Logo
Logo

विकासका बाधकलाई सरकारले निस्तेज पार्छ : मन्त्री अर्याल


- दृष्टि न्युज/संवाददाता


स्याङ्जा, १५ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने भन्दै गुण्डागर्दी गर्दै हिँड्ने विकासका बाधकलाई हटाइने चेतावनी दिनुभएको छ । काम नगर्ने ठेकेदारका दिन समाप्त भएको मन्त्री अर्यालले बताउनुभयो ।

‘सम्झौता गरेर काम नगर्ने, होल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालोसूचीमा पर्छन् सरकारले सार्वजानिक खरीद ऐन संशोधन गर्दै नयाँ गति र नीतिका साथ अगाडि बढेको छ’, मन्त्री अर्यालले भन्नुभयो । काम नगर्ने ठेकेदारको दिन समाप्त भएको भन्दै मन्त्री अर्यालले विकासका लागि जनप्रतिनिधि साझा भएको समेत बताउनुभयो ।

अर्को प्रसंगमा बोल्दै मन्त्री अर्यालले सानो त्यान्द्रो समातेर सत्ता परिवर्तन गर्छु भन्ने दिवासपना नदेख्न आग्रह गर्नुभयो । पछिल्ला समय सामाजिक सञ्जालमा भएका टिकाटिप्पणीतर्फ संकेत गर्दै हरेकको मूल्यांकन जनताले गर्ने बताउनुभएको हो । उपकार बचत तथा क्रृण सहकारी संस्था वालिङले स्याङ्जाको वालिङमा आयोजना गरेको चौथो खुला तिज गीत प्रतियोगिताको चापाकोट ८ दामाचौरमा सम्बोधन गर्दै मन्त्री अयालले सरकार जनताको सकरात्मक सुझाव र सल्लाहकै आधारमा अगाडि बढ्ने भन्दै हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।

सरकारले सिद्धार्थ राजमार्गलाई छोटो र फराकिलो बनाउने भन्दै बुटवल पोखराको बाटो दुई घण्टामा छोट्याइने योजनाका साथ अगाडि बढेको बताउनुभयो । ‘बुटवल र पोखरा आएका पर्यटकलाई स्याङ्जामा ल्याउने, यहाँका होमिस्टेहरुको परिचालन गर्ने हो’, मन्त्री अर्यालले भन्नुभयो, ‘गएका दुई वर्षको अन्तरालमा यहाँका पालिका हेर्नुस, मूल्यांकन गर्नुस परिर्वतन र बदलाव आफैँ देख्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्