Logo
Logo

प्रहरी सरुवामा आइजीले लिए अडान



काठमाडौं । पदबाट हट्ने बेलामा बालकृष्ण खाण र उनी निकट समूहले गृह मन्त्रालय र मातहतमा आर्थिक चलखेल गरेको समाचार स्रोतले बताएको छ । चलखेलबाटै प्रहरी र प्रशासनमा व्यापक सरुवा गरिएको मन्त्रालय स्रोत बताउँछ ।

पदबाट हट्नु तीन दिनअघि मन्त्री खाणले सिडिओको सरुवा गरेका छन् । जसमा आफु निकट व्यक्तिहरूलाई मात्र सिडिओ बनाइएको छ ।

प्रजिअ सरुवामा रसुवामा प्रकाशचन्द्र अधिकारी, म्याग्दीमा तुलसीराम पौडेल, मनाङमा सुप्रभा खनाल, सोलुखुम्बुमा बसन्त भट्टराई, बाजुरामा पुष्कर खड्का तथा मुस्ताङमा अनुप केसीलाई पठाइएको छ । मनाङमा पठाइएकी सुप्रभा खनाल खाण गृहमन्त्री हुँदा उनका प्रशासनिक सल्लाहकार रहेका सुनिल खनालकी श्रीमती हुन् ।

यसअघि उनलाई काठमाडौंको सहायक सिडिओमा राखिएको थियो । सोलुखुम्बुको सिडिओ बनाइएका भट्टराई मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा थिए । केहीलाई आर्थिक चलखेलका आधारमा यसरी सरुवा गरिएको स्रोत बताउँछ । अध्यागमन कार्यालय लगायत आकर्षक कार्यालयमा पनि अधिकृतहरुको हेरफेर गरिएको छ ।

खाणले नेपाल प्रहरीमा पनि चलखेलकै आधारमा सरुवा गराएको स्रोतले बताएको छ । बदनाम एसपी विश्वराज खड्कालाई धनुषा पठाएका छन् । गत ६ महिनाअघि मात्र बढुवा भएका थिए । त्यसअघि खाणले नै दरबारमार्ग वृत्त दिएका थिए ।

दुर्गा रेग्मीलाई झापा पठाइएको छ भने बालुवाटारको सिफारिसमा देवेन्द्र पाललाई कैलाली तथा योगेन्द्रसिंह थापालाई सुर्खेतको इन्चार्ज बनाइएको छ । नेताको पावरका आधारमा कोमल शाह पर्सा तथा नरेश सुवेदीलाई सर्लाही खटाइएको छ । डिएसपीको पनि ठूलो संख्यामा सरुवा गर्न दबाब दिएपछि आइजिपी धिरजप्रताप सिंहले रोकेको स्रोत बताउँछ । सशस्त्र प्रहरी बलमा मात्र सरुवा गराउने योजना असफल भएको मन्त्रालय स्रोत बताउँछ । यद्यपि, केही ठाउँमा काज सरुवा गराएका छन् ।

गुप्तचरमा पनि चलखेलकै आधारमा व्यापक सरुवा भएको छ । ४० जिल्लाका प्रमुख हेरफेर गरिएको छ । चितवनका शेरजंगबहादुर चन्दको धादिङ, कमल प्रसाद भट्टराईको चितवन, तनहुँका उत्तम खनालको कास्की, कास्कीका मनोज ढकालको स्याङजा, नरेश बमको बर्दिया, हरिश बिष्टको कैलाली, सुदीप अधिकारीको सिन्धुपाल्चोक, राजन प्रजापतिको काभ्रे, मोहन कुँवरको बाँके, नरेन्द्र गिरीको कपिलवस्तु, हुमकान्त पाण्डे रुपन्देही, वीरेन्द्र सिंह कार्की बाग्लुङमा सरुवा भएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिवस्तरबाट यसरी सरुवा गरिएको हो । कामचलाउ सरकारले यसरी गुप्तचरमा व्यापक सरुवा गरेको हो । सरुवा निष्पक्ष हुन नसकेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्