Logo
Logo

अख्तियारको छानबिनमा डा.मरासिनी


9.6k
Shares

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । निश्चित कम्पनीलाई मात्र मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन तयार गरेर करिब ३० करोडको एमआरआई मेशिन खरिदमा अनियमितता गर्न लागेपछि उनीमाथि छानबिन सुरु भएको हो ।

मेडिकल माफिया पोष्टराज ज्ञवालीसँग मिलेर युनाइटेड इमेजिङ कम्पनीको एमआरआई मेसिन खरिद गर्न लागेपछि डा.मरासिनी विवादमा परेका हुन् । सो मेसिन खरिदमा करिब चार करोड हिनामिना हुन लागेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरले करिब ३० करोड मूल्य बराबरको ‘थ्री टेस्ला एमआरआई मेसिन’खरिदका लागि कात्तिक २८ गते टेन्डर आह्वान गरेको थियो । निर्वाचनको मौका छोपेर निश्चित कम्पनीको एमआरआई मेसिन मात्र किन्न मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाएर ट्रमामा एमआरआई किन्ने प्रक्रिया अगाडि बढाएको खुलेपछि यतिबेला हंगामा मच्चिएको छ ।

थ्री टेस्ला एमआरआई मेसिन ‘वाइड बोर’ साइजको कम्तीमा ७५ सेन्टिमिटर डायमिटरको हुनुपर्ने टेन्डरको प्राविधिक स्पेशिफिकेशन राखिएको छ । जुन यूनाइटेड इमेजिङकै लागि बनाइएको हो । त्यो भन्दा कम राख्दा अन्य कम्पनीले पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले यसमा सेटिङ भएको स्रोतले जनाएको छ ।

प्राविधिक स्पेशीफिकेशनमा ७० राखेको भए सिमेन्स, फिलिप्स, जिई र हिटाचीलाई पनि मिल्थ्यो । अन्यको ७० भन्दा माथि छैन । युनाइटेड इमेजिङको ६५ र ७५ को छ । एउटा मात्र कम्पनीलाई मिल्ने प्रावधान राखेपछि खुला प्रतिस्पर्धा हुँदैन, जसकारण महंगोमा खरिद गर्नुपर्ने हुन्छ । यसरी राज्यकोषको पैसा लुटेर डा.मरासिनीलगायत स्वास्थ्यका कर्मचारीले कमिसन खान लागेको स्रोतले बताएको छ ।

अख्तियारले छानबिन गरेपनि अख्तियार पनि मिलाउन भन्दै डा.मरासिनी दौडधुपमा लागेका छन् । मरासिनी यस अगाडि स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको प्रमुख हुँदा पनि ज्ञवालीको लुम्बिनी हेल्थकेयरलाई करोडौंको ठेक्का दिएका थिए । जसमा तत्कालिन स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले नै उनीमाथि छानबिन अघि बढाएका थिए । त्यस विषयमा संसदीय समितिमा समेत उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्