Logo
Logo

मान्छे पाप र धर्मसँग डराउनुपर्छ : पर्यटनमन्त्री भट्टराई


- दृष्टि न्युज/संवाददाता


चितवन, १२ भदौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिने विषयमा निजी विमान कम्पनीले आनाकानी गर्न नहुने बताएका छन् । बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
दुई दिनअघि मात्र मन्त्री भट्टराई जेष्ठ नागरिकलाई ५० प्रतिशत हवाइभाडामा छुट दिनुपर्ने बताएका थिए । यसै प्रशंगमा बिहीबार पनि ज्येष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व भएकामा जोड दिए । आफूले घोषणा गरेको विषयमा विमान कम्पनीले केही टिप्पणी गरेको बताउँदै उनले यसलाई आफूले स्वागत गरेको भन्दै कार्यान्वयनको चरणमा आउनेमा विश्वस्त रहेको बताए ।
विमान कम्पनीले नै सामाजिक उत्तरदायित्वअन्तर्गत यो घोषणा गर्ने अपेक्षा आफूले गरेको बताउँदै उनले धर्म र पापको पनि ख्याल गर्न आग्रह गरे । उनले भने, ‘मान्छे कसैसँग नडराए पनि पाप र धर्मसँग डराउनुपर्छ । सबैसँग छलफल गरेर यो निर्णय कार्यान्वयन हुन्छ ।’
हवाई भाडा दर समायोजन हुने उनको भनाइ थियो । उनले भने, ‘भाडादर पुनरावलोकन गर्छौं, इन्धनको कुराले भाडादर महँगो छ । विदेशीको झनै महँगो छ । यसलाई छिट्टै पुनरावलोकन गरेर भाडादर निकाल्छौँ ।’
उनले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने समेत बताए । उनले भरतपुर विमानस्थललाई रात्रिकालीन बनाउने, धावनमार्ग थप गर्ने, ट्रमिनल भवन आधुनिक र व्यावसायिक बनाउने जानकारी दिए ।
नेपालभरका विमानस्थलको स्तर वृद्धि गर्ने तयारी भएको भन्दै उनले काठमाडौँ उपत्यका नजिकै रहेको यो विमानस्थलको विस्तार छिटो गर्ने गरी काम अगाडि बढ्ने उल्लेख गरे । विमानस्थलको उत्तरतर्फ रहेको नेपाली सेनाको व्यारेक र घोडा प्रजनन् क्षेत्रले केही समस्या दिए पनि त्यसलाई केही दिनभित्रै समाधानको बाटोमा लैजाने गरी अगाडि बढेको उनको भनाइ थियो । उनले भने, ‘अबको १० दिनभित्रमा नेपाली सेनाको प्रमुख, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, जिल्लाका सरोकारवालाबीच संयुक्त बैठक बसेर यो समस्या समाधान गर्नेछौँ ।’ विमानस्थलमा ठूला जहाज ल्याउनका लागि पहिलो चरणमा विमानस्थल विस्तारलाई जोड दिइने मन्त्री भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्