Logo
Logo

पत्रकारमाझ रोटरी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । आजभन्दा ६२ वर्ष अगाडि अर्थात् विसं. २०१५ साल चैत ३१ गते (सन् १९५९ अप्रिल १३) मा नेपालमा स्थापना भएको रोटरी क्लब अफ काठमाडौंले गत आइतबार विश्व साक्षरता दिवसको उपलक्ष्यमा प्रेस सम्मेलन गरेर सन् २०३० सम्ममा नेपालमा कोही पनि निरक्षर नरहुन् भन्ने उद्देश्यका साथ लिट्रेसी मिशनअन्तर्गत ‘साक्षरता अभियान’ संचालन गरिरहेको जानकारी रोटरी क्लबका गभर्नर किरणलाल श्रेष्ठले दिनुका साथै समुदायमा स्थापित स्कुलहरुलाई ‘ह्याप्पी’ स्कुल बनाउने अवधारणा अगाडि सारेको बताए । पत्रकार सम्मेलनमा गभर्नर श्रेष्ठले चितवनमा समाजसेवी उदयकुमार पियाको सहयोगमा उदयकुमार चमेली पिया स्पाइनल इन्जुरी हस्पिटल एण्ड रिहाबिटेशन सेन्टर तथा भ्याकेशनल ट्रेनिङ सेन्टर स्थापना गर्ने आगामी कार्यक्रम रहेको बताउँदै लुम्बिनीमा रोटरी पिस पार्क बनाउने, पोखरामा मुटु अस्पतालको स्थापना गर्ने, पाल्पाको लुम्विनी मेडिकल कलेजमा मुटु विभाग स्थापना गर्ने योजना रहेको बताए । पत्रकारहरुले सोधेको प्रश्नको उत्तर रोटरीका पूर्वगभर्नर तथा नेपाल सरकारका पूर्वमुख्यसचिव तीर्थमान शाक्यले दिएका थिए ।

रोटरीले नेपालले अर्थोपेडिक अस्पताल जोरपाटी, काठमाडौंमा आवश्यक उपकरणहरु, वीर अस्पतालको सीसीयू भवन निर्माण तथा नेपालमा पहिलोपटक भेन्टिलेटर सेवा सञ्चालन तथा उपकरणहरु प्रदान गर्ने काम गरेको गभर्नर श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए । गभर्नर श्रेष्ठका अनुसार भक्तपुर क्यान्सर अस्पताल, गंगालाल हृदय रोग केन्द्रमा रहेको सीसीयू तथा कार्डियक एक्सरे इमेज ल्याब, कोशी अञ्चल अस्पतालमा आईसीयू तथा इन्सिनेरेटर, शीर मेमोरियल अस्पताल बनेपामा इन्सिनेरेटर, गौतमबुद्ध सामुदायिक हृदय रोग अस्पतालमा पनि विभिन्न आधुनिक उपकरण प्रदान गरेको बताए । गभर्नर श्रेष्ठले वीर अस्पतालमा पहिलो फिब्रो स्क्यान मेसिन जडान गरेको, यस अतिरिक्त मणीहर्ष डायग्नोस्टिक सेन्टरमा ५१२ स्लाइसको अत्याधुनिक सिटीस्क्यान मेसिन जडान गरी सेवा पु¥याइरहेको र विभिन्न अस्पतालमा कयौँ हेमोडायलासिस मेसिन प्रदान गरी विभिन्न रोगीहरुलाई सेवा प्रदान गर्दै आएको बताए । पत्रकार सम्मेलनमा गभर्नर श्रेष्ठले हेटौडा सामुदायिक अस्पतालमा २०–२२ वर्षदेखि निरन्तर आँखाका बिरामीलाई निःशुल्क ओआइएल इन्ट्राकुलर लेन्स वितरण गरिदै आएको र जुद्ध वारुणयन्त्रमा अत्याधुनिक आगो नियन्त्रक पनि प्रदान गरेको बताए ।

गभर्नर श्रेष्ठका अनुसार, यसरी विभिन्न संस्थालाई दिएको सहयोगबाट सर्वसाधारण लाभान्वित भएका छन् । यससँगै पोखरास्थित भरतपोखरीमा २ लाख ४० हजार लिटरको पानी ट्यांकीको निर्माण गरिएको छ । सो गाउँलाई पिउने पानीको व्यवस्था, पोखरास्थित विद्यालयमा एक हजार २५० वटा कम्प्युटर वितरण गरिएको छ । रोटरीले देवघाटमा करुणालय वृद्धाश्रम सञ्चालन गर्दै आएको छ । भूकम्पपीडितका लागि सिन्धुपाल्चोक माझीगाउँमा ४६ घर निर्माण गरी हस्तान्तरण गरिसकेको छ । चापागाउँ बरम्चुलीमा ४९ घर तथा काभ्रेमा ६९ घर निर्माणसँगै २५ विद्यालयसँग भूकम्पप्रतिरोधि विद्यालय निर्माणको सम्झौता भई कार्य सञ्चालन भइरहेको छ । स्वास्थ्य शिविर, छात्रवृत्ति, पार्क निर्माण, आयआर्जनजस्ता हजारौं कार्यहरु रोटरीअन्तर्गत काम भएको डिष्ट्रिक गभर्नर श्रेष्ठले पत्रकार सम्मेलनमा बताए ।

विगत ६२ वर्षदेखि रोटरीले समुदायमा आधारित शिक्षा, स्वास्थ्य र स्वच्छ पिउनेपानीमा सहयोग गर्दै आएको भए पनि रोटरीले गरेका काम मिडियाबाट ओझेलमा पर्दै आएको छ । रोटरी र मिडियालाई जोड्ने उद्देश्यले यस पत्रकार सम्मेलनको आयोजना गरेको गभर्नर श्रेष्ठले बताए । श्रेष्ठका अनुसार रोटरी अब मिडियासँग निरन्तर जोडिने विश्वास पनि गभर्नर श्रेष्ठले बताए । श्रेष्ठले डिष्ट्रिक गभर्नर भएपछि मिडियालाई प्राथमिकतामा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्