Logo
Logo

सेल पेको बैंकिङ साझेदारमा नेपाल इन्भेष्टमेन्ट बैंक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले डिजिटल फाइनान्सियल पार्टनरसँग सहकार्य गर्ने उद्देश्यले हालै सञ्चालनमा आएको ‘सेल पे’ सर्भिससँग सहकार्य गरेको छ । सहकार्यसँगै नेपाल इन्भेष्टमेन्ट बैंक सेल पेको बैंकिङ साझेदार बनेको छ ।

सेल पे मोबाइल र वेभ एप्लिकेसनका माध्यमबाट भुक्तानी गर्न सकिने इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो, सहकार्यसँगै बैंकका ग्राहकले आफ्नो खाता प्रयोग गरी विभिन्न कम्पनीका बिल भुक्तानी, अन्तरबैंक फन्ड ट्रान्सफरलगायत सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे र आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै ग्राहकले सेल पेमा नेपाल इन्भेष्टमेन्ट बैंकको एकाउन्ट लिंक गरेमा वेलकम बोनसका रूपमा १ सय रुपैयाँबराबरको मोबाइल टपअप प्राप्त गर्न सक्नेछन् भने लिंक गरेको खाताबाट निःशुल्क भुक्तानी गर्न सकिनेछ । साथै, विभिन्न बिल भुक्तानी गर्दा क्यासब्याक अफर पनि यो सुविधामा उपलब्ध छ । सेल पेसँगको सहकार्यसँगै डिजिटल बैंकिङ प्रयोगतर्फ ग्राहकको आकर्षण र सक्रियता बढ्ने बैंकको विश्वास छ ।

बैंकले ग्राहकलाई थप सुविधा दिने उद्देश्यले विभिन्न संस्थासँग सहकार्य गर्दै आएको छ । हाल बैंकले ८२ शाखा कार्यालय, १ सय २० एटिएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर एवं ५४ शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्