Logo
Logo

अमेरिकाको युद्धविराम प्रस्ताव टर्कीद्वारा अस्वीकार


- दृष्टि न्युज/संवाददाता


एजेन्सी, २९ असोज । उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले अस्वीकार गरेका छन् । यो कुरा टर्र्कीका सञ्चार माध्यमले बुधबार जनाएका छन् ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओले युद्ध रोक्ने प्रयास गर्न भन्दै टर्की जाने तयारी गरिरहेको अवस्थामा एर्डोगानको त्यस्तो भनाइ आएको हो । सिरियाली सेनाले उत्तरी सिरियाको मन्बिज शहरमा प्रवेश गर्नु ‘धेरै नकारात्मक’ नभएको, तर सो क्षेत्रबाट सिरियाली कुर्द लडाकुहरूलाई हटाइने सकारात्मक भएको एर्डाेगानले बताएका छन् ।
अमेरिकाले आफूहरुलाई युद्धविराम घोषणा गर्न भने तापनि आफूहरुले कहिले पनि युद्धविराम घोषणा नगर्ने अजरबैजानबाट फर्किनु भएका एर्डोगानले पत्रकारहरूलाई बताएको हूरिएट दैनिकले प्रकाशित गरेको छ ।
पेन्सले बिहीबार इर्डोगनलाई भेट गर्ने, अमेरिकाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । कुनै समाधान नहुन्जेलसम्म टर्कीमा ‘आर्थिक प्रतिबन्ध लगाइने’ ट्रम्पको प्रतिबद्धता दोहो¥याइने बताइएको छ ।
अमेरिकाले आफूहरुले सञ्चालन गरेको कुर्दविरुद्धको कारबाही रोक्न दबाब दिइरहेको तर आफूहरुको स्पष्ट लक्ष्य रहेको एर्डोगानले बताएका छन् । अमेरिकी प्रतिबन्धको विषयको कुनै चिन्ता नभएको उनले बताए । टर्की नेता एर्डोगान सिरियाली सेनाले मान्बिजलाई नियन्त्रणमा राख्नु भनेको ठूलो समस्या नभएको पनि बताएका छन् ।
सिरियाली कुर्द लडाकूहरूबिरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्त राज्य अमेरिकाले मंगलबार टर्कीमाथि आर्थिक प्रतिबन्धहरु लगाएको थियो । उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकी निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो ।
उत्तरपूर्वी सिरियाको कुर्दिश लडाकूको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ । राष्ट्रपति ट्रम्पका रिपब्लीकन सांसदहरूले समेत इस्लामिक स्टेट समूहबिरुद्ध लड्न अग्रसर भएका कुर्दहरूलाई मझधारमा छाडेको आरोप लगाएका छन् ।
अमेरिकाले टर्कीका दुईवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरू समेत रोकेको जनाएको छ ।
टर्कीले केही यताबाट उत्तर र उत्तरपूर्वी सिरियामा गरेको आक्रमणपछि करिब एक लाख मानिस विस्थापित भएका छन् । ‘जबसम्म टर्कीले युद्धविराम गर्दैन र यो विषयलाई समाधान गर्न दीर्घकालीन उपायबारे छलफल गर्न सहमत हुँदैन तबसम्म आज घोषणा भएका प्रतिबन्धहरू अझ कडा हुँदै जानेछन्’ ह्वाइट हाउसमा बोल्नु हुँदै पेन्सले बताएका थिए ।
टर्कीको आक्रमणपछि पूर्वी सिरियामा कुर्दिस विद्रोहीसँगको सम्झौतापछि सिरियाली सेना सीमाक्षेत्रमा पुगेको छ । सेनाको प्रवेशपछि टर्की र सिरियाली सेनाबीच संघर्ष हुन सक्ने आशंका गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा विवादास्पद कदमका रुपमा उत्तरी सिरियाबाट एक हजार अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरेको केही दिनपछि नै टर्कीले आक्रमण थालेको थियो ।
टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानले सिरियाली भूमिमा आक्रमण गर्नुको मुख्य उद्देश्य नै सुरक्षित इलाका निर्माण गर्नु मात्र रहेको बताएका छन् । उनले यो क्षेत्र सिरियाभित्र करिब ३० देखि ३५ किलोमिटरमा मात्र केन्द्रीत हुने जानकारी दिए ।
मानव अधिकारका लागि सिरियाली अब्जरभेटरीले टर्कीको आक्रमणबाट आइतबारमात्र कम्तीमा २६ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ । हालसम्म टर्कीको कारबाहीबाट ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्