोमाल भइरहेका छन् ।

मदन भण्डारीलाई खोलमा बगाएर होस् कि मनमोहन अधिकारीको वृद्धभत्तावाला टोकरी थापेर, आजका मितिसम्म उनीहरूको व्यापार फस्टाएको छ । जुत्ताको माला लगाइदिएर, चारपाटा मुडेर, मोसो दलेर, गधामा उल्टो चढाएर बोर्डर पारी धपाउन लायक भारतीय विस्तारवादका रैतिहरू आज आफ्नै देशका नागरिकप्रति गैरजिम्मेवार बनेर अर्को विशाक्त समयको आह्वान गरिरहेका छन् ।

मध्यरातमा गोयलको सुसार गरेर होस् या प्रभाती किरणको प्रकाश छोप्ने दुस्साहस गर्दै लैनचौर छिरेर, यिनले लिएका अनैतिक सुपारीले देशको मार्ममाथि बारम्बार मरणासन्न हुनेगरी हिर्काएका छन् । तैपनि ‘म जस्तो राष्ट्रवादी को ?’ भनेर भाँचिएको नाक फुल्लाउन छाड्दैनन् ।

उदाहरण स्वरूप सम्झिँदा– वर्षौंसम्म सत्ताको तर मारेर एकछत्र हुकुम चलाउँछु भन्ने लोभको थुप्रोमाथि बयालीस महिनामै पहिरो खस्यो । पहिरो आकस्मिक वा अस्वभाविक थिएन । बरू एकछत्र रजाइँका लागि आफ्नै तालु ओतिरहेको पालिमा अगुल्टो झोस्नुको परिणाम थियो । त्यही अहमतावादी गुटले अहिले एकातिर राष्ट्रपतिलाई उचाल्दै अर्कोतिर प्रधानन्यायाधीशको अभियोबारे मादल बजाइरहेको छ ।

महाभियोग लागेपछि छिनोफानो नभइ प्रधानन्यायाधीश काममा फर्कन मिल्छ ? प्रतिपक्षको रचनात्मक भूमिका खोइ ? सर्वोच्च अदालतले परमादेश जारी गर्दा ‘म जनादेश प्राप्त प्रधानमन्त्री हुँ’ भन्दै अझै अटेर गरेको भए के हुन्थ्यो ? स्वभाविक रूपमै लखेटिनु पथ्र्यो । त्यसैले प्रधानन्यायाधीशलाई खतरा हुँदाहुँदै र सर्वोच्च अदालतको गेटमा तालाबन्दी भएको थाहा पाउँदा पाउँदै किन यतिविधि रूञ्चे स्वर ?

बारका न्यायाधीशहरूको आन्दोलन जारी भइरहेकै अवथामा जबर्जस्ती कार्यालय आउँछु भन्नू कतिको जायज हो ? अनि हुँदैन त नजरबन्द ? खोसिदैन त सुरक्षा गार्ड ? हुनत आफूले गरेको जति सबै ठीक र अरूले गरेको बेठिक भन्ने सिद्धान्त नै एमाले राजनीतिको मूलभूत अस्त्र हो ।

उता विगतमा आफैले ल्याएको नागरिकता विधेयकबारे पनि नाङ्लो ठटाएर हात्ती तर्साउने खेला देखाइरहेको छ । के एमालेको यस्तो दोग्ला नाटक मञ्चनकै कारण यो देश कहिलेसम्म अनिर्णयको बन्दी बन्नुपर्ने हो ?

खाना खान बसेका धर्म ढकाललाई पछाडीबाट डसेर (हत्यागरी) चौध वर्ष जेल बसेका केपी ओलि बारम्बार आफ्ना कार्यकर्तामाझ विपक्षीलाई टोक्न, कोपर्न र डस्न आदेश दिन्छन् । किनकी उनको पृष्ठभुमि नै डसाइबाट सुरू भएको छ । ज्यान हत्याको अभियोग भोगेर बाहिर निस्केपछि सुध्रिनु त परैको कुरो, झनै ठूलो कुलतमा लागे ।

मदन भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल र झलनाथ खनाल एमालेको नेतृत्वमा रहँदा उनी कुख्यात गुण्डा नाइँकेहरूसँग उठबस गर्थे । तस्करी, अपहरण एवं फिरौती उनको राजनीतिक विद्यालय जस्तै थियो । सोहिकारण सिद्धान्तनिष्ठ नेतृत्वले उनको आचरणलाई घृणा गर्दथे ।

मदन भण्डारी हत्याकाण्डपछि राष्ट्रिय राजनीतिमा चलमलाउन थालेका ओली त्यतिबेलासम्म भारतको असल चपरासी बन्न घुँडा धँसेरै लागेका थिए र आजपर्यन्त पनि उनी उसकै सेवाढोगमा नतमस्तक छन् । मुलतः ‘ओली छाप नस्वीकार्ने अथवा उनको ग्याङको आलोचना गर्ने व्यक्ति वा समूहलाई भौतिक रूपमै ठेगान लगाउनु पर्छ’ भन्ने उनको अन्तर्य हो ।

उनलाई के लाग्छ भने– जसरी ‘हत्या, धरपकड र धाकधम्कीले म यहाँसम्म आएँ त्यही खालको पृष्ठभूमि आफ्नै वरपर रहिरहोस् । जसले उनी जिउँदो हुँदासम्म उनका कुकृत्यहरू सहर्ष स्वीकार गरोस् । गुलाम बनोस् । र, त्यो गुलामी गरेवापत आफ्नो तर्फबाट देशभत्तको शिरफूल पहिरियोस् ।’ यद्यपि, एकपटक कार्यकर्तालाई अरिङ्गाल बनाएर बार्दली पुगेका खड्कप्रसाद फेरि अरिङ्गाल उडाएर कता पुग्न खोजेका हुन् ? त्यो उनैले जानून् ।

पश्चगामी यात्रामा एमालेले अरू सबै दललाई माथ खुवाएका थुप्रै दृष्टान्तहरू सामुन्ने छन् । झण्डै दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरेका केपी आफ्नो चुनावी घोषणापत्रबाट मात्र होइन, सुशासनबाट समेत विमुख भए । बेथितिका अनेकौँ कीर्तिमान खडा गरिदिए । ठूल्ठूला काण्ड उनकै नेतृत्व कालमा भए । सुन काण्डको प्रतिवेदन गुपचुप राखे । वाइडवडी जहाज खरिद् प्रकरणको छानबिनलाई निष्कर्षमा पु¥याउन चाहेनन् । पार्टीभित्रको कलह व्यवस्थापन गर्न नसकेर दुई–दुई पटक संसद्लाई मार हाने । राजनीतिक दल फुटाउने अध्यादेश ल्याए । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर आफ्ना सुसारेहरू भर्ती गरे ।

अरूपनी थुप्रै नगर्नु गरे । राजनीतिक कार्यदिशाविहीन बनेको एमाले अहिले गठबन्धनको उछित्तो काढ्न व्यस्त छ । जब मुद्दा निख्रन्छ, ऊसँग बाँकी रहने भनेकै गालीगलौज, निन्दा र भत्र्सना त हो । ओलीछाप एमालेले हाल त्यही नीतिलाई अंकमाल गरेको छ । रत्नपार्कको चटकेले बड्कौँलालाई सिलाजित भनेर बेचेजस्तै एमालेले देशलाई पछि धकेल्दै अग्रगमनकारी राष्ट्रवाद बेच्छ भन्नेकुरा माथि उल्लेखित संक्षिप्त झलकहरूले छर्लङ्ग पार्दछ ।

धर्म ढकालाई पछाडिबाट बञ्चरोले डसेकै ओली ग्याङले महाकाली डस्यो । राजतन्त्रको पेटिमा बसेर उन्नाइस दिने आन्दोलनलाई धारेहात लगायो । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको ध्वज्जी उडायो । अनि चोरबाटो छिरेर हजारौं जनताको रगत पसिनाले लेखिएको संविधान नै ध्वस्त पार्न खोज्यो । त्यसैले निर्वाचन आउँदै गरेको बखत हामी सबै सजक बनौं । कम्तिमा हामी आम मतदाताले आफ्नै खुट्टामा बञ्चरो हान्ने आत्मघाती काम नगरौं ।

– लमही दाङ

प्रतिक्रिया दिनुहोस्