Logo
Logo

चटके सल्लाहकारका कारण ओली बदनाम


- दृष्टि न्युज/संवाददाता


प्रधानमन्त्रीका सल्लाहकारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसरी बदनाम गरिरहेका छन् भन्ने कुराको पछिल्लो उदाहरण हो– ‘टेलिप्रिजेन्स बैठक’ । भदौ ५ गते सिंगापुरमा उपचारका लागि गएका प्रधनमन्त्री ओली भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकमा भिडियो ‘टेलिप्रिजेन्स’मार्फत उपस्थित भए । सिंगापुर उपचारका लागि जानु अगाडि प्रधानमन्त्रीले आफ्नो कार्यभार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई सुम्पिएका थिए । उपचारका क्रममा सिंगापुर रहेका प्रधानमन्त्री ओली अचानक भिडियोमार्फत बैठकमा उपस्थिति हुने सूचनाले कार्यवाहक प्रधानमन्त्री पोखरेल आश्चर्य मान्दै थिए । जबकि त्यो दिन कार्यवाहक प्रधानमन्त्री पोखरेलकै अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बस्दै थियो । कार्यवाहक प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरिरहँदा अचानक प्रधानमन्त्री उपस्थित भएका कारण त्यो बैठकको अध्यक्षता प्रधानमन्त्री ओलीले गरेको भन्ने कि, कार्यवाहक प्रधानमन्त्री पोखरेलको अध्यक्षतामा भन्ने नयाँ विवाद नेकपाभित्र उत्पन्न भएको छ । यदि यस्तै प्रविधिबाट प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक सञ्चालन गर्ने हो भने अबका दिनमा किन कसैलाई कार्यवाहक तोक्ने भन्ने बहस पनि नेकपाभित्र चल्न थालेको छ ।

प्रधानमन्त्री कार्यालयमा भिडियो कन्फरेन्समार्फत कुरा गर्न ‘एक्सन रुम’ बनाइएको छ । एक्सन रुममा ठूला तीनवटा स्क्रिन राखिएका छन् । प्रधानमन्त्रीलाई आधुनिक प्रविधिमैत्री बनाउन विष्णु रिमाल, राजन भट्टराईको सल्लाहमा अर्का सल्लाहकार असगर अलीले यी प्रविधि भित्र्याएका हुन् । सुरुमा राष्ट्रिय गौरवका आयोजनाहरु अनुगमन गर्ने, प्रदेशका मुख्यमन्त्रीसँग अन्तक्र्रिया गर्ने नाममा यस्ता प्रविधि भित्र्याइए पनि सिंगापुरबाट मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीलाई उपस्थित गराएर प्रविधिको व्यापक दुरुपयोग गरिएको छ । प्रधानमन्त्री ओली सिंगापुर उपचार गर्न जानु अगाडि नै यस्तो प्रविधिको प्रयोग गरेर पनि मन्त्रिपरिषद्को बैठक गर्न सकिने कार्यविधि संशोधन गरिएबाट अब प्रधानमन्त्री ओलीले जुनसुकै देशबाट पनि मन्त्रिपरिषद्को बैठक सञ्चालन गर्न सक्ने भएका छन् । उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीलाई उनीसँगै सिंगापुर गएका प्रमुख सल्लाहकार रिमालले यस्तो उटपट्याङ सल्लाह दिएर विवादमा ल्याएका छन् । यस अगाडि पनि जनतासँग प्रधानमन्त्री कार्यक्रमको डिजाइन गरेर प्रमुख सल्लाहकार रिमालले पदको दुरुपयोग गरेका थिए ।

देशको कार्यकारी प्रमुखजस्तो व्यक्तिले बाह्य देशबाटै मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरेको कुरालाई प्रमुख प्रतिपक्ष दलले व्यापक आलोचना गरेको छ । दोस्रो पटक प्रधानमन्त्री भएका ओली यिनै चटके सल्लाहकारका कारण विवादमा पर्दै आएका छन् । गलत सल्लाहकारले प्रधानमन्त्रीलाई कसरी विवादमा तान्छन् भन्ने कुराको यो मात्र एउटा उदाहरण होइन, सयौं उदाहरण छन् । त्यसैले प्रधानमन्त्री ओली आधुनिक प्रविधि प्रयोग गर्ने नाममा सस्तो लोकप्रियतातर्फ लाग्नु हुन्न । प्रधानमन्त्री यस्तो गलत सल्लाह दिने सल्लाहकारको घेराबाट बाहिरिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्