Logo
Logo

जापानी सम्राटको शुभराज्याभिषेकमा सहभागी हुन जापान जाँदै राष्ट्रपति भण्डारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ कातिक । हाल म्यानमारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी जापान जाने भएकी छन् । उनी जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही ३ कात्तिकदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी हुन् ।
परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारी म्यानमाको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट टोकियो प्रस्थान गर्नुहुने उल्लेख गरिएको छ ।
राष्ट्रपति भण्डारीले कात्तिक ५ गते मंगलबार आयोजना हुने शुभराज्याभिषेकको विशेष समारोहमा भाग लिनेछिन् । उक्त समारोहपछि उनी सम्राट नारुहितोले आयोजना गर्ने राजकीय भोजमा सरिक हुनेछिन् ।
भ्रमणका अवधिमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द तथा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ता गर्नु हुनेछ । राष्ट्रपति भण्डारीले जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आयोजना गर्नुहुने स्वागत समारोहमा भाग लिनु हुनेछ । यसैगरी उहाँले जापानस्थित गैरआवासीय नेपाली संघले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि भाग लिनेछिन् ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीका साथ गृहमन्त्री रामबहादुर थापा, राष्ट्रपतिका कार्यालय तथा परराष्ट्र मन्त्रालयका उच्चस्तरीय अधिकारीहरु रहनु हुनेछ । राष्ट्रपति भण्डारी कात्तिक ६ गते बुधबार स्वदेश फर्कनु हुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्