Logo
Logo
कला

‘मेरो सानैदेखि दिमागमा गीतमात्र थियो’



झापाकी बेनिशा पौडेल तीन वर्ष हुँदैदेखि गुनगुनाउँथिन् । त्यो बेला उनलाई मनपर्ने गीत हो, ‘मै छोरी सुन्दरी’ । त्यो समय भविष्यमा गायिका बन्छु भन्ने सोचेकी थिइनन् । २१औँ वसन्तमा हिँडिरहेकी बेनिशा भन्छिन्, ‘खै किन हो, त्यो बेला मेरो दिमागमै गीतमात्र थियो तर, गायिका बन्छु भनेर सोचिनँ । सानै भएर होला ।’ बेनिशा अहिलेकी चर्चित गायिका हुन् ।

‘सुरशाला आइडल’मा सहभागी भएपछि औपचारिक गायनयात्रा थालेकी बेनिशाले दुई सयको हाराहारीमा गीत गाइसकेकी छन् । बेनिशाको गायनप्रति रुची देखेर उनका आमा–बुबा ढाडस दिन्थे । आमा–बुबाकै हौसलाले बेनिशाले रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ र ‘नेपाल आइडल’मा पार्टिसिपेन्ट भइन् । ती शोमा उपाधि जित्न नसकेपनि उनको करिअरमा इँटा थप्ने काम ग¥यो । गायनका अलावा गीत लेखन र संगीत कम्पोजसमेत गर्दै आएकी ‘पटुकी बेरेको’, ‘हाम्रो यो माया’, ‘आँखै लाउने’जस्ता चर्चित गीतका गायिका बेनिशासँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?
व्यस्त नै छु । अहिले पनि रेकर्डिङबाटै आएकी हुँ । गीत नपाएर फुर्सदमा बस्नु परेको छैन ।

कस्ता गीत बढी गाउनुहुन्छ ?
सबै किसिमका गीत गाउँछु । आधुनिक, लोकपप, फिल्मी इत्यादी । तर, म आफैँलाई चाहिँ रोमान्टिक लभसङ र फिल्मी शैलीका गीत मेरो स्वरलाई म्याच गर्छ जस्तो लाग्छ ।

निकै व्यस्त हुनुहुन्छ । एकदिनमा कति वटा गीत रेकर्डिङ गर्नुहुन्छ ?
एक दिनमा तीन वटासम्म रेकर्ड गरेकी छु । एउटा वा दुई वटासम्म त दैनिक गाइरहेकी हुन्छु ।

अहिलेसम्म कति वटा गीत रेकर्ड गर्नुभयो ?
चलचित्र, आधुनिक गरी दुई सय पुग्यो होला । १८० वटा गीत गाउँदासम्म गन्ती गर्थे । अहिले गन्नै छाडेँ ।

गायन क्षेत्रमा लाग्नुभएको कति वर्ष भयो ?
–म सानैदेखि गाउँथे । तर, औपचारिक रुपमा गायनमा लागेको २०७३ सालदेखि हो । ‘सुरशाला आइडल’मा सहभागी भएपछि नियमित गाउन थालेकी हुँ । त्यो बेला भर्खरै १५ वर्षकी थिएँ ।

सानो छँदाखेरी गायिका बन्छु भनेर सोच्नुभएको थियो ?
थिएन । तीन वर्षको हुँदैदेखि गीत गाउँथे । त्यो बेला किन मेरो दिमागमै गीत मात्र हुन्थ्यो । तर, कसरी गायिका भइन्छ भन्ने थाहा थिएन । सानोमा मलाई मनपर्ने र गाइरहने गीत हो, ‘मै छोरी सुन्दरी’ र ‘विमला त पोइल गई’ । त्यतिखेर यी गीत चर्चित पनि थियो ।
गायिका बन्ने सोचचाहिँ कसरी आयो ?
गाउन रुचाउँथे । त्यसैले ‘सुरशाला आइडल’मा बाबाले लैजानुभयो । सुरशाला आइडलमा टप सातसम्म पुगेकी थिएँ । त्यसपछि गायनलाई निरन्तरता दिएँ । गायनलाई निरन्तरता दिने भएपछि मैले ‘भ्वाइस अफ नेपाल’ र ‘नेपाल आइडल’मा पनि सहभागी भएँ ।

तपाइँको पहिलो रेकर्डिङ गीत कुन हो ?
‘आँखामा लाउने गाजल सकियो’ । जुन मेरो पहिलो गीत नै हिट भयो । यो गीत गाउँदा नेपालमा भर्खरै टिकटकको ट्रेण्ड आएको थियो । त्यतिखेरै मेरो उक्त गीतमा तीन लाखभन्दा बढीले टिकटक बनाइएको थियो ।

तपाइँ फिल्ममा पनि गाउनुहुन्छ है ?
गाउँछु । पहिलोपटक फिल्मी गीत ‘चुरीफुरी’को शीर्ष गीत गाएकी हुँ । जसमा दीपक शर्माको संगीत छ । त्यसपछि ‘प्रेमगञ्ज’, ‘नाई नभन्नु ल–६’, ‘सिन्दुरको रंग’लगायत आधा दर्जन नेपाली फिल्ममा गाएकी छु । भर्खरै छविराज प्रोडक्शनको फिल्ममा पनि गाएकी छु । फिल्मको नाम सार्वजनिक गरिएको छैन ।

आफ्नो लगानीमा पनि गाउनुभएको छ ?
सुरुमा गाएँ । ‘आँखामा लाउने गाजल सकियो’ गीत आफ्नै लगानीमा गाएकी हुँ । त्यसयता गाउनलाई लगानी गर्नु परेको छैन ।

तपाइँले गाउनुभएको चर्चित गीत भन्नुपर्दा ?
थुप्रै छन् । यदि लेख्नैपर्दा ‘यो नजरमा नजर’, ‘पटुकी बेरेको’, ‘हाम्रो यो माया’, ‘आँखामा लाउने गाजल सकियो’लगायत हुन् । यी गीतले मलाई गायिका बेनिशा पौडेल भनेर चिनाएको छ ।

तपाइँ गीत लेख्ने र कम्पोज पनि गर्नुहुन्छ ?
गर्छु । अहिलेसम्म १३ वटा गीतमा संगीत गरेकी छु । जसमा शब्दरचना पनि मेरै रहेको छ । अहिलेका युवापुस्तालाई लक्षित गरी गीत लेख्ने र कम्पोज गर्छु । आफ्नो कम्पोजका गीतहरु चाहिँ आफ्नै युट्युब च्यानलमा अपलोड गर्दै आएकी छु ।

मोडलिङ पनि गर्नुहुन्छ ?
मलाई मोडलिङमा रुची छैन । तर, आफ्नो गीतको भिडियोमा गरेकी छु । त्यस्तै अवस्था आएको खण्डमा मात्र हो किनकि, म गायिकाकै रुपमा स्थापित हुन चाहन्छु ।

संगीतको कोर्ष गर्नुभएको छ ?
पाँच वर्षको हुँदैदेखि संगीतको कोर्ष गर्न थालेकी हुँ । पाँच वर्षको हुँदा मोरङको उर्लाबारीस्थित बिहानी कला केन्द्रमा सारेगम सिकेँ । त्यसपछि दमकमा अनिल फागो र कमला खनालसँग गायन सिकेँ । काठमाडौं आएपछि श्रीसंगीत पाठशालामा गायन सिकेकी हुँ । मैले वाद्यवादन पनि सिकेकी छु। म हार्मोनियम, गितार, पियानो, युक्ति लिली बजाउँछु ।

हिजोआज संगीतको रियाज कतिको गर्नुहुन्छ ?
दैनिक रियाज गर्छु । हरेक बिहान एक घण्टादेखि दुई घण्टासम्म रियाज गर्छु । एक जना गायन कलाकारका लागि रियाज अपरिहार्य हुन्छ ।

गायनमा लागेयता तितो अनुभव केही छ ?
संघर्षका सुरुमा दिनहरुमा थियो । गीत गाउन दिन्छु भन्दै अल्मलाउने । कतिपय गीत गाउनु लगायो अनि पछि गीत बजारमा आउँदा अर्कैको स्वरमा आउने । यस्ता अनुभवहरु छ । अहिलेचाहिँ त्यस्तो भएको छैन ।

प्रतिक्रिया दिनुहोस्