Logo
Logo

‘गहिराईमा जाने’ रहर र जीवनको यथार्थ



कहिले उकाली, कहिले ओराली, कहिले कता, कहिले कता, पुर्याउँदै थियो जीवनको गतिले । कहिले केही सहज हुन्थ्यो, कहिले अप्ठ्यारो भीरमा पुगेको अनुभव हुन्थ्यो ।

काखमा सानो नानी भएपछि जिम्मेवारी थपियो । सामान्य सहज घरपरिवारको छहारी नहुँदा बच्चाको हुर्काइ सजिलो हुने कुरै भएन । तर, त्यो थप जिम्मेवारीबीच पनि ठूलै सपना देख्न अझै छोडेकी थिइनँ । जस्तै विकट बाटो भए पनि अगाडि बढ्नुपर्छ र गहिराईमा जाने आँट गर्नुपर्छ भन्ने छँदैथियो ।

बच्चा अढाई महिनाको मात्र हुँदा ‘म पनि पुरुषहरू सरह काम गर्न किन नसक्ने ?’ भन्ने सोँच लिएर काठमाडौंबाट टाढा जानु दुस्साहसै थियो शायद । अनुभव थिएन । मभन्दा अगाडि बच्चा जन्माएका साथीहरूले बच्चा नै अरु खुला जीवन बाँचिरहेका साथीकहाँ छोडेर फेरि भूमिगत काममा लागेको कुरा पनि सुनिसकेकी थिएँ ।

मलाई पनि ‘केही गर्ने’ मन त थियो । तर, आफ्नो बच्चा अरु कसैलाई छोडेर जाने कुरा सोच्नै सक्तिनथें । जहाँ गएपनि बाँदरले बच्चा च्यापेझैँ आफैसँग लाने तयारीमै थिएँ ।

काममा अगाडि त बढ्नु नै थियो । पार्टी नेताहरूसँग सल्लाह गरेँ । बच्चालाई आफैसँग राखेर हुर्काउने र नयाँ परिस्थितिमा केही आर्जन पनि गर्दै अर्धभूमिगत रुपमा काम गर्ने स्थितिबारे ।

मेरो विगतको अनुभव भनेको स्कूलमा बच्चाहरूलाई पढाउनु र एक वर्ष बिस्कुट कारखानामा काम गर्नु मात्र थियो । अरु समय त संगठक भएर काठमाडौं वरिपरी नै समय बिताएकी थिएँ । यसपाली अलि टाढा जाने र मिलेसम्म कहिलेकाहिँ भूमिगत श्रीमानसंग पनि भेट हुनसक्ने ठाउँ होस् भन्ने लाग्यो ।

यसबारे कुरा गर्न मकहाँ नै झलनाथ कमरेड पुग्नुभएको थियो । उहाँसँगको कुराकानीले आशा पनि बढ्यो । उहाँले भन्नुभयो,–‘तराईमा एकजना साथीले खोलेको प्राइभेट बोर्डिङ स्कूल छ, त्यहाँ अनुभवी शिक्षकको आवश्यकता पनि रहेछ । त्यो ठाउँ डिबी कमरेडको कार्य क्षेत्रबाट नजिक पनि पर्छ, भेटघाट हुन पनि सक्छ …’ यो सुनेपछि मनमा ज्यादै उत्साह बढ्यो । त्यतै जाने निर्णय गरें ।

मायाको पोको सानी अढाइ वर्षकी बच्चीलाई च्यापेँ । त्यो बेला पनि फेरि उनै प्रिय साथी पूर्णशोभाको विशेष सहयोग रह्यो । जस्तोसुकै कठीन काममा पनि अघि बढ्ने उत्साहका साथ उनी पार्टी जीवनमा कार्यरत थिइन् । राजविराजसम्म पुग्न बच्चा लिएर म एक्लै जान सजिलो नहुने भन्दै आफै पनि साथै जाने भइन् ।

पूर्णशोभा आफ्नो साथमा भए पछि मेरो आँट झन् बढ्ने नै भयो । बच्चालाई चाहिने र अन्य सामाग्रीहरू बोक्नसमेत पूर्णशोभाको साथले ठूलो सहयोग मिल्यो । दिनभरीको लामो यात्रामा हिँड्यौँ– पार्टीले दिएको नक्सा बोकेर ।

बाटोभरी मलाई सहयोग गर्ने साथीहरूलाई पनि सम्झिदै गएँ । कतिले त हिँड्ने बेलामा लेखेरै शुभकामना दिएका थिए । कसैले सुन्दर कविता पनि लेखे । बच्चालाई बोकेर काममा लाग्ने त्यो मेरो निर्णय पार्टीभित्र प्रेरणादायी चर्चाकै विषय पनि बनेछ ।

नयाँ कर्मस्थल बनेको त्यो स्कूलमा पुग्यौँ । शिक्षक साथीको घरमै स्कूल खोलिएको रहेछ । ठूलै परिवार र कम्पाउण्ड सहितको घर थियो । त्यहाँ पुगेपछि टाढा पुगेको जस्तो लागेन, न्यानो स्वागत पनि भयो । एउटा सानो कोठा पनि पाएँ ।

स्कूलको नयाँ सेशन सुरु पनि भइसकेकोले गएको भोलिपल्टबाटै काममा लाग्नुपर्ने कुरा थियो । आउनुअघि ‘सबै कुरा बन्दोबस्त हुन्छ, आफ्नै साथीहरूको घर’ भन्ने थियो । तर, दुई महिनाको सानो काखे बच्चा बोकेर त्यति टाढाबाट आएको मान्छे, एकदिन पनि आराम नगरी भोलिपल्टदेखि नै काम गर्नुपर्ने कुरा भयो । बच्चा हेरिदिने पनि कोही रहेनछ ।

बच्चा बोकेरै स्कूलमा कसरी पढाउने ? सुरुमै एउटा ठूलो प्रश्न अघि आयो । दुई दिन त पूर्णशोभा बसिदिइन् । तर, उनलाई त फर्किनु नै थियो । तेस्रो दिनदेखि के गर्ने ?

यस्ता विषयमा पुरुष कमरेड, नेता, कार्यकर्ताले कहिल्यै सोच्दा रहेनछन् । त्यसबेलासम्म अझै धेरै नेताहरूको बिहे पनि भएको थिएन । बच्चाबारे त सायद सोच्ने बेला पनि भइसकेको थिएन । मेरा नजिकका साथीहरूले पनि बच्चा कसैको जिम्मा लगाएर हिँडेकाले बच्चा हुर्काउनुको महत्त्व र मर्म कसैले बुझ्न सकेनन् ।

कहिले तल, कहिले माथि गर्दै, बच्चा पनि हेर्दै पढाउने काम पनि गर्दै अगाडि बढ्नुको विकल्प रहेन । साँझ, बिहान आफ्नो खाना आफैले बनाउनु पथ्र्यो । थाङ्ना पनि धुनै पर्याे । पुग्ने गरि प्रशस्त थाङ्ना पनि नभएको हुँदा धारामा धुन जाँदा पनि बच्चा एकैछिन हेरिदिने कोही थिएन । बल्ल जिन्दगी बुझ्न थालें । नारीहरूले किन पुरुष सरह काम गर्न नसकेका रहेछन् भन्ने कुरा स्पष्ट हुँदै गयो ।

बच्चा जन्मेपछि सुरुको दुई महिना आमासँग बसेकोले यस विषयमा सोच्न भ्याएकी पनि थिइन । ‘स्कूलमा काम गर्ने’ कुरालाई कति सतहमा बसेर सोचेकी रहिछु ! साथीको स्कूल त घाटामा गइरहेको बेला रहेछ, आवश्यक संख्यामा शिक्षकहरू पनि नभएको अवस्था, एकजना दार्जिलिङबाट आएका शिक्षक रहेछन् जंगबहादूर नामका । प्रिन्सिपल उनै ‘पार्टीका मित्र’ रहेछन् ।

एकजना शिक्षकले एकपल्टमा एउटा कक्षामात्र हेरर मात्र पनि नपुग्ने अवस्था रहेछ । म त्यहाँ जाने कुरा त्यति सहजताका साथ मिल्नुको कारण त बल्ल बुझेँ । स्कूलका लागि शिक्षकको खाँचो रहेछ ।

शिक्षकको समस्या त ‘समाधान’ भयो– दुईबाट तीन भएपछि । मेरो समस्या भने मेरै मात्र भयो । आखिर स्वीकार्नु नै थियो, आफैले खोजेको समस्या भएपछि । गुनासो पनि गरिनँ । तर, प्रश्न गर्न छोडिनँ । कहिले सम्ममा बच्चा हेरिदिने सहयोगीको बन्दोबस्त हुन्छ त ? भन्ने कुरामा …।

डेढ हप्तामा बल्ल भूमिगत श्रीमान सरोज टुप्लुक्क आईपुगे म बस्ने ठाउँमा । उनलाई पनि समस्यै थियो– अरुले ल्याइदिनुपर्ने । सबैकुरा मिलाउनु पर्ने । भेटेपछि खुसी लाग्यो । बच्चा पनि छोडेको बेलाभन्दा ठुली र हिस्सीपरेकी थिइ । रहरलाग्दो सुन्दर बच्चा देखेर उनी दङ्ग परे ।

हामी बुढाबुढी कुरा गर्न थाल्यौँ । तर, त्यो कुराकानीले हामीलाई नजिक हैन झन् टाढा पो बनाएजस्तो लाग्न थाल्यो । हाम्रो अवस्था धेरै फरक भइसकेको रहेछ । उनी राजनीतिमा ‘बढि गहिराई’मा पुगेको, म आफ्नै समस्यामा बढी धस्सिएको स्थिति थियो ।

यता आउनु अघिको उत्साह त केवल काल्पनिक, काँचो रोमान्टिसिज्म मात्रै रहेछ । बिदाईमा साथीहरूले लेखेका ती कविता, चर्चा हुने गरेका ती ‘प्रेरणा’का कथाभन्दा फरक पो रहेछन् वास्तविकता ।

जब उनले ‘अब त कामलाई तिव्रता दिनुपर्छ, अझै अगाडि बढनु छ…’ भने, म दुःखित मात्र भइन । रिसाएँ पनि । मुखले त केही भनिन, मनमनै भने – ‘जाउ न त, जे गर्छौ गर । तिमी त लोग्ने मान्छे… !’

प्रतिक्रिया दिनुहोस्