Logo
Logo

डेंगु र स्क्रबटाईफसबाट चितवनमा तीन जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


चितवन । चितवनमा डेँगुले महामारीको रुप लिन सक्ने जोखिम बढ्दै गएको छ । डेंगु नियन्त्रणका लागि हरेक नागरिक चनाखो र सचेत नभए यो रोग नियन्त्रण बाहिर पुग्ने र त्यसले ठूलो क्षति गर्ने सरकारी अधिकारीहरु बताउँछन् ।

चितवनमा डेंगु र स्क्रबटाईफसका कारण तीन जनाको मृत्यु भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका छन् । कार्यालयका अनुसार साउन यता डेंगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ भने स्क्रबटाइफसका कारण एक युवाको मृत्यु भएको छ । डेंगु र स्क्रब टाइफस दुवैको संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ ।

चालु आर्थिक वर्षमा १ हजार ३ सय ५६ जनाको परिक्षणमा ४ सय ५० जनामा डेंगुको संक्रमण देखिएको बताइएको छ । जिल्लामा हरेक ३ ÷३ वर्षमा डेंगुको महामारी हुँदै आएको कार्यालयको तथ्यांकले देखाएको छ । अहिले लामखुट्टे कम भए पनि डेंगुको संक्रमण गराउने लामखुट्टेको संख्या बढिरहेको र यसको संक्रमणको अत्याधिक जोखिम रहेको चिकित्सकहरुले बताएका छन् ।

चितवनमा देखिएको डेँगुको यो अवस्थालाई महामारीका रुपमा विकास हुन नदिन सबै निकाय र प्रत्येक ब्यक्ति आफै सचेत र चनाखो हुनुपर्ने चिकित्सकहरु बताउँछन् । यो रोग लागेपछि समयमै उपचारमा ध्यान दिन नसके मानिसको मृत्यु नै हुने भएकाले नियन्त्रणका लागि हरेक ब्यक्तिले आफ्नो घर, आँगन टोल छिमेकमा यो जातको लामखुट्टे फैलन नदिनु नै सबैभन्दा सजिलो उपाय भएको जनस्वास्थ्य अधिकारीहरु बताउँछन् ।
घर, आँगन, टोल, छिमेकमा रहेको पानी जम्ने खाडलहरु पुर्ने, भाँडाहरुमा पानी जम्न नदिनु नै यसबाट बच्ने उपाय भएकाले हरेक नागरिक यसमा चनाखो रहन आवश्यक रहेको अधिकारीहरुको भनाइ छ ।

भरतपुर महानगरको रोकथाम अभियान
भरतपुर महानगरले पनि डेँगु रोग नियन्त्रण तथा रोकथाम अभियानको थालनी गरेको छ । अभियान अन्तर्गत शनिबार बृहत जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेको हो । सचेतनासहित महानगरको कार्यालयबाट निस्किएको प्रभातफेरी, सहिदचोक, कमलनगर, न्युरोडहँुदै पुलचोक र त्यहाँबाट पोखराबसपार्कमा पुगी कार्यक्रममा परिणत भएको थियो ।

औपचारिक कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले अध्यक्षताको भूमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रममा बोल्दै फिजिसियन डा। भोजराज अधिकारीले डेँगु नियन्त्रणको लागि सबैभन्दा सजिलो उपाय नै हरेक नागरिक सचेत रहनु पर्ने र आफ्ना घर, टोल, छिमेकमा पानी जम्न दिन नहुने र यसको केही लक्ष्ण देखा परे तुरुन्त स्वास्थ्य संस्थामा गईहाल्नु पर्ने बताउनु भयो ।

यो रोग नियन्त्रणका लागि बेलैमा चनाखो नभए यसले महामारीको रुप लिन सक्ने भन्दै उहाँले यसमा सबै सचेत हुनु पर्ने बताउनु भयो । यो रोगले महामारीको रुप लिए नियन्त्रण बाहिर जाने र त्यसको रोकथाममा ठुलो समस्या सृजना हुने भन्दै उहाँले यसको नियन्त्रणका लागि राज्य र सरकारी अधिकारी, चिकित्सकभन्दा पनि स्वयम् ब्यक्ति बढी सचेत हुनु पर्ने बताउनु भयो ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले डेँगु नियन्त्रण र रोकथाममा सबै नागरिकको बराबरी दायित्व रहेको बताउँदै उहाँले यसको रोकथामका लागि खोज र नष्ट अभियान थाल्ने समेत बताउनु भयो । उहाँले आफ्नो घर, आँगन, होटल, बसपार्क, गाडी ग्यारेज सबैतिर बिशेष निगरानी गरी यस्तो लामखुटे रहने स्थानहरुमा सरसफाइ गरी यसलाई हुर्कन नदिन आग्रह गर्नु भयो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले सबै नगरवासीको साथ र सहकार्य भए यसलाई महामारीको रुप हुन नदिने बताउँदै यसको न्यूनिकरणमा महानगर निकै चनाखो रहेको बताउनु भयो । उहाँले हरेक घरघर टोलटोललाई सक्रिय बनाएर यो अभियानमा सबैलाई सहभागी बनाएर यसलाई रोकथाम गरिछाड्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, जनप्रतिनिधि, सर्वसाधारण नगरवासीको सहभागिता रहेको थियो ।

चितवनमा किटको अभाव
चितवनमा डेँगु परीक्षणको किट समेत अभाव रहेको बताइएको छ । सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध गराउनु पर्ने किट जिल्लामा अभाव हँुदा बिरामीहरु निजीमा गएर उपचार गर्न बाध्य भएका छन् । सरकारी स्वास्थ्य संस्थाले पनि किटको अभाव भन्दै निजीमा रिफर गर्न थालेका छन् । स्थानीय तहले तत्कालै किटको व्यवस्था गर्नु पर्ने चितवनवासीले माग गरेका छन् ।

के छ सरकारी तथ्यांक
सरकारी तथ्यांक अनुसार सन् २०१८ मा आठ सय ११ जनामा डेंगु देखिएको थियो । जसमा तीन जनाको मृत्यु भएको थियो । सन् २०१७ मा दुई हजार १२ जनामा डेँगु देखिएको थियो । जसमा चार जनाको मृत्यु भएको थियो । सन् २०१६ मा एक हजार पाँच सय २९ जनामा डेंगु देखिएको थियो । जसमा दुई जनाको मृत्यु भएको थियो । डेंगु सन् २००४ मा चितवनमा एक विदेशीमा देखिएको बताइएको छ ।

के कस्ता हुन्छन् डेंगुका लक्षण
कमजोरी महसुस हुने ।
अचानक ज्वरो आउनुका साथै घाँटी दुख्ने ।
खान मन नलाग्ने ।
भोक नलाग्ने ।
वाकवाकी लाग्ने
मांसपेशी र जोर्नीमा दुखाइ हुने ।
शरीरमा रातो बिबिरा देखिनु रहेका छन् ।

यसबाट कसरी बच्ने
पानीका भाँडाकुँडा, ट्यांकी छोपेर राख्ने ।
घर वरपर सफा राख्ने ।
शरीर छोप्ने कपडा लगाउने ।
घर वरिपरी पानी जम्ने खाल्डाखुल्डी पुर्ने ।
झुलभित्र सुत्ने ।
लामखुट्टेका लार्भा नष्ट गर्ने ।
लामखुट्टे आउन नदिन किटनाशक औषधि छर्किने ।
गाडी ग्यारेज क्षेत्रमा र कवाडी सामान संकलन कमेन्द्रमा बिशेष निगरानी र सुरक्षा अपनाउने ।

प्रतिक्रिया दिनुहोस्